माई : कोभिड जोखिम न्युनिकरणलाई माई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको छ । नगरले कोभिडको जोखिममा रहेका नागरिकहरुलाई घरघरमै गएर सचेत गराउनुका साथै संक्रमितहरुलाई नियमित परामर्श गरिरहेको छ । झापासंग सिमाना जोडिएको नगर कोभिडको मध्यम जोखिमयुक्त स्थानीय तह हो । कोभिडसंग मिल्दोजुल्दो लक्षण देखिएका नगरबासीहरुलाई घरघरमै गएर परिक्षणको व्यवस्था गरिएको स्वास्थ्य शाखा प्रमुख पुस्कर कट्टेलले बताए ।
उनका अनुसार हालसम्म दोश्रो भेरिएन्ट फैलिएपछि ७५० भन्दा बढिको एन्टिेजन र २ सयको पिसिआर परिक्षण गरिएको छ । संक्रमितहरुको संख्यालाई ध्यानमा राखेर माई अस्पताललाई २४ सै घण्टा तयार राखिएको छ । ‘ जोखिमयुक्त पोजेटिभ केस आएको खण्डमा माई अस्पतालका संक्रमिहरुको लागि २४ सै घण्टा तयारीमा राखिएको छ । रेफर गर्नुपर्ने बिरामीहरुको लागि समेत नगरले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ ।’ कट्टेलले भने ‘ संक्रमितहरुलाई नगर अस्पतालसम्म ल्याउनका लागि समेत घरघरमै एम्बुलेन्स पु¥याउने गरिएको छ ।’
नगरले अहिले ७ बेडको आइसोलेसन स्थापना गरेको छ । आइसोलेसनमा ५३ भन्दा बढिले स्वास्थ्यलाभ गरेर घर फर्किसकेका छन् । हालसम्म नगरले स्थापना गरेको आइसोलेसनमा कोही पनि संक्रमितहरुको मृत्यु नभएको कट्टेलले बताए । पछिल्लो समय संक्रमितहरु घरमै आइसोलेसनमा रहेका छन् । नगरको आइसोलेसनमा अहिले २ जना रहेका छन् । १० वटा वडा रहेको माई नगरपालिकाका ४ वटा वडा उच्च जोखिममा छन् । वडा नं २, ३, ५ र ५ नम्बर बाहेक अन्यमा जोखिमको अवस्था न्युन छ ।

नगरको वडा नं १ मा ४ जना, वडा नं २ मा २७ जना, वडा नं ३ मा ११ जना, वडा नं ४ मा ३९ र वडा नं ५ मा १८ जनामा संक्रमण देखिएको छ । अन्य वडामा संक्रमितको संख्या १० भन्दा कम देखिन्छ । जिल्ला प्रशासन कार्यालयको तथ्यांकले वडा नं ६ मा १ जना, वडा नं ७ मा २ जना, वडा नं ८ मा ७ जना तथा वडा नं ९ र १० मा १/१ जना रहेका छन् । कोरोना संक्रमणबाट हालसम्ममा नगर क्षेत्रमा ९ जनाको मृत्यु भएको छ ।
मृत्यु भएका मध्ये ४ वटा परिवार र ५ वटा नेपाली सेनाले व्यवस्थापन गरेको छ । नगरभन्दा बाहिरको अस्पतालमा उपचारको क्रममा मृत्यु भएकाहरुको शव व्यवस्थापनका लाग्ने खर्च समेत नगरले व्यर्होदै आएको छ । परिवारले व्यवस्थापन गरेका शवहरुका लागि समेत व्यवस्थापनमा लाग्ने पिपिई, सेनिटाइजर लगायत अन्य आवश्यक सामाग्रीहरु नगरले उपलब्ध गराउँदै आएको छ ।
संक्रमितहरुलाई आवश्यक औषधीहरुले नगरले घरघरमै पु¥याउँदै आएको छ ।