इलाम । नेपाली महिला राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले चाँडै मैदान फर्किएर फुटबलप्रेमीलाई खुशी बनाउन प्रयास गर्ने बताएकी छन्। सामाजिक सञ्जालमा लेख्दै नेपाली ‘गोल मेसिन’ उपनाम पाएकी साम्बाले खेल जीवनको पछिल्लो १ वर्ष पीडादायक रहेको उल्लेख गरेकी छन्।
उनले लेखेकी छन् ‘खेल जीवनमा पछिल्लो झण्डै एक वर्ष मेरा लागि सबैभन्दा पीडादायक रह्यो। गत वर्ष लिग खेल्ने क्रममा घुँडामा लागेको चोटका कारण फेरि मैदानमा फर्कन सक्दिनँ कि भन्ने चिन्ताले धेरै सताएको थियो। त्यस्तो अवस्थाबाट अखिल नेपाल फुटबल संघको पहल र कतार फुटबल संघको सहयोगमा मेरो उपचार सम्भव भएको छ।’
उनले ६ महिनाभन्दा बढी समय कतारको विश्वप्रसिद्ध अस्पताल अस्पेटारमा शल्यक्रिया, फिजियोथेरापी र ग्राउन्ड रिहाबिलिटेशनपछि आफ्नो उपचार अन्तिम चरणमा आइपुगेको बताएकी छन्। ‘उपचारपछि मैले केही सहज महशुस गरेकी छु। मेरो उपचारमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने एन्फा परिवार, सशस्त्र प्रहरी बल, एपिएफ क्लब, कतार फुटबल संघ, डाक्टर, नर्स, फिजियोथेरापिष्टलगायत अन्य कर्मचारीप्रति विशेष आभार व्यक्त गर्दछु।’’
उनले कमजोर मनोबल हुँदा सधैँ मेरो हौसला बढाउने सञ्चारमाध्यम, फुटबल परिवार, फुटबलप्रेमी, शुभचिन्तक सबैलाई धन्यवाद दिएकी छन्। गत वर्ष राष्ट्रिय महिला लिगमा नेपाल पुलिस क्लबविरुद्ध खेलको ६९औँ मिनेटमा गोलकिपर उषा नाथसँग ठोक्किएपछि घाइते भएयता करिब ११ महिनादेखि उनी मैदान बाहिर रहेकी छन्।
उनको दाँया खुट्टाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसिएल) च्यातिएको थियो। उनको उपचार अखिल नेपाल फुटबल संघ (एन्फा) को पहलमा कतारमा भएको हो। चोटका कारण लिगका अन्तिम दुई खेल गुमाएकी सावित्रा गत असार १२ गते उपचारका लागि कतार गएकी थिइन्।