पशुपतिनगर । २ वर्षदेखि सुनसान भएको इलामको सीमावर्ती पशुपतिनगर बजारमा पर्यटकको चहलपहल बढेको छ । नेपालमा कोरोना संक्रमण शुरु भएसँगै सुनसान भएको पशुपतिनगरमा भारतीय गाडि प्रवेश खुल्ला गरेपछि पर्यटकीय चहलपहल बढेको हो ।
पशुपतिनगर भारतको दार्जिलिङ्ग भ्रमणमा आउने पर्यटकहरुको किनमेलको बजार हो । दार्जिलिङ्ग घुम्न आउने पर्यटकहरुको प्रथम पोइन्टका रुपमा पशुपतिनगर रहेको छ । पशुपतिनगर भन्सार कार्यालयले भारतीय गाडि प्रवेश खुल्ला गरेसँगै सुनसान पशुपतिनगर व्यापारीक केन्द्रमा पर्यटकको चहलपहल बढेको हो । कोरोना भाइसरको संक्रमण बढेपछि २०७६ चैत्रदेखि पशुपतिनगरमा भारत भएर ठप्प हुन्थ्यो ।
पशुपतिनगर भन्सार कार्यालयले भारतीय गाडि भन्सार काटेर नेपाल प्रवेशको अनुमति दिएपछि पर्यटकहरु आउने क्रम बढेको छ । जसका कारण पर्यटकहरुको चहलपहल बढेसँगै व्यवसायीलाई पनि राहात पुगेको छ ।
पशुपतिनगर बजार क्षेत्रमा भन्सार कार्यालयले भारतीय गाडि सुविधाको सुल्क लिएर प्रवेश गर्ने व्यवस्था गरिएको थियो । तर अहिले भन्सार कार्यालयले सुविधाको प्रावधान हटाएको छ । आयात निर्यातको केन्द्रको रुपमा रहेको पशुपतिनगर बजार भारतबाट आउने पर्यटक र उपभोक्ताका भरमा रहेको चल्ने गरेको छ । दार्जिलिङमा पर्यटकीय सिजन नभएकाले कम चहलपहल भएपनि चैत्र महिनाबाट चहलपहल अझै बढ्ने सूर्योदय नगर उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राईले बताए । ।
भारतका विभिन्न राज्य र बंगाली पर्यटककै भरमा चलेको पशुपनिनगर बजारमा मिरिक, दार्जिलिङ जाने नेपाली पर्यटकको समेत बाक्लो चहलपहल हुँदै आएको हो । नेपाल र भारतमा कोरोना विरुद्धको पुर्ण खोप लगाउनेको संख्या बढेपछि पशुपतिनगर नाका भएर नेपाल भारत आवातजावत पनि बढेको छ ।