Local Sandesh बुधबार, कार्तिक १९ २०८३
  • ट्रेण्डिङ :

आत्मानन्द कप : इलामको रेडहर्ष र दमकको बिबिएफसी भिड्दै

आत्मानन्द कप : इलामको रेडहर्ष र दमकको बिबिएफसी भिड्दै

  • सन्देश सम्वाददाता
  • आइतबार, मंसिर १२ २०७८


आत्मानन्द कप : इलामको रेडहर्ष र दमकको बिबिएफसी भिड्दै

इलाम । इलामको माङसेबुङमा जारी १४ औं संस्करणको आत्मानन्द कप फुटबल प्रतियोगिता अन्तरगत आइतबार (आज) इलामको रेडहर्ष फुटबल क्लबले बिबिएफसी दमक झापासंग प्रतिस्पर्धा गर्दैछ । माङसेबुङ–५ स्थित माङसेबुङ खेलमैदानमा अपरान्ह २ बजे हुने प्रतियोगिताको दोस्रो खेल अन्तरगत इलाम र झापा आमनेसामने हुने भएका हुन् ।

यसअघि शनिबार भएको उद्घाटन खेलमा गोधुली फूटबल क्लब धरान सुनसरीविरुद्ध ३–१ गोलको सहज जित निकाल्दै माङसेबुङ गाउँपालिका खेलकुद समिति सेमिफाइनलमा प्रवेश गरिसकेको छ । किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६८ औं जन्मोत्सवका अवसरमा आयोजित प्रतियोगितामा पूर्वका इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको फाइनल १७ मंसिरमा हुनेछ । प्रतियोगिताका विजेता टिमले नगद ३ लाख १ सय ६८ रुपैयाँ र उपविजेता टिमले नगद २ लाख १ सय ६८ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उदियमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोच लगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने आयोजकले जनाएको छ ।

जन्मोत्सवको अवसरमा १७ मंसिरमा फुटबलका साथै अन्य विभिन्न किराती खेलहरु समेत सञ्चालन हुनेछन् । म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ ९छेलो०, धनुकाँण, कराते, व्याटमिन्टन लगायतका खेलहरु समेत सञ्चालन हुनेछन् । म्याराथन साढे ५ किलोमिटर दुरीको माङसेबुङ चक्रपथको परिक्रममा गर्नुपर्नेछ ।

म्याराथनमा प्रथम हुनेले नगद १० हजार १ सय ६८ रुपैयाँ, द्वितीय हुनेले नगद ८ हजार १ सय ६८ रुपैयाँ, तृतीय हुनेले नगद ६ हजार १ सय ६८ रुपैयाँ र सान्तवना हुनेले नगद ४ हजार १ सय ६८ रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै अन्य खेलका विजेता र उपविजेताहरुले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

आत्मा पवित्र हक्चात यक्चुमको संयोजनमा किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ६८ औं शुभजन्मोत्सव तथा गुरुआमा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवा समारोहको मूल आयोजनामा प्रतियोगिता वर्षेनी सञ्चालन हुँदै आइरहेको छ । प्रतियोगिताका लागि माङसेबुङ गाउँपालिकाले समेत सहयोग गर्दै आएको छ ।

२०६५ सालमा गुरुको ५५ औं शुभजन्मोत्सवको अवसरमा २० हजार ५५ रुपैयाँ पुरस्कार राशीबाट थालनी गरिएको यस आत्मानन्द कपको नगद पुरस्कार राशी यसवर्ष ३ लाख १ सय ६८ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार