इलाम । ‘आँखामा आउने सपनी कहिले पो पुरा हुन्छ नी मनले खाको कान्छाले कहिले पो माया लाउँछ नी’, ‘बिनायो कङ्कङ एक कान्छी घुम्न जाउँ लैलै मलाया हङकङ’ पछिल्लो पुस्ताले रुचाएको गीतकी गायिका हुन् इलामको फाकफोकथुम गाउँपालिकाकी सुनिता थेगीम । पछिल्लो समय उनले स्वर दिएका गीतहरु युट्युवमा अपार सफलतापछि निक्कै व्यस्त छिन् । उनले स्वर रहेको गीतहरु युट्युवमा करोड भन्दा बढि भ्युज पाएका छन् ।
सुनिताको जन्म डकेन्द्रसिंह थेगिम र आमा आङदेम्बे छबिमाया थेगिमको कान्छि सन्तानको रुपमा फाकफोकथुम गाउँपालिका–३ मा भएको थियो । भारतकी चर्चित गायिका श्रेया घोषालबाट प्रभावित भएको कुरा सुनाउँदै उनीलाई नै आफ्नो आदर्श र आइडलको रुपमा रहेको सुनिता बताउँछिन् । सानै उमेरदेखि नै लगनशील , परिश्रमी , अनुशासित र पढाइमा अब्बल दर्जाकी सुनिता थेगिमको बाल्यकालको शिक्षा इलाम जिल्लाको पबित्र किरात धार्मिकस्थल लारुम्बा माङसेबुङमा अवस्थित फाल्गुनन्द आवासीय माध्यमिक बिद्यालयबाट शुरु भएको थियो ।

झापाको दमकस्थित चुलाचुली आवासीय माध्यमिक बिद्यालयबाट प्रथम श्रेणीमा एसएलसी परीक्षा उत्तीर्ण पछिको लक्ष्य पाइलट बन्ने थियो । तर संगीत प्रतिको लगावका कारण उनी हजारौ फ्यान्सका माझमा “ प्रिन्सेस अफ मेलोडी , मेलोडी क्वीन र लिम्बुनी इज क्वीन “ जस्ता उपमा पाउन सफल भइन् । सुनिता सानो उमेरमा नृत्य गर्थिन् । त्यहिबेला आफुमा केही गायन क्षमता पनि भएको पहिचान गरी पढाइको सिलसिलामा दमक मल्टिपल क्याम्पसबाट आइएस्सी सम्पन्न गरेसँगै दमकस्थित सुरभी कला केन्द्रबाट संगीत शिक्षक अनिल फागोसँग २ बर्षे संगीत शिक्षा पनि पुरा गरिन् र गायनमा निकै राम्रो क्षमता अभिबृद्धि गरिन् ।
बिद्यालयका शिक्षक शिक्षिका र संगीत शिक्षाका गुरुहरु पनि उनीमा निहित बिशिष्ट प्रतिभाबाट नतमस्तक हुन्थे । उनको घरपरिवारबाट पनि पुर्णरुपमा साथ ,सहयोग, समर्थन र हौसला पाएकी सुनिताले नृत्य र गायन क्षेत्रमा अनगिन्ती प्रशंसा , सम्मान पत्र , पुरष्कार हात पार्न सफल भइसकेकी छिन् । जुनसुकै बिधाको गीत पनि गाउन माहिर सुनिता बास्तबमा भर्सटायल गायिका हुन् । उनी गायनका अतिरिक्त संगीत गर्न , नृत्य अभिनय र म्युजिक भिडियोको निर्देशन समेत उनी अब्ब्ल छिन् ।

गायनका अतिरिक्त संगीत, नृत्य अभिनय र म्युजिक भिडियोको निर्देशन समेत गर्ने सुनिता साँच्चिकै एक बहु प्रतिभाशाली कलाकारको गणनामा आउँछिन् । हालसालै रिलिज भएको “ माया हजुर –२ उनकै निर्देशनमा निर्माण भएको म्युजिक भिडियो निकै लोकप्रिय मानिएको छ । सर्बप्रथम किरात धर्मगुरु आत्मानन्द लिङ्देनज्यूबाट रचित अत्यन्तै मार्मिक एवं सन्देशमुलक “ इक्सादिङ खाम्बेक “ बोलको भक्ति रचना इन्द्र योङ्हाङसँग युगल रेकर्डिङ गरेकी सुनिता थेगिमले हालसम्ममा दुई दर्जनभन्दा बढी लिम्बु भाषमा गीत रेकर्ड गराएकी छिन् ।
नेपाली तथा बिभिन्न जाति तथा समुदायका लोपोन्मुख लोक भाका पुर्बेली भाका, आधुनिक फिल्मी युगल तथा एकल गीतहरु करीब २०० भन्दा बढि रेकर्ड भएका छन् । सन् २०१८ मा चर्चित संगीतकार पारस मुकारुङको एकल संगीतमा ५ वटा सुमधुर गीतहरु समेटिएको “ सेप्माङ “ ( सपना ) नामक एल्बमको बिमोचन गरिसकेकी छिन् ।
नेपाली सांगीतिक आकाशमा चर्चित गायक राई इज किङ राजेशपायल राई , कृष्णभक्त राई आदिसँग गाएका सुनिता थेगिमका युगल र उनका एकल गीतहरू मध्ये “ मलाया हङकङ , माथि है प¥यो ,सोल्टिनी ज्यू सेवारो , भैयोनि पुरानो , इलामै शहर , के छ समाचार , याक्थुङमा कान्छी , चिलिम ढुंगा , तिम्रो मुटुमा ( फिमेल भर्सन ) आँखामा आउने सपनी ( फिमेल भर्सन ) धानैमा नाचौं सोल्टिनी “, आम संगीतप्रेमीको रोजाईमा परेका छन् ।

लिम्बु भाषिक गीतहरु मध्ये “ खेप्सेम्मे खेप्सेम्मे ,मिक्वा नु चकचक , मुयेङसा एरेना , पनुनुमा तरेमेन ,लुङमाबो याङघेक , च्याङ धुम च्याङ जस्ता गीतहरुले दर्शक श्रोताहरुको मन जित्न सफल छन् । हाल सांगितिक यात्राकै क्रममा भारतको दार्जीलिङ , सिक्किम , आसाम , हङकङ , दक्षिण कोरिया , कुवेत , कतार र इजरायलमा कन्सर्ट समेत गरिसकेकी छिन् ।