कुटिडाँडा । ग्रामीण रहनसहनमा रमाउने पर्यटकको संख्या बढेसँगै इलामको रोङ गाउँपालिका सलकपूर क्षेत्रमा घरबास कार्यक्रम फस्टाएको छ । नेपाल र भारतका पर्यटकहरुको आवागमन बढेसँगै रोङ ६ को सलकपूर क्षेत्रमा घरबास कार्यक्रम खुल्ने क्रम बढेको हो ।
सुन्तला पर्यटन फस्टाएको सलकपूर क्षेत्रमा रात बिताउन चाहने पर्यटकको संख्या बढेपछि स्थानीयले घरबास कार्यक्रम शुरु भएका हुन् । किसानले घरका दुई कोठाहरुलाई आवासको व्यवस्था गरि घरबास कार्यक्रम (होमस्टे) को व्यवस्थापन गर्दै आएको वडाध्यक्ष सुवास तामाङले बताए ।
गाउँघरमा उत्पादन हुने खाध्यबाली र कृषिबालीको स्वाद चखाउने भएकाले अहिले घरबास कार्यक्रम (होमस्टे ) मा पर्यटकहरु पनि लोभिएका छन् । छिमेकी भारत र नेपालको तराईका जिल्लाबाट सलकपूर क्षेत्रको भ्रमणमा पर्यटक पुग्ने पर्यटकको संख्या बढ्दै गएको छ ।

सलकपूर क्षेत्रसँगै रोङ गाउँपालिका ६ देखि रोङ ३ को हाँसपोखरीसम्म पदमार्ग निर्माण भएपछि घरबासमा पुग्ने पर्यटकहरु संख्या बढेको हो । तराईबाट छोटो दूरीमा पुग्ने सकिने निन्दा सिरान हाँसपोखरी पदमार्गमा पुग्ने पर्यटकहरु संख्या बढेसँगै होमस्टे संचालनका सिप प्रदान गरिँदै आएको रोङ गाउँपालिका अध्यक्ष समसेर राईले बताए ।
रोङ गाउँपालिका र कारितास नेपालको समन्वयमा घरबास कार्यक्रम (होमस्टे) को सीप किसानलाई हस्तान्तरण हुँदै आएको छ । पर्यटकहरु आवातजावत बढेपनि ठुला लगानीकर्ताले लगानी गर्न नसकेको ग्रामीण पर्यटनमा स्थानीयबासी आफै सक्रिय भएर होमस्टे संचालन गर्दै आएका हुन् ।
२९ किलोमिटर लामो पदमार्गमध्ये ६ वटा ,पोइन्टमा होमस्टेको विकास गर्ने गाउँपालिकाको योजना रहेको छ । होमस्टे संचालन भएपछि स्थानीयबासीको आयआर्जनमा समेत वृद्धि हुँदै आएको हो । पदमार्गमा प्रवद्र्धनात्मक काममा पर्यटन कार्यालय झापाबाट पनि सहयोग हुँदै आएको छ ।
पदमार्ग क्षेत्रमा पर्ने पर्यटकीयस्थलमा पूर्वाधार निर्माणको कामपनि व्यवस्थित रुपमा हुँदै आएको पालिका अध्यक्ष समसेर राईले बताए ।