इलाम । उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा इलामको रोङ गाउँपालिका क्वाटरफाइनल प्रवेश गरेको छ । आज सम्पन्न नकाउट चरणको खेलमा दाङको तुलसीपुर उपमहानगरपालिकालाई ४–१ गोल अन्तरले जित निकाल्दै रोङले क्वाटरफाइनलको यात्रा तय गरेको हो । रोङको जीतमा इन्दिरा राईले ह्रयाट्रिक र कप्तान अनिता राईले १ गोल गरिन् । तुलसीपुरकी ममता पुन मगरले सान्तवना गोल फर्काइन् ।
खेलको सुरुवाती अग्रता रोङले लिएको थियो । २९ औ मिनेटमा दिपा राईको पासमा इन्दिराले गोल गर्दै रोङलाई अग्रता दिलाइन् । ३७ औ मिनेटमा दिपाले अग्रता दोब्बर बनाउने मौका गुमाइन् । उनको प्रहार गोलरक्षकले पञ्च गरेर बारमा लागेर फर्किएपछि तुलसीपुरकी डिफेन्डरले क्लियर गरिदिएकी थिइन् । ४० औ मिनेटमा रोङले अग्रता दोब्बर बनायो । दिपा राईको फ्रिकिक प्रहारलाई कप्तान अनिताले हेडर मार्फत जाली चुमाइन् ।
पुनः इन्जुरी समयमा इन्दिारले व्यक्तिगत दोश्रो गोल गरिन् । डिबक्स बाहिरबाट गरेको प्रहारलाई तुलसीपुरकी गोलरक्षक प्रतिक्षा भण्डारीले बचाउन सकिनन् । पहिलो हाफमा ३ गोल गरेको रोङले दोश्रो हाफमा थप १ गोल ग¥यो । ५८ औ मिनेटमा दिपा राईको सहयोगमा इन्दिराले गोल गर्दै ह्रयाट्रिक पुरा गरिन् । ६८ औ मिनेटमा रोङको डिफेन्डरको कमजोरीको फाइदा उठाउँदै ममता पुन मगरले गोलरक्षक रुपा रानालाई बिट गराएर सान्तवाना गोल फर्काइन् ।
खेलको प्लेयर अफ दि म्याच रोङकी इन्दिरा राई घोषित भइन् । रोङ समुह ई को बिजेताको रुपमा नकाउट चरण प्रवेश गरेको हो । यता तुलसीपुर समुह एफ को विजेताको रुपमा नकाउट चरणमा प्रवेश गरेको थियो । अब सेमीफाइनल प्रवेशका लागि रोङले २४ गते कैलालीको गौरीगङ्गा नगरपालिकासंग प्रतिस्पर्धा गर्नेछ ।
आज नै भएको पहिलो खेलमा झापाको कनकाई नगरपालिकाले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकालाई टाइब्रकेरमा ३–१ गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको छ । निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो ।
प्रतियोगिता अन्र्तगत भोली झापाको शिवसताक्षी नगरपालिका र ललितपुर उपमहानगरपालिका तथा बर्दियाको बाँसगढी नगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिका बिच प्रतिस्पर्धा हुनेछ । दुवै खेलको विजेता टोली सेमीफाइनल प्रवेश गर्नेछन् । कुल १० टोली सहभागि नकाउटको बिजेता र उपविजेताले उपमेयर महिला लिगमा सहभागिताको अवसर पाउने छ । त्यहाँ उनीहरुले ३ विभागीय टोलीसंगै विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिकासंग प्रतिस्पर्धा गर्न पाउने छ ।
छनौट चरणको प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०÷२० हजार पाउने छन् ।