माई : सुखानी शहिदहरुको सहादतस्थल सुखानीमा सरसफाई गरिएको छ । जेल सार्ने बहानामा २०२९ साल फागुन २१ गते हत्या गरिएको पाँच जना बामपन्थी नेताहरुको सहादत स्थलमा नेकपा एमाले निकट अनेरास्ववियु जिल्ला कमिटी इलामको आयोजना र राष्ट्रिय युवा संघ नेपाल माई नगर कमिटिको सहआयोजनामा सरफाइ गरि माई नगरपालिका र झापा अर्जुनधारा नगरपालिकाको रहेको शहिद पार्क भित्र फोहोर मैला ब्यबस्थापन गरिएको हो ।
शहिद पार्कलाई सुन्दर, स्वच्छ र आकर्षक बनाउन रङ्ग रोकन सहित सरसफाई गरिएको राष्ट्रिय युवा संघ नेपाल माई नगर कमिटिका अध्यक्ष कुमार लिम्बूले जानकारी दिए । सरसफाई अभियानमा माई नगरपालिका प्रमुख दिपककुमार थेवे, उपप्रमुख बिष्णु माया आचार्य, नेकपा एमाले माई नगर कमिटि सचिव हेमबहादुर लायो, युबा संघ नेपालका कुमार लिम्बू, अनेरास्ववियु इलामका सदस्य गोपाल आचार्य लगायत ५० जना भन्दा बढीको सहभागीता रहेको थियो ।

नेपालीहरुको महान चाड वडादशैंको सम्मुख परेर जिल्ला भरिका विभिन्न स्थानहरुमा सरसफाई कार्यक्रम गर्ने अनेरास्ववियुको निर्णय बमोजिम सरसफाई कार्यक्रम आयोजना गरिएको बताइएको छ । सुखानीमा तत्कालीन पंञ्चायती सरकारले झापाबाट इलाम जेल सार्ने बहानामा नेत्र घिमिरे, रामनाथ दहाल, कृष्ण कुईकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीको सुखानीमा गोली हानी हत्या गरेको थियो ।
शहिद सहादत स्थल ईलामको माई नगरपालिका–४ सुखानीमा रहेको भएपनि झापाका कम्युनिस्ट नेता कार्यकर्ताहरुले सुखानीको नाममा बजेट बिनियोजन गर्दै अर्जुनधाराको सालबारीमा विकास गर्दै आएका छन् । इलामको सुखानी सहिद सहादत स्थल भने संरक्षण र विकासमा ओझेल पर्दै आएको छ ।