सूर्योदय । इलामको सूर्योदय नगरपालिकाले आफ्नो नगर भित्रका सडकहरुलाई १२ महिना सवारीसाधन संचालन गर्ने गरि निर्माण गर्ने योजना अघि सारेको छ । व्यवसायीक रुपमा कृषि उपज उत्पादन हुँदै आएको सूर्योदय नगरपालिकाले नगर भित्रका सडकमा १२ महिना सहज रुपमा सवारीसाधन संचालनका लागि नगरस्तरीय सडक संञ्जाल गुरुयोजना बनाएको हो ।
नगरभित्रका सबै सडकहरुको सञ्जालमा समाबेस गरिएको गुरुयोजना अनुसार अब २७ वर्षमा नगर भित्रका सडकहरु ग्राभेल भइसक्ने छन् । सूर्योदय नगरपालिका भित्र २ सय ९५ वटा नगरस्तरीय सडक रहेका छन् । जसमा ६ सय ३२ दशमलव ७३ किलोमिटर सडक नगरपालिका भित्र खनिएको छ । ट्रयाक खनिएका सडकहरुको व्यवस्थित र योजनावद्ध तरिकाले निर्माण गरि जनताको जिवनस्तर सुधार गर्न नगरस्तरीय सडक संञ्जाल गुरुयोजना बनाइएको नगरप्रमुख रणबहादूर राईले बताए ।
पुरानै शैलीमा सडक निर्माणका काम गरिए नगरभित्रका सडक पुरै ग्राभेल गर्न एक सय २८ वर्ष लाग्ने देखियो–नगर प्रमुख राईले भने–‘जनताका घरमा पुग्ने सडकको व्यवस्थित तरिकारले स्तरउन्ती गर्ने कामका लागि गुरुयोजना बनाएरै सडक पूर्वाधार निर्माणको सुरुवात हुनेछ ।’ स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिले एक वडा एक ग्रामेल सडक निर्माणलाई प्राथमिकता दिएपछि सूर्योदय नगरपालिका भित्र १४ वटै वडाका एक÷एक वटा सडक ग्राभेल गर्ने काम हुँदै आएको नगरपालिकाका सिभिल इञ्जिनियर कविन सापकोटाले बताए ।
नगरभित्रका २ सय ५९ वटा सडक २७ वर्ष भित्र ग्राभेल गर्नका लागि हरेक पाँच वर्षमा ५९ करोड रुपैयाँ खर्च नगरपालिकाले गर्नुपर्ने हुन्छ । यो रकम सडकको सर्भे, वातावरण संरक्षण, सडक चौडा र सडक स्तरउन्नतीमा लाग्ने खर्च हो । पाँच वर्षमा ५९ करोडको ५ प्रतिशत वातावारण संरक्षण, ५ प्रतिशत सर्भे डिजाइन, १५ प्रतिशत सडक चौडा र ७५ प्रतिशत सडक ग्राभेलका खर्च हुने गुरुयोजनामा उल्लेख छ । अहिलेको दररेट अनुसार नगर क्षेत्रका सडक ग्राभेलका लागि ३ अरब २० करोड २७ वर्षभित्र खर्च गर्नुपर्ने छ ।
हरेक वर्ष निर्माण सामग्रीको मुल्य वृद्धि र दररेट बढ्ने भएकाले नगरपालिकाले बजेट थप गर्नुपर्ने हुन्छ । नगर स्तरीय सडक संजाल गूरुयोजना चालु आर्थिक वर्षदेखि नै कार्यान्वयन हुनेछ । २०७६÷०७७ मा एपि पोइन्ट इञ्जिनरिङ्ग कष्ट्रक्सन कन्सल्टेन्सि प्रालिले सडक गुरुयोजना निर्माणका लागि सूर्योदय नगरपालिकासँग सम्झौता गरेको थियो । सो कम्पनीले गत आर्थिक वर्षमा गूरुयोजना तयार पारि नगरपालिकामा बुझाएको थियो ।
तयार भएको गुरुयोजना अनुसार नगरपालिकाले सडक पूर्वाधारको निर्माण गर्ने नगरपालिका वडा नम्बर ३ का अध्यक्ष होम कार्कीले बताए । ‘हामी गुरुयोजना अनुसार सडकको नयाँ ट्रयाक खन्दैनौ सडक स्तरउन्ती मात्रै गर्छौ–उनले भने–‘गूरुयोजनामा समावेस भएका सडकमा मात्रै नगरपालिकाको योजना कार्यान्वयन हुनेछ ।’ नगरपालिकाको आन्तरिक श्रोतबाट मात्रै सडक स्तरउन्तीका लागि नपुग्ने भएकाले प्रदेश र संघीय सरकारबाट प्राप्त हुने अनुदानसँगै थप बजेटका लागि पहल गर्ने कार्कीले बताए ।
अहिले सुर्योदय नगरपालिकाले हरेक वडामा एक/एक वटा सडक स्तरउन्ती सँगै कालोपत्रे समेत गर्दै आएको छ । एक वडा एक ग्राभेल सडक निर्माणका लागि हेरक वर्ष वडाको बजेट सिलिङबाट ५० लाख खर्च हुँदै आएको हो । गुरुयोजनामा ए, बि, सि र डि गरि चार भागमा सडकको विभाजन गरिएको छ । ‘ए’ ग्रेडमा रहेको सडकमा मेची राजमार्ग रहेको छ । जुन सूर्योदय नगरपालिका भित्र १६ दशमलव १२ किलोमिटर पर्दछ । ‘बि’ ग्रेडमा सूर्योदय नगरपालिकाबाट अन्तर स्थानीय तह जोड्ने र भारतीय सीमा क्षेत्र जोड्ने सडक रहेका छन् । जसमा फिक्कल–पशुपति, फिक्कल –श्रीअन्तु, फिक्कल–गुप्ति लगायतका सडक रहेका छन् ।
नगरस्तरीय सडक र वडास्तरीय सडकहरु ‘सि’ र ‘डि’ ग्रेडमा राखिएको छ । ‘सि’ ग्रेडका नगरस्तरी सडकमा ६४ वटा र ‘डि’ ग्रेडका सडकहरुमा एक सय ९५ वडा सडक रहेका छन् । नगरपालिकाको चालु आर्थिक वर्षको एक अर्ब २९ करोड बजेटमध्ये पूर्वाधार तर्फ ४७ करोड ४२ लाख ५३ हजार रुपैयाँ विनियोजन भएको छ । जसमा सडक पूर्वाधार तर्फ २८ करोड १० लाख रुपैयाँ विनियोजन भएको योजना अधिकृत खेम राईले बताए ।
सूर्योदय नगरपालिका भित्रका नगरस्तरीय सडकमा साढे पाँच किलोमिटर कालोपत्रे सडक, ४० दशमलव ७९ किलोमिटर ग्राभेल सडक रहेको छ । सडक गुरुयोजना अनुसार सूर्योदय नगरपालिका भित्रका सडकमा सबैभन्दा बढी दुईपांग्रे मोटरसाइकल प्रयोग हुँदै आएका छन् । नगरस्तरीय सडकमा ४५ प्रतिशत मोटरसाइकल प्रयोग हुन्छन् । त्यस्तै जिप कार २६ प्रतिशत, ट्रयाक्टर १७ प्रतिशत र ट्रक बस १२ प्रतिशत नगरपालिका भित्र गुड्ने गरेका छन् ।