Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

इलाम नगरपालिकामा ‘उद्घाटन र शिलान्यास’ देखि कोभिड न्युनिकरणको राहत प्याकेज माग सम्मको निर्णय

इलाम नगरपालिकामा ‘उद्घाटन र शिलान्यास’ देखि कोभिड न्युनिकरणको राहत प्याकेज माग सम्मको निर्णय

  • सन्देश सम्वाददाता
  • मंगलबार, भाद्र ८ २०७८


इलाम नगरपालिकामा ‘उद्घाटन र शिलान्यास’ देखि कोभिड न्युनिकरणको राहत प्याकेज माग सम्मको निर्णय

इलाम । इलाम नगरपालिकाले कोरोना महामारीकाबीच नगरपालिकाअन्तर्गत निर्माण भएका संरचनाहरुको उद्घाटन र निर्माण हुन लागेका संरचनाहरुको शिलान्यास गर्ने देखि कोभिडको प्रभावलाई न्युनिकरणको लागि राहत प्याकेज ल्याउने लगायतको कार्यक्रम गर्ने भएको छ । नगरपालिकाले पत्रकार सम्मेलन आयोजना गरेर कार्यक्रमको बारेमा जानकारी गराएको हो ।

कोरोना भाईरस (कोभिड १९) का कारण स्थगित भएको उद्घाटन र शिलान्यासको कार्यक्रम सुचारु गरिने मंगलबार नगरपािलकाद्वारा आयोजित पत्रकार भेटघाटमा जानकारी गराइएको छ । सोमबार सम्पन्न नगरकार्यपालिकाको बैठकले पालिकास्तरीय संरचनाहरु पालिकाले नै उद्घाटन र शिलान्यास गर्ने निर्णय गरेको नगरप्रमुख महेश बस्नेतले जानकारी दिए ।

नगरपालिकाले निर्माण सम्पन्न भएको संरचनाहरु सिटीमार्ट, नगरपालिका कार्यालय भवन, कवर्डहल, मोटरसाइकल पार्किङ्ग भवन, वडा नम्बर ८ को कार्यालय भवन, वडा नम्बर २, ५, १०, ११ स्वास्थ्य केन्द्र भवन, वडा नम्बर १, २, ३, ५, र ८ को विद्यालय भवन, स्रष्टा पार्क, सुनुवार सांस्कृतिक संग्रहालय भवन, फाल्गुनन्द स्वागतद्वार र मूर्ति, रङ्गशाला, कृषि थोक बजार, सा.नि.सा अवधारणा अनुसार निर्माण हुने चोकबजार क्षेत्रको भवन, फनपार्क उद्घाटन गर्ने निर्णय गरेको छ । त्यस्तै निर्माण हुन लागेको पाटेनागी शिव मन्दिर, ह्याङगिङ्ग ब्रिज, जनक सालिक, वडा नम्बर ४ को मन्दिर÷सामुदायिक भवन, फाल्गुनन्द गेट मूर्ति शिलान्यास गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले पदावधि समाप्त भएका नगरपालिकाअन्तर्गत साहित्य कला संगीत प्रतिष्ठान, पर्यटन प्रवद्र्धन समिति, नगर खेलकूद विकास प्रतिष्ठान, नगर युवा परिषद, नगरस्तरीय दलित समन्वय समितिका पदाधिकारी तथा सदस्यहरुको मनोनयन गरेको छ । साहित्य कला संगीत प्रतिष्ठानको अध्यक्षमा टिका घिमिरे, नगर पर्यटन प्रवद्र्धन समितिको अध्यक्षमा प्रकाश अधिकारी, नगर दलित समन्वय समितिको अध्यक्षमा मनकुमार बराइली, नगर युवा परिषदको अध्यक्षमा प्रकाश घिमिरे र नगर खेलकुद विकास समितिका अध्यक्षमा बिनोद श्रेष्ठ मनोनित भएका छन् ।

श्रम रोजगार तथा सामाजिक सुुरक्षा मन्त्रालय, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालु आर्थिक बर्षको लागि इएमआइएस प्रविष्ट गर्ने कार्यबाट १६७ जनाको बेरोजगार सुचीकृत भएकोमा वडावडामा धेरैको नाम छुट भएकाले पुनः खुल्ला गर्न मन्त्रालयसंग अनुरोध गर्ने भएको छ । साथै इलाम नगरपालिकाअन्तर्गत रोजगार सेवा केन्द्रमा “घर निर्माण तथा मर्मत कार्य गर्ने मजदुर कल्याण कोष सञ्चालन कार्यविधि, २०७४” बमोजिमका लाभग्राही मजदूरहरुको लगत समेत वडागत रूपमा अद्यावधिक गरी व्यवस्थापन गर्ने निर्णय गरेको जानकारी गराइएको छ ।

नगर शिक्षा समितिको भदौ ४ गतेको निर्णय अनुमोदन गर्दै समितिको सिफारिस बमोजिम शैक्षिक सत्र २०७८ का लागि कक्षा थप अनुमति माग गरेका १० वटा विद्यालयहरुमध्ये इलाम पुवाभ्याली इङ्गलिस बोर्डिङ्ग स्कुललाई कक्षा ७ सम्म र चन्द्रोदय आधारभूत विद्यालयलाई कक्षा ४ सम्म थप अनुमति प्रदान गर्ने भएको छ । शैक्षिक सत्र २०७८ का लागि असार महिनाबाटै भर्ना अभियान शुरु भएकोले १५ गतेभित्र भर्ना अभिलेख अद्यावधिक गरी जानकारी गराउन विद्यालयहरुलाई सूचना गर्ने निर्णय भएको जनाइएको छ ।

कोरोना महामारीको हालको विषम परिस्थितिमा भौतिक रुपमा विद्यालय सञ्चालन गर्न कठिनाई भएको अवस्थामा माथिल्लो कक्षाका विद्यार्थीहरुका लागि संभव भएसम्म अनलाइन माध्यमबाट सिकाइ सहजीकरण गर्ने र अन्य कक्षाका लागि शिक्षकले पाठ नोटको तयारी गरी गृहकार्य संकलन गरी पृष्ठपोषण उपलब्ध गराउने भएको छ । कक्षा ६ देखि ८ को स्थानीय पाठ्यक्रमका रुपमा पर्यटन विषयको पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण भइसकेकोले अभिमुखीकरण गराउने भएको छ ।

इलाम नगरपालिकाअन्तर्गत शिक्षा ऐन, २०७५ र शिक्षा नियमावली २०७४ मा समसामयिक सुधार तथा परिमार्जनका लागि सुझावसहितको प्रतिवेदन १५ दिन भित्र पेश गर्ने गरी प्रमुख प्रशासकीय अधिकृत कालीबहादुर भुजेलको संयोजकत्वमा अधिकृत प्रेम गौतम सदस्य र शिक्षा अधिकृत श्री राधिका घिमिरे सचिव रहेको समिति गठन गर्ने निर्णय गरेको छ । नगरपालिकामा हालसम्मको कोभिडको अवस्थाको बारेमा समेत जानकारी गराइएको छ ।

कोरोना महामारीको दोस्रो भेरियन्टबाट इलाम नगरपालिकामा हालसम्म १ हजार ५सय ५५ जना संक्रमित भएका छन् । जसमा महिला ७ सय ३० र पुरुष ८सय २५ रहेका छन् । संक्रमणबाट निको भएको संख्या १ हजार २ सय ५४ जना रहेको छ । संक्रमणबाट हालसम्म २९ जना मृत्यु भएको छ । जिल्ला प्रशासनको कोभिड संक्रमणको अध्यावधि रिर्पोट माथि छलफल गर्दै कोभिड महामारी नियन्त्रण तथा रोकथामका लागि इलाम नगरपालिकाको स्वास्थ्य हेल्प डेस्क (५२०४४९), आयुर्वेद हेल्प डेस्क (५२००४०) र सामी हेल्प डेस्क (५२०६२७) बाट अझ प्रभावकारी ढङ्गले सूचना आदानप्रदान गरी कार्यसम्पादन गर्ने गराउने भएको छ ।

कोरोना महामारीको संक्रमण तथा प्रकोपले हाल विषम परिस्थिति सिर्जना भएको हुँदा सो महामारीका कारण उत्पन्न समस्या र महामारी नियन्त्रण तथा रोकथामका लागि कोरोना महामारीबाट पीडित तथा महामारीका कारण अस्तव्यस्त आर्थिक क्षेत्रका लागि राहत प्याकेज, कोरोना विरुद्धको खोपको व्यवस्था र कोरोना परीक्षणका लागि कीटको व्यवस्था गरिदिन संघीय सरकारमा अनुरोध गर्ने निर्णय भएको जानकारी गराइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार