Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

सूर्योदयमा गत आर्थिक बर्षमा ६३ प्रतिशत मात्र बजेट खर्च

सूर्योदयमा गत आर्थिक बर्षमा ६३ प्रतिशत मात्र बजेट खर्च

  • नमीन ढकाल
  • शुक्रबार, असोज ८ २०७८


सूर्योदयमा गत आर्थिक बर्षमा ६३ प्रतिशत मात्र बजेट खर्च

फिक्कल ।  पर्यटकीय नगरी सूर्योदयले गत आर्थिक बर्षको ६३ प्रतिशत मात्र बजेट खर्च गर्न सफल भएको छ । नगर कार्यपालिकाको सभाहलमा भएको कार्यक्रममा वडा र बिषयगत शाखाहरुबाट गत आर्थिक बर्ष २०७७/७८ मा विनियोजित बजेटबाट भएका कार्यसम्पादन र प्रगतीको बारेमा समिक्षा गर्दैै बजेट खर्चको बारेमा जानकारी गराइएको हो ।

नगरपालिकाले गत आर्थिक बर्षमा कुल १ अर्ब २७ करोड १४ लाख ६६ हजार ३ सय ५६ रुपैयाको बजेटबाट ८० करोड २४ लाख ९७ हजार ६६ हजार ४ सय १३ रुपैया अर्थात ६३.१२ प्रतिशत मात्र खर्च गर्न सफल रहयो । नगरले समग्रमा भौतिक प्रगती ७५ प्रतिशत गरेको जनाइएको छ ।

समग्र नगरको प्रगती प्रतिवेदन प्रस्तुत गर्दै प्रमुख प्रशासकिय अधिकृत प्रकाशराज पौडेलले कोभिड महामारीका कारण विकास निर्माणका आयोजना र नगरको गौरवका केही परियोजनाहरु संचालन गर्न नसक्दा विनियोजित बजेट खर्च हुन नसकेको बताए । उनले नगरपालिका क्षेत्रका क्रमागत रुपमा विकासका आयोजनाहरुको काम भइरहेकाले खर्च भएको रकम भन्दा भौतिक प्रगती बढि देखिएको बताए ।

उनले कतिपय क्रमागत आयोजनाको बजेट भुक्तानी बाँकी रहेको बताए । सूर्योदयले गत आर्थिक बर्ष लक्षित कार्यक्रमका ४ सय ५३ आयोजना र पुँजीगतका ३ सय ९६ गरी ९ सय ४९ वटा कार्यक्रमहरु संचालन गर्ने लक्ष्य राखेको थियो । तर ५ सय ५९ वटा मात्र संचालनमा आए ।

कोभिड महामारीका कारण कतिपय तालिम र गोष्ठीहरु संचालन हुन नसकेको समिक्षा गोष्ठीमा प्रगती प्रतिवेदन प्रस्तुत गर्दै बिषयगत शाखाका प्रतिनिधि र वडा सचिवहरुले बताए । नगरपालिकाले भौतिक निर्माण, शिक्षा, स्वास्थ्य, पर्यटनलाई मुख्य रुपमा लक्षित गरि गत आर्थिक बर्षमा योजनाहरु अघि सारेको थियो ।

कार्यक्रममा १४ वटा वडाका वडा सचिव तथा बिषयगत शाखा र उपशाखाबाट बजेट कार्यक्रममा भएका प्रगतीको बारेमा प्रस्तुती राखिएको थियो । प्रमुख प्रशासकिय अधिकृत प्रकाशराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यता र उपप्रमुख दुर्गादेवी भट्टराईको बिशेष आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार