Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा बन्यो नेपालको दोस्रो लामो झोलुङ्गे पुल

इलाममा बन्यो नेपालको दोस्रो लामो झोलुङ्गे पुल

  • सन्देश सम्वाददाता
  • मंगलबार, फाल्गुन ३ २०७८


इलाममा बन्यो नेपालको दोस्रो लामो झोलुङ्गे पुल

इलाम । दक्षिणी इलामको माइ नगरपालिकाको बिहीबारे र वडा नम्बर १ को घण्टे जोड्ने झोलुङगे पुल बनेपछि स्थानीयबासी हर्षित भएका छन् । ८२० मिटर लामो यो झोलुङगे पुल नेपालमा निर्माण भएकामध्ये दोस्रो लामो झोलुङगे पुल रहेको छ । पुल निर्माणपछि माइखोला वारपार गर्न सहज भएको छ ।

इलामको माइ नगरपालिकाको बिहीबारे र घण्टे जोड्ने झोलुङगे पुल निर्माण भएपछि स्थानीयवासिन्दा दंग परेका छन् । माइखोलामा निर्माण भएको पुल देशकै दोस्रो लामो झोलुङगे पुल हो । मल्टी स्पान पुलको लम्बाई ८२० मिटर रहेको छ । यसअघि महाकाली चाँदनी दोधारा जोड्ने एक हजार चार सय ५२ मीटर लामो पुल बनेको थियो । यो पुल निर्माण भएसँगै स्थानीयलाई खोला वारपार गर्न सहज भएको स्थानीय प्रेमबहादुर कार्कीले बताए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विभागबाट ८ करोड २० लाखमा पुलको निर्माण सम्पन्न भएको हो । निर्माण कम्पनी थानी हिमशिखर जेभीले निर्माण अवधिको ६ महिना अगाडि नै पुल निर्माण सम्पन्न गरेको विभागले जनाएको छ । सात वटा पिलरसहित निर्माण भएको यो झोलुङ्गे पुलको चार वटा टावर रहेको जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल बताउछन् ।

माईखोलामा पुल निर्माण भएपछि माइ नगरपालिका १ को घण्टेदेखि लिएर देउमाई नगरपालिकाको जीतपुरसम्मका बासिन्दालाई आवत जावत गर्न सहज भएको छ । बिरामीलाई अस्पताल लान र विद्यार्थीलाई विद्यालय जान सजिलो भएको छ । यो क्षेत्रमा पुल नहुँदा वर्षेनी खोला तर्नु बाध्यता थियो भने गत वर्ष मात्र तीन जना विद्यार्थीलाई खोलाले बगाएर बेपत्ता बनाएको थियो । पुल निर्माण पछि यस क्षेत्रका बासिन्दाको दुःख दूर भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार