Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्रदेश १ मा ५० हजार हेक्टरमा लगाइएको धानबाली क्षति

प्रदेश १ मा ५० हजार हेक्टरमा लगाइएको धानबाली क्षति

  • सन्देश सम्वाददाता
  • शुक्रबार, कार्तिक ५ २०७८


प्रदेश १ मा ५० हजार हेक्टरमा लगाइएको धानबाली क्षति

विराटनगर । बेमौसमी वर्षासँगै आएको बाढी र हावाहुरीले प्रदेश १ मा करिब ५० हजार हेक्टरमा पाकेको धानबालीमा क्षति पुर्‍याएको प्रारम्भिक आँकलन गरिएको छ । क्षतिको विवरण अझै बढ्नसक्ने प्रदेश कृषि मन्त्रालयको भनाइ छ । प्रदेश १ का १४ जिल्लामा यो वर्ष ३ लाख ३६ हजार हेक्टरमा धान खोती गरिएको थियो ।

त्यसमध्ये प्रारम्भिक रुपमा ५० हजार हेक्टर अर्थात करिब १५ प्रतिशत धानबालीमा पानी र हावाहुरीले क्षति पुर्‍याएको प्रदेश कृषि मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले बताए । उनका अनुसार बढीमा पाँच प्रतिशत मात्र धान कटाई भएकाले क्षति न्यून भएको हो । उनका अनुसार काटेर लडाएको धान सबै नष्ट भएको र काट्न बाँकी रहेको धान लडेर पानीमा डुब्दा बढीमा २५ प्रतिशत मात्र क्षति हुने स्थिति छ ।

क्षति पुगेको १५ प्रतिशतमध्ये करिब तीन प्रतिशत पूर्णरुपमा क्षति भएको उप्रेतीले बताए । मोरङमा यो वर्ष ८३ हजार ३ सय हेक्टरमा धान रोपिएको थियो । तीमध्ये १२ प्रतिशत अर्थात ९ हजार ८ सय ९६ हेक्टरको धानमा क्षति पुगेको प्रदेश १ कृषि निर्देशनालयकी सूचना अधिकारी सरस्वती श्रेष्ठले बताइन् ।

उनका अनुसार सुनसरीको ५३ हजार हेक्टरमध्ये ९ हजार ७ सय हेक्टर र झापामा ८७ हजार ५ सय हेक्टरमध्ये १३ हजार १ सय २५ हेक्टरको धानलाई हावाहुरी र बाढीले क्षति पुर्‍याएको छ । प्रदेश १ का अन्य जिल्ला ताप्लेजुङमा ८ हजार ७ सय ३७, संखुवासभामा १३ हजार ८ सय ५१, सोलुखम्बुमा १ हजार ५ सय २५, पाँचथरमा ९ हजार २ सय, इलाममा १४ हजार ८ सय १५हेक्टरमा बर्खे धान रोपाइँ भएको छ ।

 भोजपुरमा १८ हजार, तेह्रथुममा १० हजार १ सय ७५, धनकुटामा ७ हजार ९ सय ५०, उदयपुरमा १३ हजार ३ सय, ओखलढुंगामा ४ हजार ४ सय र खोटाङमा १२ हजार ८ सय ९३ हेक्टरमा बर्खे धान रोपाइँ भएको छ । प्रदेश १ मा गतवर्ष १३ लाख टन धान उत्पादन भएको थियो । यसपालि १४ लाख टन भन्दाबढी धान उत्पादन हुने निर्देशनालयको लक्ष्य थियो । इकान्तिपुरबाट

प्रतिक्रिया
सम्बन्धित समाचार