इलाम । इलामको माङ्सेबुङमा जारी आत्मानन्द कप १४ औं संस्करण खेलकुद प्रतियोगिताको उपाधिको लागि बिबिएफसी दमक र माङसेबुङ गाउँपालिका खेलकुद विकास समिति प्रतिस्पर्धा गर्ने भएका छन्। बिहिबार सम्पन्न अन्तिम सेमीफाइनल खेलमा श्रीजंगा स्र्पोटिङ क्लबलाई ३–० हराएर दमकले माङसेबुङसंगको उपाधि भेट पक्का गरेको हो।
माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द खेलमैदानमा भएको खेलमा दमकलाई जित दिलाउन किस्मत लिम्बुले २ र विकेश लिम्बुले १ गोल गरे। खेलको ५ औ मिनेटमा किस्मत लिम्बूले गोल गर्दै दमकलार्ई अग्रता दिलाएका थिए।
त्यसपछि खेलको १६ औं मिनेटमा बिकेश लिम्बूले गोल गर्दै अग्रता दोव्बर बनाए। खेलको ५२ औं पुनः किस्मत लिम्बूले व्यक्तिगत दोश्रो गोल गरेपछि दमकलाई ३–० ले बिजयी बन्दै फाइनल प्रवेश गरेको हो।
दमकका किस्मत लिम्बू खेलको म्यान अफ द म्याच घोषित भए।
किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६८ औं शुभ जन्मोत्सवको अवसरमा आयोजित प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ। प्रतियोगिताका विजेता टिमले नगद ३ लाख १ सय ६८ रुपैयाँ र उपविजेता टिमले नगद २ लाख १ सय ६८ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन्।
त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उदियमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोच लगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने छ।