Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

झापा गोल्डकप : आर्मी चौथो पटक फाइनलमा

झापा गोल्डकप : आर्मी चौथो पटक फाइनलमा

  • सन्देश सम्बाददाता
  • शुक्रबार, फाल्गुन २७ २०७८


झापा गोल्डकप : आर्मी चौथो पटक फाइनलमा

इलाम । सातदोबाटो क्लबमाथि फराकिलो जित दर्ता गर्दै विभागीय टोली त्रिभुवन आर्मी झापा गोल्डकपमा चौथो पटक फाइनल प्रवेश गरेको छ । डोमलाल राजवंशी रंगशालामा भएको पहिलो सेमीफाइनल खेलमा सातदोबाटोको चुनौती ४–१ गोल अन्तरले पन्छाउँदै आर्मीले कम्तीमा ६ लाख ५ हजार सुरक्षित गरेको हो ।

आर्मीका लागि सुमन अर्याल, सन्तोष तामाङ र टेकबहादुर बुढाथोकीले गोल गरे । सातदोबाटोले सान्त्वना गोल फर्काउन सक्यो । खेलको २७ औं मिनेटमा सुमनले आर्मीलाई सुरुवाती अग्रता दिलाए । सन्तोष तामाङको फ्रिकिक प्रहारलाई सुमनले जाली चुमाए ।

पहिलो हाफको इन्जुरी समयमा सातदोबाटोले खेल बराबरीमा ल्यायो । सुशिल राईको क्रस पासलाई सदुपयोग गर्दै दिपकराजसिंह ठकुरीले खेल बराबरी गरे । दोश्रो हाफमा आर्मीले थप ३ गोल गर्दै झापा गोल्डकपमा चौथो पटक उपाधि होडमा प्रवेश गर्न सफल रहयो ।

खेलको ६० औं मिनेटमा आर्मीका सन्तोष तामाङले गोल गर्दै खेललाई २–१ मा पुर्राए । ८० औं मिनेटमा नवयुग श्रेष्ठको हेडरमा टेकबहादुर बुढाथोकीले गोल गर्दै सातदोबाटोसँग गोल अन्तर फराकिलो बनाए ।

८४ औं मिनेटमा टेकबहादुरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे । उनले कमलबहादुर थापाको पासमा गोल गरेका हुन् । सातदोबाटोले निर्धारित ९० मिनेटमा आर्मीविरुद्ध खासै मुभ बनाउन सकेन । ५३ औं मिनेटमा स्ट्राइकर सुशील राईको पासमा सातदोबाटोका स्कोरर दिपकराजसिंह ठकुरीको कडा प्रहार विपक्षी गोलरक्षक विकेश कुथुले पञ्च गरेर बचाए ।

आर्मीले खेलमा एक दर्जनभन्दा बढी अवसर सिर्जना गर्यो । छैठौँ मिनेटमा आर्मीका दिपक गुरुङको प्रहार आकाशियो । १५ औं मिनेटमा सन्तोष तामाङले पेनाल्टी एरियाबाट गरेको प्रहार खेर जाँदा आर्मी अग्रता लिने अवसरबाट बञ्चित भयो ।

२५ औं मिनेटमा टंक बस्नेतको क्रसमा टेकबहादुर बुढाथोकीले गरेको हेडर विपक्षी गोलरक्षक अभिषेक बरालले पञ्च गरेर बचाए । ४१ औं मिनेटमा टंक बस्नेतको प्रहार पोस्टमा लागेर फर्कियो । ५८ औं मिनेटमा सन्तोष तामाङको प्रहार क्रसबारमा लागेर फर्कियो । खेलको प्लेयर अफ दि म्याच सन्तोष तामाङ घोषित भए ।

उनले नगद ९ हजार ९९९ रुपैयाँ पुरस्कार पाए । शनिबारको अन्तिम सेमिफाइनल खेल घरेलु टोली झापा–११ फुटबल क्लब र संकटा क्लबबीच हुनेछ । आर्मीले अब शनिबारको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ । आर्मी लगातार चौथोपटक फाइनल प्रवेश गरेको हो । यसअघि उसले ३ संस्करणमा उपाधि आफ्नो पक्षमा पारेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार