नयाँबजार । इलामको माईजोगमाई गाउँपालिका ६ स्थित प्याङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५ लाख बराबरको स्वास्थ्य उपकरण प्राप्त भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट १० लिटरको अक्सिजन कनसनट्रेटर दुई थान र पल्स अक्सिमिटर ६ थान उपकरण प्राप्त भएको हो । करिब ५ लाख रुपैयाँ बराबरको उपकरण नेपाली काङ्ग्रेस वडा नम्बर ६ प्याङले एक कार्यक्रमका बिच हस्तान्तरण गरेको छ ।
उपकरण हस्तान्तरण गर्दै नेपाली काङ्ग्रेसका नेता हुकुमलाल थेबेले आगामी दिनमा समेत सहयोगहरु गर्दै जाने र सम्बन्धित निकायसम्म समेत पहल गर्ने प्रतिवद्धता जनाए । अक्सिजन अभावमा अकालमा मृत्यु हुने र बिरामीलाई उपचार गर्न अन्य ठाउँ लैजान धेरै समय लाग्ने भएकोले बिरामीको अकालमा मृत्युको मुखबाट जोगाउन सरकारसँग पहल गरेर सो सामग्री उपलब्ध गराएको नेपाली काङ्ग्रेस वडा नम्बर ६ का सचिब ध्रुब थेबेले बताए ।
प्राथमिक स्वाथ्य केन्द्रमा ६ महिनादेखि डाक्टरबिहीन भएकोर सेवाग्राहीहरुले धेरै सास्ती भोग्नु परेको बताउँदै थेवेले चाँडै डाक्टर ल्याउन पार्टीले पहल गरिरहेको समेत बताए ।प्राथमिक स्वास्थ केन्द्रमा दरबन्दी अनुसारको जनशक्ति नहुँदा सामान्य बिरामी पनि महँगो शुल्क तिरेर अन्यत्र उपचार गर्न जानुपर्ने बाध्यता हटाउन पार्टीले पहल शुरु गरेको पनि थेबेले बताए ।