मंगलबारे । कोभिडको संक्रमण बढ्दै गएपछि इलामको पश्चिमी क्षेत्र देउमाई नगरपालिकाले परिक्षणको कार्यलाई तिव्रता दिएको छ । नगरले स्थानीय स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिएर परिक्षण कार्य गर्दै आएको स्वास्थ्य शाखा प्रमुख लेखनाथ तामाङले बताए । नगरले दोश्रो भेरिएन्ट सुरु भएपछि गत आर्थिक बर्षको अवधिमा ९ सय ८२ जना एन्टिजेन र ७४ जनाको पिसिआर परिक्षण गर्दा १ सय ११ जनामा संक्रमण पुष्टि भएको छ ।
साउन र भदौको हालसम्मको अवधिमा ५ सय ३४ जनाको परिक्षण गर्दा २ सय २३ जना संक्रमण देखिएको नगरपालिकाको तथ्यांकले देखाउँछ । ‘ संक्रमितहरुको घरघरमा गएर परामर्शका साथै स्वास्थ्य कार्यालयको प्याकेज कार्यक्रम अन्र्तगत स्वास्थ्यवद्र्धक सामाग्रीहरु प्रदान गरिरहेका छौ । नियमित रुपमा संक्रमितहरुको स्वास्थ्य अवस्थाको बारेमा समेत जानकारी लिँदै आएका छौ ।’ तामाङले भने
‘ साउन देखि यता स्थानीय स्वास्थ्यकर्मीहरुलाई तालिम दिएर शंका लागेकाहरुको परिक्षण गर्दैै आएको कारण संक्रमितहरुको संख्या उच्च देखिएको छ ।’ देउमाईले तत्काल उपचारको लागि सिलिन्डर र अक्सिजन कन्सन्ट्रेटर सहितको ५ बेडको आइसोलेसन समेत निर्माण गरेको छ । यदपी हालसम्म कसैलाई पनि आइसोलेसनमा राखिएको छैन् । कोभिडको प्रभाव उच्च देखिएपछि स्वास्थ्य संस्था आउने गरेकाले जोखिम देखिएकाहरुलाई रेफर गर्ने गरिएको छ ।
नगर बाहिर उपचारको लागि पठाउनुपर्ने बिरामीहरुको लागि एम्बुलेन्सको समेत व्यवस्था गरेको सुचना अधिकारी गोपाल बाँस्तोलाले जानकारी दिए । हालसम्म देउमाईमा कोभिडबाट ३ जनाको मृत्यु भएको स्वास्थ्य शाखाको तथ्यांक छ । मृत्यु भएका मध्ये १ जनाको परिवारले शव व्यवस्थापन गरेको छ । शव व्यवस्थापनको लागि आवश्यक पिपिई, सेनिटाइजर लगायत अन्य सामग्री नगरले उपलब्ध गराउँदै आएको छ ।
कोभिडको जोखिममा बृद्धि भएपछि अहिले गाउँगाउँमा सचेतनाका कार्यक्रमहरु भएका छन् । मानिस भिडभाड हुने स्थानमा उच्च सतर्कता अपनाउँदै जोखिमबाट बच्ने उपाय र संक्रमण लागेको अवस्था गर्नुपर्ने स्वास्थ्य सुरक्षाको बारेमा समेत जानकारी गराइदै आएको छ ।