रोङ : इलामको रोङ गाउँपालिका–४ प्युरेमा पहिरोपीडितलाई गाउँपालिकाले आर्थिक सहयोग दिएको छ। गाउँपालिकाले पहिरोबाट विस्थापित भएका १३ परिवारलाई प्रति परिवार १ लाख रूपैयाँका दरले सहयोग गरेको हो। गाउँपालिका अध्यक्ष शम्शेर राई, उपाध्यक्ष चन्द्रकला राई, प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र दाहाल, वडाध्यक्षहरू सहितको टोलीले जोखिममा परेका र विस्थापितलाई घटनास्थलमा नै पुगेर चेक हस्तान्तरण गरेका हुन्।
गाउँपालिकाले घर निर्माण र जग्गा नहुनेलाई जग्गा खरिदका लागि सहयोग रकम दिएको जनाएको छ। ०६७ सालमा शुरु भएको पहिरोले ०७३ सालसम्ममा ९ परिवार विस्थापित भएका थिए। गत वर्ष साउनको अविरल वर्षाले थप ४ परिवार विस्थापित भए। गाउँको एकापट्टिको पूरै भाग पहिरोले बगाइसकेको छ। कतिपय स्थानीय पहिरोबाट पटक-पटक विस्थापित भएका छन्।

स्थानीय नरबहादुर बस्नेत दुई पटक पहिरोबाट विस्थापित भइसकेका छन्। यसअघि प्यूरे पहिरोबाट विस्थापित भएर नयाँ ठाउँमा सरेपछि पनि फेरि विस्थापित भएका छन्। अहिले आफूजस्ता पहिरोपीडितका लागि गाउँपालिकाले आर्थिक सहयोग कार्यक्रम ल्याएपछि राहत पुगेको उनले सुनाए।
‘पहिरोबाट हाम्रो परिवारलगायत केही परिवार दुई पटकसम्म विस्थापित भइसकेका छौँ,’ उनले भने, ‘हामी १३ पीडित परिवारले पहल गर्दा पाएको रकमले घरघडेरी व्यवस्थापनका लागि सहयोग पुगेको छ, ठूलो राहत पुगेको छ।’ पहिरो जान थालेपछि जमिन सबै चिरा भएर चर्किएको छ। त्यही कारण गाउँ नै जोखिममा परेको हो।
अहिलेसम्म करिब ३ सय रोपनीभन्दा बढी जमिन पहिरोले बगाइसकेको छ। पहिरो बढ्दै जाँदा नियन्त्रणमा समेत चुनौती देखिएको छ। गत वर्ष भू–संरक्षण कार्यालय विराटनगरबाट १० लाख रूपैयाँ पहिरो नियन्त्रणका लागि बजेट विनियोजन गरेर काम गरे पनि अझै नियन्त्रण हुन नसकेको स्थानीय हेमराज कार्की बताउँछन्।

‘तारजालीका लागि भू-संरक्षणबाट १० लाख रूपैयाँ दिएको थियो त्यसको अध्यक्ष म आफैँ थिएँ। अहिले तारजाली पुरियो त्यसले केही रोकथाम हुन सकेन,’ उनले भने, ‘दोस्रो वर्ष पछि बजेट हालिदिन्छौँ भनेर आउनुभएको थियो हामीले आँटै गर्न सकेनौँ किनभने पहिरोमा अडिएर काम गर्न सक्ने स्थिति नै छैन।’
हरेक वर्ष चुरे क्षेत्रका बासिन्दा पहिरोको चपेटामा पर्ने गर्छन्। राष्ट्रपति चुरे संरक्षण कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा पनि चुरे क्षेत्रका बासिन्दा जोखिममा पर्ने गरेका छन्। गाउँपालिको अध्यक्ष शम्शेर राईले गाउँसभाबाट निर्णय गरेर आन्तरिक स्रोतमार्फत पहिरोपीडितलाई घरजग्गा व्यवस्थापनका लागि १ लाख रूपैयाँ प्रदान गरिएको बताए।
उनले तथ्यांक संकलन, समन्वय, सम्वाद र अध्ययनका कारण पीडितलाई आर्थिक सहयोगका लागि केही ढिलाइ भएको बताए। राईले गाउँपालिकाले जग्गा खरिद गरेर पीडितलाई व्यवस्थापन गर्नसमेत केही जटिल भएको बताए।
उनले गाउँपालिकाभरिका जोखिमयुक्त क्षेत्रको सर्भे सम्पन्न भएकाले योजनाबद्ध रुपमा पहिरो नियन्त्रण गरिने बताए।

अध्यक्ष राईले चुरे क्षेत्रमा पर्ने पहिरोको दीर्घकालीन समाधानका लागि केन्द्र र प्रदेश सरकारसमक्ष पटक-पटक आग्रह गरे पनि ठोस कार्यक्रम आउन नसकेको बताए। झापाको बुद्धशान्ति गाउँपालिकाको सिमानामा रहेको टिमाई खोलाले बर्सेनि कटान गर्दा रोङ–४ को प्यूरेमा पहिरो बढ्दै गएको छ। पहिरोका कारण त्यस क्षेत्रमा विस्थापित हुनेको संख्यासमेत बढ्दै गएको छ। पहिरोका कारण गाउँका अधिकांश घर र बारी चिरा परेका छन्।