Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

महमाई मिनी गोल्डकप : उपाधि शनिश्चरे र माङ्सेबुङलाई

महमाई मिनी गोल्डकप : उपाधि शनिश्चरे र माङ्सेबुङलाई

  • सन्देश सम्बाददाता
  • आइतबार, फाल्गुन १५ २०७८


महमाई मिनी गोल्डकप : उपाधि शनिश्चरे र माङ्सेबुङलाई

माई । इलामको महमाईमा सञ्चालित दोस्रो महमाई खुला नकआउट पुरुष तथा महिला मिनी गोल्डकप फुटबल प्रतियोगिता २०७८ को उपाधि लाईन्स क्लब शनिश्चरे र माङ्सेबुङ स्पोटिङ क्लबले हात पारेको छ। फाइनल खेलको पुरुष तर्फ लाईन्स क्लब शनिश्चरे झापाले एभरग्रीन लक्ष्मिपुरलाई २–० गोल अन्तरले हराउँदै उपाधि जितेको हो ।

त्यस्तै महिला फुटबल प्रतियोगितामा माङ्सेबुङ स्पोटिङ क्लवले जुनतारा स्पोटिङ क्लब खुदुनाबारीलाई ट्राईवेकरमा ४–३ गोल अन्तरमा जित हासिल गरेको छ ।
आदिवासी जनजाती महासंघ नेपाल पूर्व केन्द्रिय अध्यक्ष तथा संविधान सभा सदस्य नगेन्द्र कुमाल प्रमुख संरक्षक रहेको उक्त प्रतियोगितामा पुरुष विजयी टिमले नगद ५१ हजार रुपैया, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ ।

उपविजेता टिमले नगद २० हजार रुपैया मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै महिला विजयी टिमले नगद २० हजार रुपैया मेडल, ट्रफी र प्रमाण पत्र र उपविजेता टिमले नगद १० हजार रुपैया मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा पुरुष तर्फ उत्कृष्ट खेलाडी उपविजेता एरभग्रीनका विशाल माझी घोषित भए । त्यस्तै उदियमान खेलाडी मोरङ्गे झोडा चुलाचुलीका आशिष लावती र सर्वाधिक गोलकर्ता लायन्स क्लबका पुजन राई घोषित भए । महिला तर्फ उत्कृष्ट खेलाडी जुनताराकी ममता राउत, उदियमान खेलाडी माङ्सेबुङकी सिमरन राई र सर्वाधिक गोलकर्ता जुनताराकी शारदा दहाल घोषित भइन् ।

उनीहरुले जनही नगद २ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । नेपाल तरुण दल महमाईको आयोजना र महमाई एकता क्लबको सहआयोजनामा गत फागुण–५ गते बाट संचालित प्रतियोगितामा पुरुष तर्फ झापा र ईलामका १६ टिम र महिला तर्फ ८ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको बिजेता र उपबिजेतालाई प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय सदस्य अमृत अर्याल, संविधान सभाका सदस्य नगेन्द्र कुमाल, झापा–११ फुटवल क्लबका संरक्षक जलकुमार गुरुङ्ग, नेपाली कांग्रेस ईलामका पुर्व कोषाध्यक्ष बिष्णु कार्की लगायतले पुरस्कार बितरण गरेका थिए ।

प्रतियोगिताको प्रथम पुरस्कार नगद ५१ हजार संरक्षक कुमालले प्रायोजन गरेका थिए । त्यस्तै दोस्रो पुरस्कार नगद रु २० हजार स्थानीय खेलप्रेमी युवाहरु चन्द्र लिम्बू, सौरव मगर, खड्ग तामाङ र पालमान तामाङले संयुक्त रुपमा प्रायोजन गरेका थिए ।

महिला तर्फको पहिलो र दोस्रो नगद पुरस्कार रु २० हजार र १० हजार क्रमशः नेपाली कांग्रेस ईलाम जिल्ला सदस्य श्रवणकुमार पन्धाक र कांग्रेस पूर्व जिल्ला कोषाध्यक्ष विष्णु कार्कीले गरेको गोल्ड कप अध्यक्ष रमेश गिरीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार