कन्याम । पूर्वको प्रमुख पर्यटकीय गन्तव्य कन्याममा केही दिन अघिसम्म विशेष गरी शुक्रबार र शनिबार सवारी आवागमन र मानिसको भिडलाई छिचोलेर हिड्न गाह्रो हुन्थ्यो । पार्किङ गरेर राखिएका सवारीसाधनको लस्कर निकै लामो हुन्थ्यो आ–आफ्नो सौख र रुचि अनुसार कोहि कोशेली पसलमा झुम्मिरहेका हुन्थे, कोहि जातीय पोशाक लाएर चियाबारीमा फोटो खिच्न व्यस्त हुन्थे त कोही घोडचढीमा रमिरहेका भेटिन्थे साच्चै मनमोहक लाग्थ्यो ती दृश्यहरु ।
कोरोना भाईरसको पहिलो लहर सँगै गरिएको लकडाउन पश्चात् लामो समय सुस्ताएको यहाँको पर्यटन व्यावसाय खोपको पहुँच सर्वत्र पुग्न थाले पछि स्वास्थ मापदण्ड अपनाएर लय समात्ने प्रयत्न गर्दै थियो । स्थिति सहज हुदै जाँदा बन्द रहेका होटल ,कटेज र भर्खरै संचालित होमस्टेमा पनि खचाखच हुन थालेका थिए ।
दशै तिहारको समापन सँगै पर्यटकीय चहल पहल ह्वात्तै बढेको थियोे जसले गर्दा यस क्षेत्रमा होटल व्यवसायीहरु समेत राम्रो आम्दानी गर्न सकेकोमा उत्साहित थिए । पछिल्लो समयमा ओमिक्रोनको संक्रमण दर बढे सँगै पर्यटक आवागमनमा दिन प्रतिदिन कमि आउँदा कन्याम सुनसान बन्दै गएको शेर्पा होटलका सञ्चालक छिरिङ शेर्पाले बताए ।
“कोरोना सङक्रमित दर सुनेरै मानिस तर्सिने अवस्था छ कन्याममा कुनै व्यवसाय बन्द नरहे पनि मानिसको चहलपहल घटेको छ ।“शेर्पाले भने घोडचढी व्यवसायी संघका अध्यक्ष प्रेम तामाङले पनि मानिसको आवातजावतमा कमि आएको बताउँछन् । “केही दिन यता झन्डै २० प्रतिशतको हाराहारीमा मात्रै मानिस आउने गरेको छन् उनीहरु आफै सचेत हुँदै भिडभाड कम भएको हुनुपर्छ ।“
त्यसो त सरकारले पनि २५ जना भन्दा बढि भेला जम्मा हुन नपाइने निर्णय गरिसकेको छ । सूर्योदय नगरपालिका–६ का वडाध्यक्ष शिवकुमार बस्नेत भिडभाड अत्यन्तै कम भएको र यस क्षेत्रको व्यपार व्यवसाय बन्द गर्ने बारे कुनै निर्णय नभएको बताउँछन् । ‘अहिले तुलनात्मक रुपमा भिडभाड अन्यन्त कम छ बन्द गर्ने नगर्ने बारे निर्णय जिल्ला प्रशासन कार्यालयले तय गर्छ ।’ उनले भने ‘सङक्रमण दर बढे सगै भिडभाड आफसेआफ कम भएको छ । हाल यस क्षेत्रमा कोहि पनि संक्रमित फेला परेका छैनन् ।’
कन्याम क्षेत्रमा पर्यटकीय सिजनमा हप्ता भरि मै दशौ हजार पर्यटक आउने गरेका छन् । कन्या क्षेत्रमा दैनिक ३० हजार सम्म कर उठ्ने गरेको पाइन्छ ।