चुलाचुली । इलामको चुलाचुली गाउँपालिकाको ३ वडालाई सिचाई सुविधा उपलव्ध गराउने उद्धेश्यले निर्माण गरिएको रतुवा सिचाई आयोजना सम्पन्न भएको छ । सिचाई विकास डिभिजन कार्यालय इलाम मार्फत रतुवा खोलामा बाँध निर्माण गरि चुलाचुलीका ३,४ र ५ नम्बर वडाका चार सय ५० हेक्टर खेतीयोग्य जमिनमा सिंचाई सुविधा उपलव्ध गराउन उक्त योजना निर्माण गरिएको डिभिजनल इञ्जिनियर रामनारायण श्रेष्ठले जानकारी दिए ।
योजनाको मुख्य काम विधुवा खोलामा भुमिगत रुपमा पाइपलाइन जडान गरि पानी वारपार गराउने कार्य सम्पन्न भएको छ । ६ सय ३५ मीटर एचडीपी पाइप विधुवा खोलामुनी विछ्याएर निर्माण गरिएको साइफन विभिन्न सरोकारवाला निकायले अनुगमन निरिक्षण गरेका छन् । प्रदेश सभा सदस्य धिरेन शर्मा रमण, संविधान सभा सदस्य नगेन्द्र कुमाल, प्रदेश १ भोतिक पुर्वाधार विकास मन्त्रालय, जलश्रोत तथा उर्जा विकास महाशाखा प्रमुख रमेश प्रसाद पौडेल, चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिप चन्द्र राई उपाध्यक्ष निर्मला दाहाल लगायतले योजनाको निरिक्षण गरेका थिए ।

सम्पन्न योजना रतुवा खोला सिंचाई जल उपभोक्ता समितिलाई हस्तान्तरण समेत गरिएको छ । समितिका अध्यक्ष भिम कुमार योङ्या को अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरुले चुलाचुली क्षेत्रमा कृषिको आधुनिकिकरणमा सिंचाई योजनाले सघाउ पुर्याउने विश्वास व्यक्त गरे । योजना अन्तर्गत रतुवा खोलामा बाँध निर्माण गरिएको छ । साढे नौ किलोमिटर मुख्य क्यानल मध्ये ६ किलोमिटर सम्पन्न भएको सिचाई विकास डिभिजन कार्यालय इलामका इञ्जिनियर पुरुषोत्तम शाहले जानकारी दिए ।
आर्थिक वर्ष २०७३/७४ मा डिपिआर सम्पन्न भएको योजनाको निर्माण रमण एपेक्स सफल जेभीले गरेको हो । योजना निर्माण भएपछि स्थानीय क्षेत्रमा बाँझो जमिन सिंचाई उपलव्ध भएकोमा स्थानीय उपभोक्ता सोमनाथ अधिकारीले खुशी व्यक्त गरे । ११ करोड ४४ लाखमा योजना निर्माण सम्पन्न भएको निर्माण कम्पनीका टंक गजुरेलले बताए । योजनाको बाँकी खण्डको निर्माण रतुवा खोला सिंचाई जल उपभोक्ता समिति मार्फत हुने जानकारी दिइएको छ ।