माई : इलामको माई नगरपालिकामा ३ दिने नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । गरुवा बहुमुखी क्याम्पस र नगरपालिकाको सभा हलमा सम्पन्न तालिमलाई नेतृत्व विकास, उद्घोषण, बैठक ब्यबस्थापन, माईन्युट लेखन, मुलुकी देवानी संहिता, नेपालको संबिधान र प्रबिधि सम्बन्धि सिपका बिषयमा सहजकर्ताहरु पूर्ण प्रसाद गौतम, हरि प्रसाद पौडेल र विमल दहालले सहजीकरण गरेका थिए ।
नगर स्तरीय महिला सशक्तिकरण समूहको आयोजनामा सम्पन्न तालिममा नगर भित्रका १ सय २० महिलाको सहभागिता रहेको थियो । तालिम समापन कार्यक्रममा प्रमुख अतिथि माईका नगर प्रमुख दिपक कुमार थेवेले महिला हिंसाको शुरुवात महिलाबाटै हुने गरिएकोले हिंसा अन्त्यका लागि महिला संगठित हुनुपर्ने धारणा राखे । उनले पुरुष सरह अधिकार प्राप्तिका लागि घरबाटै समानताको अधिकार लिन समेत सहभागिलाई आग्रह गरे ।

बिशेष अतिथि उपप्रमुख विष्णुमाया आचार्यले महिला भएकै कारण परिवार र समाजले फरक ब्यवहार गर्ने गरेको भन्दै थप महिला अधिकार प्राप्तिका लागि वडा वडामा तालिम सञ्चालन गर्न नगरले सहयोग गर्ने प्रतिबद्वता ब्यक्त गरिन् । वडा अध्यक्ष खम्बसिंह लिम्बु, सहभागिहरु सोफिया आङ्दम्वे, सुजता देवान लगायतले मन्तब्य राखेको कार्यक्रममा वडाध्यक्षहरु लिला राई, मुखराज आङ्दम्बे, पदम बहादुर फागो, राम प्रसाद सदेम्वा, युवा संघका माई अध्यक्ष कुमार लिम्बु लगायतको उपस्थिति रहेको थियो ।
समूहकी अध्यक्ष जुनु राईको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमलाई कोषाध्यक्ष मिना लावती श्रेष्ठले शुभकामना र सचिव रुपा राईको सञ्चालनमा तालिम सम्पन्न भएको थियो ।