Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगरपालिकाको १ अर्ब २९ करोड रुपैयाँ बराबरको बजेट

सूर्योदय नगरपालिकाको १ अर्ब २९ करोड रुपैयाँ बराबरको बजेट

  • लोकल सन्देश
  • बिहिबार, भाद्र १० २०७८


सूर्योदय नगरपालिकाको  १ अर्ब २९ करोड रुपैयाँ बराबरको बजेट

इलाम । इलामको सूर्योदय नगरपालिकाको चालु आर्थिक बर्ष २०७८/७९ को लागि १ अर्ब २९ करोड रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। फिक्कल माविको प्राङगणमा गरिएको कार्यक्रममा बजेट सहित नगरपालिकाकाे राजपत्र, नगरको कानुनको संग्रह भाग ४, नगरको ५ बर्षे आवधिक योजना अंग्रेजी र नेपाली भाषा तथा २८ बर्षभित्रको नगरपालिका यातायात मास्टर प्लान समेत सार्वजनिक गरिएको थियो ।

नगरले कोभिड–१९ ले सिर्जना गरेको मनोवैज्ञानिक त्रासबीच उत्पादनशील क्षेत्रमा लगानी बढाउन सहयोग पुग्ने, उद्यमशीलता विकासमार्फत् रोजगारीका अवसर सिर्जना हुने र उत्पादन, उत्पादकत्वको वृद्धिमार्फत् आर्थिक वृद्धि भइ गरिबी न्यूनीकरणमा योगदान गर्ने नीति लिएको छ। त्यस्तै, शिक्षामा गुणात्मक सुधार, सर्वसुलभ स्वास्थ्य, स्वस्थ, अनुशासित र आत्मनिर्भर नागरिक तयार गर्न सहयोग पुग्ने, पूर्वाधार विकासमार्फत् विकासका अन्य आयाममा सहजीकरण गर्ने कार्यक्रममा विशेष ध्यान दिने नगरले लक्ष्य राखेको छ ।

नगरले कृषि क्षेत्रको विकासका लागि ‘व्यावसायिक पशुपन्छी र कृषि ः नगरबासीको समृद्धि’ नारा लिएको छ। निर्माणाधीन टि टेस्टिङ तथा प्रोमोसन सेन्टरमार्फत् चियाको अन्तर्राष्ट्रिय बजार विस्तार गरी चिया पर्यटनमार्फत् आर्थिक विकास गर्ने नगरले जनाएको छ। प्रांगारिक कृषि पर्यटन प्रवर्द्धन, कृषिउपज संकलन केन्द्र स्थापना, कफी खेतीको सम्भाव्यता अध्ययन र खेती विस्तार, अलैंची, अदुवा र बेसार उत्पादन, प्रशोधन, बजार प्रवर्द्धन गर्नेलगायत महत्वपूर्ण २० कार्यक्रम नगरले प्राथमिकतामा राखेको छ ।

कार्यक्रममा प्रमुख अतिथि संविधानसभा सदस्य सूर्यवाला राई, विशेष अतिथि संविधानसभा सदस्य टिकाराम सुब्बा, प्रदेश सांसद खिनु लङ्वा लिम्बु, काजीमान कागते, नगर प्रमुख रणबहादुर राई, पुर्व जिविस सभापति लालबहादुर सुब्बा, प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्का लगायतले नीति कार्यक्रमको पुस्तक सार्वजनिक गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि संविधानसभा सदस्य सूर्य बाला राईले पछिल्लो समय देखिएको दल विभाजनबाट निराश हुनु नपर्ने बताए । उनले पार्टी जुट्ने र फुट्ने स्वभाविक राजनितिक परिस्थिती भएकाले यसबाट निराश नहुन सुझाव दिए ।

राईले कार्यकर्ताहरुलाई वैचारिक र प्राविधिक बहस हुने भएकाले त्यसलाई अध्ययन गरेर अघि बढ्नुपर्ने बताए । उनले राष्ट्र र राष्ट्रियताको लागि एक हुनुको बिकल्प नदेखिएको बताए । सूर्योदय नगरले चौतफी क्षेत्रमा गरेको प्रगती यस अघिका बजेटहरु र गाउँगाउँमा भएका विकासबाट प्रष्ट देखिएको धारणा राखे ।

विशेष अतिथि टिकाराम सुब्बाले चिया क्षेत्रको समस्यालाई जोड दिँदै मुल्यमा अस्थिरतारे समस्या देखिएको बताए । उनले पछिल्लो समय चियाको मापदण्ड कार्यान्वयनमा निरन्तरता नहुँदा किसानहरुले उचित मुल्य पाउन नसकेको बताए । उनले नीति तथा बजेटमा उल्लेख भएका कार्यक्रमहरु आर्थिक बर्षको सुरुवातबाटै कार्यान्वयन हुन सके विकास निर्माणले समेत फड्को मार्ने बताए ।

कार्यक्रमको अतिथि प्रदेश सांसद खिनु लङ्वा लिम्बुले खानेपानी, बोटो निर्माण उपभोक्ता समिति सम्बन्धी ऐन तथा नियमहरु संसोधन गरेर अघि बढ्नुपर्ने अवस्था आएको बताइन् । उनले समयसापेक्ष ऐन तथा नियमहरु परिमार्जन हुन नसक्दा समितिहरुलाई मापदण्डले असर पारेको बताइन् । उनले प्रदेश सरकारको तर्फबाट पालिकाले कार्यान्वयन गर्ने गरी मझौला सिचाई, उर्जा, सामाजिक विकास, सहकारी लगायतको क्षेत्रमा विनियोजना भएको बताइन् । लिम्बुले जनताको जिनजिविकाको सवालमा प्रदेश सरकारको बजेटबाट सम्बोधन गरिएको बताइन् ।

कोभिड महामारीको बिचमा पनि प्रदेश सरकारको तर्फबाट स्थानीय तहमा विकासमा विनियोजित बजेट कार्यान्वयनका लागि सदैव सहयोग गर्ने प्रतिवद्धता जनाइन् । अर्का प्रदेश सांसद काजीमान कागतले आर्थिक बर्षको सुरुवातबाटै बजेट कार्यान्वयमा सहजताको लागि प्रयास भएपनि कर संकलन लगायत केही कानुनी अड्चनका कारण समस्या सृजना भएको बताए । उनले अबको एक देखि डेढ बर्षको अवधिमा कुन सरकारकार कस्तो कार्य ग¥यो भन्ने जनताले लेखाजोखा गर्ने बताए ।

उनले संघीयताको मर्मलाई मुर्त रुप दिन केही अभ्यासहरुलाई कार्यान्वयनको लागि अघि बढ्दा कमीकमजोरी भएकाले त्यसलाई सच्याएर अघि बढ्न सुझाव दिए । कागतेले अहिलेको परिर्वतन संघीयताको कारणले मात्र सम्भव भएको बताए । कार्यक्रममा अतिथि जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले ५ बर्षको अवधि कानुन निर्माण, वडा विभाजन, नीति निर्माण लगायत कार्यमा व्यतित भएको उल्लेख गरे ।

उनले पुर्वाधार विहिन अवस्थाबाट अहिलेको अवस्थासम्म आइपुग्न विभिन्न कार्यहरु गर्नुपरेको बताए । स्थानीय सरकार बलियो भएको खण्डमा जिल्ला समन्वय समितिको कार्य समेत प्रभावकारी हुने उनले बताए । उनले जिससको कार्यहरु मध्येको अनुगमन, समन्वय, विवाद निरुष्पण र क्षमता विकासका कार्यहरु बजेटको सिमितताले अघि बढाउन केही समस्या देखिएको बताए । उनले अब बाँकी रहेको करिब १० महिनाको अवधिमा स्थानीय सरकारसंग समस्या समाधानमा सहयोग रहने बताए ।

जिल्ला विकास समितिका पुर्व सभापती लालबहादुर सुब्बाले गणतन्त्र र संघीयताको स्थापनाले विकासका लागि केन्द्र ताक्नुपर्ने अवस्था अन्त्य भएको बताए । उनले केन्द्र सरकारको फेरवदलका कारण प्रभावित हुने योजनाहरु अहिले स्थानीय सरकारको गठनपछि स्थानीय लक्षित हुने भएकाले कार्यान्वयन सहज देखिएको बताए । उनले गणतन्त्र स्थापनापछि आएकाले स्थानीय सरकारका जनप्रतिनिधिहरुले भ्रष्टचार गरेको गुनासो नओस भन्ने चाहना रहेको बताए । स्थानीय स्तरबाट संकलित कर र राजस्वहरु स्थानीय विकासमा खर्च हुने भएकाले जनता अपेक्षाको केही हदसम्म सम्बोधनमा सहज हुने बताए ।

प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले नगरले सवै क्षेत्रलाई समान रुपमा हेर्नु सकारात्मक भएको बताए । नगरपालिकाले विभिन्न विधामा गरेको सम्मानलाई लक्षित गर्दै खड्काले खदा र सम्मानपत्र भन्दा पनि सम्मानका लागि देखाइएको क्रियाकलापले सबैलाई अपनत्व सृजना हुने बताए । नेपाली कांग्रेसका प्रतिनिधि प्रेम चाम्लिङले संघीयता पछि परिर्वतनले फड्को मारेको उल्लेख गर्दै बजेट असारसम्म पारित भएपनि कार्यान्वयमा ढिलाई हुँदा विकास निर्माण प्रभावित भएको बताए ।

उनले बजेट चाडै पारित भएपनि चैत्र–बैशाखमा काम सुरु हुँदा बाढी पहिरोको चपेटामा विकास निर्माण परेको बताए । चाम्लिङले असोजबाट कार्यान्वय सुरु भई बर्खा लाग्नुभन्दा पहिला काम सम्पन्न हुनेखालको नीति आवश्यक रहेको बताए । कार्यक्रममा स्वागत गर्दै नगर उपप्रमुख दुर्गादेवी भट्टराईले जनअपेक्षा पहिलो प्राथमिकता भएको बताइन् ।

कार्यक्रम समापन गर्दै नगर प्रमुख रणबहादुर राईले स्थानीय जनअपेक्षालाई हेरेर सूर्योदयले कानुन बनाएको उल्लेख गरे । नगरले वडा कार्यालय, स्वास्थ्य चौकी निर्माणको कार्यलाई प्राथमिकतापछि शिक्षा क्षेत्रमा जोड दिएको बताए । उनले नगरले १३ वटा वडा कार्यालय निर्माण सम्पन्न गरेको बताए । पर्यटकीय नगरी भएकोले आगामी २५ बर्षलाई हेरेर योजनाहरु अघि बढाइएको बताए ।

नगरमा बहुतले पार्किङ र सिटीहल निर्माणलाई अघि बढाइएको राईले बताए । अप्टिकल फाइबर विस्तार सम्पन्न भएकाले यस बर्ष देखि प्रविधिमैत्री नगरपालिका घोषणाको काम अघि बढाइएको उनले बताए । २८ बर्षभित्र नगरका सवै बाटोहरु कालोपत्रे बनाउनका लागि मास्टर प्लान बनाइएकाले उनले बताए । प्रत्येक बर्ष विस्तार हुने सडकको बारेमा मास्टर प्लानमा उल्लेख रहेको राईले बताए ।

याम बराल सहित ५१ जना सम्मानित
सोही अवसरमा गायक यम बराल सहित ५१ जना सम्मानित भएका छन् । नगरको संचारकर्मी, कृषक, उद्योगी, कर्मचारी लगायत विभिन्न क्षेत्रमा योगदान गर्नेलाई सम्मान गरेकाे थियो । गायक बराल फिक्कलमा जन्मीएर सोही ठाउँबाट बाल्यकालको शिक्षा आर्जन गरी राजधानी छिरेका थिए । सम्मान ग्रहण पछी जन्म भूमीमा पाएको सम्मानले आफुलाई बाल्यकालको याद दिलाएको बताए ।

गायक बरालले आफुले बाल्यकालमा उक्त क्षेत्रमा प्रस्तुती गरेको सम्झदै नगरले गरेको सम्मानले आफलाई थप उर्जा मिलेको बताए । कार्यक्रममा गायक बरालले बादलुको घुम्टोले इलाम बजार छोपिदा, निष्ठुरीले छोडेर गईहाली बोलका गीत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार