इलाम ।चुरे क्षेत्र अधिक रहेको इलामको रोङ गाउँपालिकाको अर्थतन्त्र वृद्धिमा बाख्रापालनलाई प्राथमिकता दिएसँगै बाख्रापालनप्रति किसानको आकर्षण बढेको छ । बजारको अभाव नहुने, आम्दानी मनग्गे गर्न सकिने भएपछि बाख्रापालनबाट अर्थतन्त्र विकास गर्ने रोङ गाउँपालिकाले निति लिएको हो ।
व्यावसायिक बाख्रापालनको प्रोत्साहान कार्यक्रमले इलामको चुरे क्षेत्रमा पर्ने रोङ गाउँपालिका भित्र बाख्रापालनमा किसानको आकर्षण बढेको छ । बजारको अभाव नहुने, आम्दानी मनग्गे गर्न सकिने भएपछि बाख्रापालनबाट अर्थतन्त्र विकास गर्ने रोङ गाउँपालिकाले निति लिएको पालिका अध्यक्ष समसेर राईले बताए ।

समथर भु–भाग र भिराला जग्गामा घाँस खेती गर्न, बाख्राको खोर सुधार र कम्पोष्ट मल बनाउने सम्मका योजनामा गाउँपालिकाले सहयोग गर्दै आएको छ । गाउँपालिकाले बाख्रा पालन गर्ने किसानलाई बाख्राको खोर सुधारका लागि १० हजारदेखि ३५ हजारसम्म आर्थिक सहयोग गर्दै आएको हो ।
बाख्रा पालनबाट पालिकाबासीको आर्थिक अवस्था सुधार गर्ने योजना अनुसार गोठ सुधार, नस्ल सुधार र प्रविधि हस्तान्तरण गरिएको गाउँपालिका उपाध्यक्ष चन्द्रकला राईले बताइन् ।
५ माउ बाख्रा पालन गर्ने किसानलाई फार्म दर्ता गर्ने सरल कानुन बनाई किसानकै घरमै पुगेर अनुगमन गरि आर्थिक सहयोग गरिँदै आएको छ । बाख्राको मासु उत्पादन र बजारीकरणमा वृद्धि ल्याउन पालिकाकै बजेटबाट बाख्रा पकेट क्षेत्र संचालनमा रहेको छ भने प्रदेश एक सरकारको सहयोगमा बृहत्तर बाख्र्रापालन कार्यक्रम किसानमाझ पुगेको छ ।
चरन क्षेत्रमा आधारित बाख्रा पालनलाई सुधारिएको खोरमा पालन गर्ने सिप किसानलाई हस्तान्तरण गर्ने काम पनि हुँदै आएको छ । सुधारिएको खोरमा बाख्रा पालन गर्ने किसानलाई निःशुल्क रुपमा उन्नत जातको घाँस वितरण गरिन्छ । खोरमा बाख्रा पालन गर्दा मल जम्मा हुने र बाख्राको मल कृषि बालिमा उपयोग गर्ने निति गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत प्रयास भट्टराईले बताए ।
बाख्रा पालनको कार्यक्रमले प्राथमिकता पाएपछि रोङ गाउँपालिका भित्रका हरेक किसानका घरमा ५ देखि ३० वटासम्म माउ बाख्रा पालन हुन थालेको छ ।