इलाम : इलाममा पछिल्लो समयमा संक्रमित हुनेको संख्या क्रमश घट्दै गएको छ । जिल्ला प्रशासन कार्यालयको अध्यावधिक तथ्यांक अनसार भदौ महिनामा संक्रमितको संख्या घट्दै गएको हो । जिल्लामा महिनाको पहिलो दिन ६१ जनामा संक्रमण देखिएको थियो । भदौ २ गते ७४ जना र भदौ ३ गते घटेर ४७ जनामा संक्रमण देखिएको छ ।
भदौ ४ गते ४१ र भदौ ५ गते ३९ जनामा संक्रमण देखिएकोमा आइतबार २३ जना संक्रमित भएका छन् । जिल्लामा हालसम्म ४ हजार ७ सय ९५ जनामा संक्रमण देखिएकोमा ३ हजार ७ सय ९१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । जिल्लामा भदौ १ गतेबाट यता ९ जनाको मृत्यु भएकोछ । सवैभन्दा बढि चुलाचुलीम ६ जनाको मृत्यु भएको छ ।
महिनाको सुरुवातसम्ममा १२ जनाको मृत्यु भएकोमा ६ दिनको अवधिमा थप ६ जनाले ज्यान गुमाएका हुन् । त्यसैगरी रोङमा २ र सूर्योदयमा १ जनाको मृत्यु भएको छ । बाँकी स्थानीय तहमा भदौ महिनाको हालसम्मको अवधिमा कोभिडबाट मृत्यु भएको छैन् ।
जिल्लामा हालसम्मको अवधिमा इलाम नगरपालिकामा २९ जना, सूर्योदयमा २८, चुलाचुलीमा १८ जना रोङमा ७ जना, माई नगरपालिका ६ जना र देउमाईमा ४ जनाको मृत्यु भएको छ । त्यस्तै माङ्सेबुङमा ६ जना, माईजोगमाईमा ५ जना, सन्दकपुरमा १ जना रहेका छन् ।
फाकफोकथुममा कोभिडका कारण हालसम्म कसैको पनि मृत्यु नभएको जिल्ला प्रशासन कार्यालय इलामको दैनिक कोरोना संक्रमित अध्यावधिक विवरणले देखाएको छ । इलाम जिल्लाभित्र ६२ र जिल्ला बाहिर ४२ जनाको कोभिडका कारण मृत्यु भएको छ ।