फिक्कल । नगदेवाली अलैँचीको नेपालमा पहिलोपटक तन्तु प्रविधिबाट बिरुवा उत्पादन गर्ने काम सफल भएको छ । अलैँचीका बगानमा पलाएका नयाँ बिरुवा फोर्ने र बिऊबाट बिरुवा उत्पादन गर्दै आएको अलैँची विकास केन्द्रले आधुनिक प्रविधिबाट बिरुवा उत्पादन शुरु गरेको हो । खोल्साको सुन उपमा पाएको नगदेवाली अलैँचीको नेपालमा पहिलोपटक तन्तु प्रविधिबाट बिरुवा उत्पादन भएको छ ।
अलैँचीका बगानमा पलाएका नयाँ बिरुवा फोर्ने र बिऊबाट बिरुवा उत्पादन गर्दै आएको अलैँची विकास केन्द्रले आधुनिक प्रविधिबाट बिरुवा उत्पादन शुरु गरेको हो । नेपालमा अनुसन्धान केन्द्रमा मात्रै तन्तु प्रजनन् विधि अपनाइएपनि पछिल्लो पटक सरकारी बालि केन्द्रमा प्रयोग हुन थालेको छ । बालिको मुल बोटको गुण भएको बिरुवा उत्पादन गर्ने तन्तु प्रविधि अलैची विकास केन्द्रमा गत वर्षबाट शुरु भएको थियो ।
तीन वर्ष अघि तन्तु प्रजनन् प्रयोगशालाको भवन निर्माण भएपनि प्रविधि खरिद गरिएपछि गत वर्षबाट अलैँचीका बिरुवा उत्पादन थालिएको छ । अलैँचीको निरोगी बोटको छनौट गरि त्यसको अंगको झिकेर प्रयोगशालामा प्रविधिको प्रयोग गरि बिरुवा उत्पादन गर्ने प्रविधि नै तन्तु प्रजनन् विधि हो ।
अलैँचीको उत्पादन, प्रशोधन र बजारीकरणको काम गर्दै आएको इलामको सूर्योदय ९ मा रहेको अलैँची विकास केन्द्रले तन्तु प्रविधिबाट अहिलेसम्म ५ सय बिरुवा उमारेको छ । नयाँ प्रविधि भएपछि छोटो र स्वस्थ्यकर विरुवा उमार्ने भएकाले सस्तो मूल्यमा किसानलाई बिरुवा बितरण गरिने अलैची विकास केन्द्रका प्रमुख भिष्मकान्त घिमिरेले बताए ।
माउ बोटबाट अंग झिकेर तन्तु प्रविधिबाट उत्पादन भएको बिरुवा उत्पादन गर्न समयका हिसाबले कम खर्चिलो हुन्छ । तन्तु प्रविधिबाट बिरुवा उत्पादनको काम सफल भएपनि अझै केहि वर्ष किसानलाई वितरण गर्ने अवस्था नहुने अलैँची विकास केन्द्रको भनाइ छ ।
अलैचीको बिऊ बाट बिरुवा उत्पादन गर्दा ३६ महिना लाग्ने भएपनि तन्तु प्रविधिबाट उत्पादन भएको बिरुवा १८ महिनामा रोपणका लागि योग्य हुनेछ । जसले गर्दा बिरुवा उत्पादन खर्च समेत कम आउने र प्रविधिको उच्चतम प्रयोग गरि किसानलाई माग अनुसारको उत्पादन दिन सकिने छ ।