फिक्कल । इलामको सूर्योदय नगरपालिका वडा नं ९ अन्तर्गतका २ वटा सडक कालोपत्रेका लागी शिलान्यास गरिएको छ । बरवोटे–गैरीगाउँ–कजिनी सडक र बरवोटे–कट्टेबुङ्ग– छिरुवा सडकको नगरप्रमुख रण बहादुर राईले सोमबार शिलान्यास गरेका हुन् । बरबोटे कट्टेबुङ्ग छिरुवा सडकको १५०० मिटर कंक्रीट ढलान एवं सडक कालोपत्रे साथै १६०० मिटर नाली र ग्रावेल गर्ने कार्य आगामी माघ १ गतेबाट शुरु हुँदैछ ।
२०७९ साल फागुन ११ मा सम्पन्न हुने उक्त योजनाका लागी नगरपालिकाले २ करोड २ लाख ५९ हजार १४ रुपैया २ पैसा बराबर बजेट बिनियोजन गरेको छ । सडक निर्माणको जिम्मा बौद्ध सिद्धकाली जेभीले पाएको छ । यसैगरि ६९ लाख ३१ हजार ५१ रुपैया ९ पैसा बराबर बजेटमा बबरवोटे–गैरीगाउँ–कजिनी सडकको १७० घनमिटर कंक्रीट ढलान र ८३० मिटर कालोपत्रे गरिने बताईएको छ । बिएसडि कन्सट्रक्सन काठमाडौँले गत पौष ९ गतेबाट शुरु गरेको योजना आगामी बर्ष २०७९ सालको अषाढ २६ गते सम्पन्न गर्नुपर्ने सम्झौता भएको छ ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख रण बहादुर राईले सडक सञ्जाल आजको महत्वपुर्ण आवश्यकता रहेको बताएका छन् । नगरक्षेत्र भरीका विकट बाटाघाटालाई नगरले प्राथमिकता दिने गरेको उनले बताए । एकैपटक सबै बिकास सम्भव नहुने बताएका राईले योजना नै सफलताको सारथी भएको उल्लेख गरेका छन् । अबको २५ बर्षसम्म सूर्योदयका सम्पूर्ण क्षेत्रमा कालोपत्रे सडकको उपलब्धता हुनेगरि दिर्घकालिन गुरुयोजना सूर्योदयले काम गरिरहेको राईले जनाएका छन् । प्रत्येक वडामा बाह्रमासे सडकको काम धमाधम भइरहेको र सबै वडाका सडकलाई कालोपत्रे गरिने उनले उदघोष गरे ।
बिकास निर्माणका लागि सबैले हातेमालो गर्नुपर्ने भन्दै नगरप्रमुख राईले भने ‘आलोचना गर्न हामी माहिर छौ । विरोध गर्न खप्पिस छौँ, तर सूर्योदय नगरपालिकाले के गर्दैछ भनेर अध्ययन सम्म गर्ने बानी छ्रैन्’ सामाजिक सन्जालमा गलत प्रचार हुने गरेको दुखेसो गर्दै राईले गल्ति औँल्याउन सक्नेले, भएका विकासलाई स्विकार्न सक्नुपर्ने आशय ब्यक्त गरेका छन् । कहाँ,कति लगानी भयो ? काम के के हुँदैछन ? भन्ने कुरा हरेक नागरिकले जान्नुपर्ने भएपनि, सार्वजनिक सरोकारका कार्यक्रममा समेत मानिस सहभागि नहुने गरेको बताए । उनले घरका झ्याल ढोका बाट चिहाउने परिपाटी रहेको भन्दै दुखेसो पोखेका छन् ।
फरक प्रसंगमा प्रमुख राईले,अबको करिब एक दशक समयमा खोला खोल्सी सुक्न सक्ने भन्दै प्राकृतिक सम्पदाको संरक्षण गर्नुपर्ने बताएका छन् । खानेपानीको चरम अभाव हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै नगरले ६६ करोड बराबर लगानी गरि माईजोगमाई गाउँपालिका बाट खानेपानी ल्याउने तयारी गरेको बताएका छन् । खानेपानी अभाव भएकाहरुले वडामा निवेदन बुझाउन पनि उनले अपिल गरे । सूर्योदयले जिल्लाकै स्थानीय तहमध्यै बढी बजेट ल्याउने गरेको राईले दाबी गरे । १ अर्ब २१ करोड भन्दा बढी बजेट सूर्योदयले ल्याउने गरेको भन्दै प्रदेश र संघीय सरकार समक्ष समन्वय हुने गरेको बताएका छन् ।
कार्यक्रमको औचित्य प्रष्ट्याउँदै वडाध्यक्ष देवेन्द्र शर्माले सूर्योदय नगरपालिका वडा नं ९ का लागी आज ऐतिहासिक दिन भएको बताएका छन् । कार्यक्रमको अध्यक्षता गरेका शर्माले आफुहरु विकास निर्माणको काममा ब्यस्त रहेको बताए । सडक स्तरोन्नती र कालोपत्रे भएसंगै स्थानीयस्तरमा उत्पादित कृषिजन्य सामाग्री बजार सम्म पुर्याउन सहज हुने विश्वास ब्यक्त गरेका छन् । आफ्नो वडा कृषिको हव नै भएको, साथै उद्योगधन्दा समेत संचालित रहेकाले सडक विस्तार अत्यावश्यक रहेको उनले बताए । वडा कार्यलयको भवन र स्वास्थ्य संस्थाको भवन निर्माण सम्पन्न गरेको बताएका शर्माले सडकले थप रोजगारी र अवसर जुराउनेमा ढुक्क रहेको जनाएका छन् ।

३ जना ज्येष्ठ नागरिकलाई सम्मान
कार्यक्रमको अवसरमा ३ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा सूर्योदय ८ कजेनीका मणि कुमार गुरुङ, वडा नम्बर ९ का सनतकुमार पराजुली र टेक बहादुर गुरुङ रहेका छन् । गोरेटो अवस्थाबाट सडकलाई कालोपत्रेको अवस्था सम्म ल्याईपुया¥उन ठूलो संघर्ष गरेको भन्दै उनीहरुलाई सम्मान गरिएको हो । सम्मान पाएकाहरुले भने, “कयौँ ढुङ्गामुढा पचाएर यो अवस्था सम्म आएका छौँ ।” सडकको आवश्यकता नबुझेकाहरुले बाटो खन्न नदिने गरेको स्मरण गर्दै उनीहरुले अब समृद्धि घरसम्म आएको बताए ।

भावि सन्ततिलाई ठूलो राहात हुने यो सडकको काम गुणस्तरीय गर्न सरोकारवालालाई सुझाव दिईएका छन् । कठिन अवस्थाबाट सडकलाई जनश्रमदान र सम्बर्द्धन गर्दै आएका थुप्रै अग्रजमध्ये हाल ३ जनालाई सम्मान गर्न सफल भएको वडाध्यक्ष देबेन्द्र शर्माले बताएका छन् ।
कार्यक्रममा वडा नं ४ का अध्यक्ष मधुसुधन लामिछाने, वडा नं २ का अध्यक्ष चन्द्र सुब्बा, नगर कार्यपालिका सदस्य मन बहादुर लाप्चा,नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी नगर कमिटि अध्यक्ष कमल गदाल, १३ वटै टोल विकास संस्थाका संयोजकहरु, सडक निर्माण उपभोक्ता समिति पुर्व अध्यक्ष वेद प्रसाद दुलाल लगायतको आतिथ्यता रहेको थियो । शिलान्यास कार्यक्रममा सडक निर्माण भएसंगै प्रत्यक्ष लाभान्वित हुने उपभोक्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।