फिक्कल । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले नेपाली चियाले अन्तराष्ट्रिय बजारमा झेल्दै आएको समस्यालाई कुटनितिक रुपमा समाधान गरिने बताएका छन् । स्थानिय स्तरको समस्या समाधान गर्न नसकेपनि अन्तराष्ट्रिय स्तरमा नेपाली चियाले भोग्दै आएको समस्यालाई कूटनीतिक पहल गर्न सक्ने बताए । उनले दुतावास तथा नियोगसंग समन्वय गरि कानूनी जटिलता र झन्जटको समाधान खोजिने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
चिया उत्पादक,उद्योगि तथा ब्यवसायीहरुसंग अन्तकृया गर्न भन्दै इलाम आएका सचिव पौडेलले भने ,“नेपालमा उत्पादन हुने चियाको गुणस्तर र अन्तराष्ट्रिय बजारको अवस्था बुझ्न मन्त्रालयले विभिन्न प्रदेशमा अन्तकृया कार्यक्रम गर्दै आएको छ । प्रदेश नं १ को इलाम र झापामा कार्यक्रम गरिने छ ।”
इलामको सूर्योदय नगरपालिकाले कार्यविधि बनाएर गरेको चियाको मुल्य निर्धारण र देखिएको विवाद स्थानियस्तर बाटै समाधान गर्नुपर्ने भन्दै सचिव पौडेलले आफुहरु सो बिषयमा बेखबर रहेको बताए । चियाको गुणस्तरमा ध्यान दिएर उत्पादनलाई नियमित गर्न सक्ने क्षमता इलामका उद्योगिले राखेमा विदेशी बजारमा समन्वयकारी भुमिका खेल्न मन्त्रालय तयार रहेको बताएका छन् ।
सूर्योदय नगरपालिका स्थित इष्टन ब्लु होटल एण्ड लज पाल्टाङ्गेमा एक कार्यक्रमको आयोजना गरि छलफल गरिएको हो । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको अध्यक्षता रहेको कार्यक्रममा प्रदेश नम्बर एकका सांसद काजिमान कागतको प्रमुख आतिथ्यता रहेको थियो ।
नेपालको चियालाई अन्तराष्ट्रिय बजारमा पुर्याउन किसान,ब्यवसायी र उत्पादकले के गर्न सक्छन् ? दुतावास संग सहयोगको कस्तो अपेक्षा छ ? र परराष्ट्र मन्त्रालयले सम्बन्धित नियोगसंग गर्न सक्ने कूटनीतिक पहल के हुन सक्छ ? भन्ने विषयमा छलपल केन्द्रित थियो । मन्त्रालयका सह–सचिव भरतकुमार रेग्मिले कार्यक्रमको औचित्य प्रष्ट पारेका थिए ।
अन्तराष्ट्रिय बजारको अवस्था,नेपाली चियाले विदेशमा लिईको स्थान,भोग्नुपरेको समस्या,गुणस्तर र परिमाणबारे कन्सल्ट्यान्ट आशा भण्डारीले जानकारी गराएकी थिईन् । कार्यक्रमको अवसरमा सूर्योदय टि प्राेड्युसर्स एसोसिएसनका अध्यक्ष उत्तम कुमार श्रेष्ठले मन्त्रालयका सचिव पौडेललाई ज्ञापन पत्र बुझाउँदै निर्यातमा भएका समस्या र नेपाली चियाले अन्तराष्ट्रिय बजारमा बेहोरेको झन्झटको कुटनितिक तवरबाट सामाधानको प्रयास गर्न माग गरे ।
कार्यक्रममा श्रीअन्तु गोर्खा टि स्टेटका अभिनन्द गिरीले सरकारले चिया उत्पादनमा किसानलाई सहयोग गर्नुपर्ने बताए । उनले चियामा सरकारी हस्तक्षेप भएको भन्दै मुल्य निर्धारण मात्र नभई समस्या समाधानमा पनि स्थानिय सरकार जिम्मेवार हुनुपर्ने बताएका छन् । सूर्योदय नगरपालिकाले कार्यविधि बनाएर मुल्य निर्धारण गरेपनि उद्योगमा गुणस्तरीय चिया नआउने गरेको बताएका छन् । किसानले ६ देखि १२ इन्च सम्मको चिया उद्योगमा पठाउने गरेको आरोप लगाउँदै गुणस्तर अझ खस्किएको बताएका छन् ।
अर्का उद्योगी जीवन कुमार नेपालले अधिकांश कम्पनी अर्गानिक नभएको भन्दै सरकारले चिया सम्बद्ध सबैलाई सर्टिफिकेट दिनुपर्ने धारणा राखेका छन् । बर्दुभ्याली टि स्टेटका संचालक बुद्ध तामाङ्गले समस्या समाधानका लागी दुतावास लगायतका निकायसंग कुटनितिक रुपमा छलफल गरि समाधानको विकल्प खोजिदिन आग्रह गरे ।
चिया तथा कफि विकास बोर्डका सदस्य पुनम राईले हरेक दिन चियाको उत्पादन घट्दै गएको बताएका छन् । विक्रीको ग्यारेन्टि भए आफुहरु ५० लाख केजी सम्म तयारी चिया उत्पादन गर्न सक्ने भन्दै समस्या बजारको भएको बताएका छन् । चिया तथा कफि विकास वोड फिक्कलका इन्द्र अधिकारीले भारतको कोलकतामा हेल्पिङ्ग डेक्स राखेर समन्वयको सहज वातावरण बनाईदिन माग गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं–१ का सांसद काजिमान कागतेले आन्तरिक समस्या धेरै भएको भन्दै समाधान आफैबाट खोजिनु पर्नेमा जोड दिए । अर्थोडक्स चियाको मुल्य पहिलोपटक सूर्योदय नगरपालिकाले नै तोकेको तर कार्यान्वयनमा सबै पक्ष चुकेको उनले बताएका छन् । राजनितिक उत्तरचढावका कारण पनि कतिपय समस्या देखिएको स्विकार गरेका छन् ।
उनले भने,“कतिपय साथिहरु सूर्योदय नगरपालिकालाई चियाको राजधानी भन्नुहुन्छ तर म त्यो मान्दिन । चियाको राजधानी ईलाम हो । अझ प्रदेश नं–१ लाई नै चियाको राजधानी बनाउने गरि हामीले काम गर्नुपर्छ ।” सूर्योदय नगरपालिकाका जनप्रतिनिधिको भने कार्यक्रममा सहभागि थिएनन् ।