फिक्कल । इलामको सुर्योदय नगरपालिका–९ रम्फोकमा जारी समृद्धि नकाउट फुटबलमा भेनस सुन्दरपानी र कान्दुक एफसी क्वाटरफाइनल प्रवेग गरेका छन् । विहिबार सम्पन्न प्रि–क्वाटरफाइनल खेलमा भेनसले खुदुनाबारी झापालाई र कान्दुकले रोलिङ क्लबलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।
गनेश लिम्बुले निर्णायक गोल गरेपछि भेनस अघिल्लो चरण प्रवेश गरेको हो । खेलको २८ औ मिनेटमा गनेशले निर्णायक गोल गरेका थिए । त्यसैगरी आज नै सम्पन्न दोश्रो खेलमा कान्दुकले रोलिङ क्लबलाई ३–१ ले पराजित गर्न सफल रहयो । खेलको ४० औ मिनेटमा सन्जोग खड्काले गोल गरेपछि कान्दुकले सुरुवाती अग्रता लिएको थियो ।
४७ औ मिनेटमा सन्दिप लिम्बुले अग्रता दोब्बर बनाए । ५३ औ मिनेटमा रोलिङका रन्जित लिम्बुले गोल गर्दै अग्रता कम पारे । इन्जुरी समयमा सन्जोगले व्यक्तिगत दोश्रो गोल गरेपछि कान्दुकले खेल ३–१ अन्तर जित निकाल्यो । भोली (शुक्रबार) को पहिलो खेलमा एभरग्रिन एफसी र अनुराग एफसी तथा दोश्रो खेलमा राइजिङ स्टार एफसी र समृद्धि एफसी बिच प्रतिस्पर्धा हुँदैछ ।
प्रतियोगिताको बिजेताले २ लाख र उपविजेताले १ लाख रुपैया प्राप्त गर्ने जनाइएको छ । प्रतियोगिताका व्यक्तिगत विधा तर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, डिफेन्डर, गोलरक्षक र अनुशासित टिमलाई समेत पुरस्कृत गरिने छ । प्रतियोगिताको फाइनल मंसिर २८ गते हुनेछ ।