इलाम । भारतमा हुने तेश्रो संस्करणको साफ यु–१८ महिला च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोलीमा इलामका २ जनाले स्थान बनाएका छन् । आगामी चैत्र १ देखि ११ गते सम्म भारतको जमशेदपुरमा हुने प्रतियोगितामा इलामकी प्रिया बस्नेत र जेनिफर राना मगरले स्थान बनाएका हुन् ।
अखिल नेपाल फुटबल संघले सार्वजनिक गरेको ३७ सदस्यीय प्रारम्भिक सुचीमा बस्नेत र मगरलाई समेत समेटिएको छ । दुवै जना खेलाडीले यसअघि पनि नेपालको उमेर समुहको टोलीको प्रारम्भिक सुचीमा स्थान बनाउँदै आएका थिए । यसअघि गत मंसिरमा यु–१९ साफ च्याम्पियनसिपको लागि दुवै जनालाई प्रारम्भिक टोलीमा राखिएको थियो ।
तर अन्तिम छनौटमा उनीहरुले स्थान बनाउन सकेनन् । यसअघि २०७६ सालमा उनीहरुले साफ यु–१५ को समेत प्रारम्भिक छनौँटमा सहभागिता जनाएका थिए । गत कार्तिकमा सम्पन्न उपमेयर कप राष्ट्रिय महिला लिग छनोट मा दुवै खेलाडी सहभागि थिए । रोङ गाउँपालिका–३ कुटिडाँडाकी प्रियालाई समेट्दै सहभागिता जनाएको रोङ गाउँपालिका सेमीफाइनलबाट बाहिरिदै राष्ट्रिय लिगमा छनौट हुन असफल रहयो ।
काठमाण्डौबाट सहभागिता जनाएकी सूर्योदय नगरपालिकाकी जेनिफरको टिमले समुह चरण समेत पार गर्न सकेन् । मिडफिल्डर जेनिफर र डिफेन्डर प्रियाले इलाम र झापाका विभिन्न स्थानमा हुने प्रतियोगितामा जनता सेभेन फुटबल क्लबबाट खेल्दै आएका छन् ।
प्रतियोगितमा नेपाल, भारत र बंगलादेशगरि तीन टोलीको सहभागिता रहने छ । डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपालले आयोजक भारतविरुद्ध प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नेपाल र भारतबीचको खेल मार्च १ मा हुनेछ ।
दोस्रो खेलमा नेपालले चैत्र ३ गते बंगलादेशको सामना गर्नेछ । यस्तै, ७ गते दोस्रो पटक भारतविरुद्ध प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको अन्तिम खेलमा नेपालले ९ गते बंगलादेशसँग खेल्ने तालिका छ । प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीेले उपाधि जित्ने छ ।
