झापा : सातदोबाटो युथ क्लब झापा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको उद्घाटन खेलमा जावलाखेल युथ क्लबलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै सातदोबाटोले क्वाटरफाइनलमा स्थान बनाएको हो ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा निर्धारित समय २-२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा सातदोबाटोका आकाश बुढा मगर, प्रशान्त अवस्थी, मान बहादुर तामाङ अजयी मार्टिनले गोल गरे ।
जावलाखेलका सुरज ज्यु ठकुरी र ओन्गुना जुनियरले गोल गरे । तर, राजेन्द्र रावल र गौरव श्रेष्ठले गोल गर्न सकेनन् । पेनाल्टी अघि मार्टिनले तेस्रो मिनेटमा गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाएका थिए । तर, १२ औं मिनेटमा जुनियरले गोल गर्दै जावलाखेललाई १-१ को बराबरीमा ल्याए ।
खेलको ३४ औं मिनेटमा जुनियरले गोल गर्दै जावलाखेललाई २-१ को अग्रता दिलाए । तर, दोश्रो हाफको ८ औ मिनेटमा आशिष राईले गोल गर्दै सातदोबाटोलाई २-२ को बराबरीमा ल्याएका थिए । खेलको म्यान अफ दि म्याच सातदोबाटोका गोलरक्षक अभिषेक बराल घोषित भए ।
उनले नगद ९ हजार ९ सय ९९ प्राप्त गरे । अब सातदोबाटोले क्वाटरफाइनलमा एपीएफ क्लबसँग खेल्नेछ । प्रतियोगितामा भोली पहिलो क्वाटरफाइनलमा विभागिय टोली नेपाल पुलिसले संकटा क्लबको सामना गर्दैछ ।
प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार र उपबिजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ पाउँनेछन् । त्यस्तै, मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल प्रदान गरिनेछ ।
प्रतियोगिताका उदीयमान खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले २१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने उच्च गोलकर्तालाई नगद २५ हजार दिइनेछ । प्रत्येक खेलको म्यान अफ द म्याचले नगद ९ हजार ९ सय ९९ रुपैयाँ पाउनेछन् ।