इलाम । आइतबार लोकबहादुर गुरुङको मुहार निकै हँसिलो थियो । ज्येष्ठ नागरिक दिवसको अवसरमा प्राप्त सम्मान ग्रहण गरेपछि रोङ–३का ७५ कटेका लोकबहादुरले आफ्नो बिगत सम्झँदै गाउँपञ्चायतको सचिव देखि निर्बाचित वडाध्यक्षसम्म भएर समाजसेवा गरेको सुनाए ।
मोहनकुमार राई हाल रोङ–५मा बसोबास गर्दैछन् । १० बर्ष इरौटार–९ को वडाध्यक्ष भएको अनुभव सुनाउँदै मोहनले पनि तत्कालीन इरौंटार गाउँबिकास समिति अध्यक्ष चित्र गुरुङलाई गाबिसको बैठक चलिरहेको बेला माओबादीले गोली हानेर आँखै अगाडि मारिदिएको सुनाए ।
पदमबहादुर नेवार अहिले ७३ बर्षको भए । रोङ–६मा बसोबास गर्ने उनले पञ्चायत कालमा किटेनी–भालुझोडा तिर श्रमदान गरेर इलाम जाने बाटो खनेको सुनाए । रोङ–४की दिलकुमारी राईले अहिलेको गाउँपालिकाको नाम भन्न पनि त्यति आउँदैन भन्दै पहिलेभन्दा अहिले धेरै बिकास भएको सुनाइन् ।
सभ्य नागरिकको पहिचान, जेष्ठ नागरिकको सम्मान भन्ने नाराका साथ आइतबार पहिलो जेष्ठ नागरिक दिवस मनाउन इलामको रोङ गाउँपालिकामा आयोजित कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकले खुशी र अनुभव साटा–साट गर्दा यस्तै अनुभव सुनाएका थिए । पहिलो ज्येष्ठ नागरिक दिवसको अवसरमा गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिकाका सबै वडाका ज्येष्ठ नागरिकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्ने बक्ताहरुले ज्येष्ठ नागरिक जिउँदो इतिहास भएकाले उनीहरुलाई हेलाहोचो होइन सम्मानका साथ उहाँहरुबाट धेरै कुरा सिक्नुपर्नेमा जोड दिए । आर्थिक बिकास समितिका संयोजक एव वडा नम्बर–३का वडाध्यक्ष मातृका बरालले हरेक ज्येष्ठ नागरिकको अनुभव र ज्ञान पछिल्लो पिँढीको लागि उपदेश हुने बताए । उनले रोङका सबै ज्येष्ठ नागरिकको गाउँपालिकाले स्याहार गर्ने बताउँदै गतबर्ष जस्तै यस बर्ष पनि सबै ज्येष्ठ नागरिको सम्मानको कार्यक्रम रहेको सुनाए ।
त्यसैगरी गाउँपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रयास भट्टराईले समयले जुराएर ज्येष्ठ नागरिकसँग भेट हुन पाएकोमा खुशी व्यक्त गरे । महिला बालबालिका शाखाकी प्रमुख रेनुका राईको सभापतित्वमा भएको कार्यक्रममा उपस्थित सबै ज्येष्ठ नागरिकलाई मायाको चिनो प्रदान गरिएको थियो ।
दिलिमा राईले स्वागत गरेको कार्यक्रम खेमकुमारी भुजेलको सञ्चालनमा सम्पन्न भएको थियो । नेपाल सरकारले पहिलोपटक सामाजिक सुरक्षा भत्ता बितरणको घोषणा गरेको २०५१ साल पुस ११ गतेको दिनलाई ज्येष्ठ नागरिक दिवस मनाउने निर्णय गरे अनुसार यसै बर्षबाट यो दिवस मनाउन थालिएको हो । तत्कालीन अवस्थामा नेपालमा मनमोहन अधिकारी प्रधानमन्त्री भएको बेला पहिलोपटक ज्येष्ठ नागरिकलाई बृद्ध भत्ता दिने निर्णय भएको थियो ।