फिक्कल । इलामको सूर्योदय नगरपालिका–९ मा आजबाट सुरु भएको समृद्धि नकाउट फुटबल प्रतियोगितामा तामाङ घेदुङ स्टारले बिजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्धघाटन खेलमा मिलिनियम फुटबल क्लब (एमएफसी) पान्दाम माथि ७–२ गोल अन्तरले फराकिलो जित निकाल्दै घेदुङ स्टारले बिजयी सुरुवात गरेको हो ।
रम्फोक स्थित चन्द्रग्राउन्डमा जारी प्रतियोगितामा नेपाल र भारतका गरी १६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले नगद रु २ लाख र उपबिजेताले नगद १ लाख सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक लगायत व्यक्तिगत विधामा समेत पुरस्कृत गरिने छ ।
प्रतियोगितामा भोलि भेनस सुन्दरपानी र खुदुनाबारी झापा बिच पहिलो र कान्दुक एफसी र रोलिङ क्लब धुलाबारी बिच दोश्रो खेल हुनेछ । किसान तामाङको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) प्रदेश समिति सदस्य ज्ञानबहादुर राईको प्रमुख आतिथ्यता र वडा नं ९का वडाध्यक्ष देबेन्द्र शर्माको विशेष आतिथ्यता रहेको थियो ।
उद्धघाटन कार्यक्रममा नेकपा एकिकृत समाजवादीका नगर अध्यक्ष कमल गदाल, एमाले नगर उपाध्यक्ष बिमल कार्की, जनता समाजवादी पार्टीका छिन्जुला यल्मो सूर्योदय नगर खेल प्रशिक्षक प्रदिप सैजु लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन सोनाम योल्मोले गरेका थिए ।