फिक्कल । कोभिड–१९ को दोश्रो लहरले मुलुक आक्रान्त भइरहेको बेला भारतसँग सिमा जोडिएको इलामका स्थानीय तहको प्राथमिकता नागरिकहरुको स्वास्थ्य सुरक्षामा रहेको छ । गत बर्ष स्थापना गरिएको आइसोलेसन सेन्टरहरु धमाधम प्रयोगमा ल्याउनुका साथै अक्सिजन सिलिन्डरको व्यवस्थापन गर्नेसम्मको अभ्यासमा स्थानीय सरकार जुटिरहेको पाइन्छ । स्थानीय तहका जनप्रतिनिधि एवम स्वास्थ्यकर्मीहरु कोभिड संक्रमितको उपचारका लागि जुटेका छन् ।
संक्रमितहरुको हौसला बढाउन जनप्रतिनिधि स्वास्थ्यबद्र्धक खानेकुरा र औषधी समेत लिएर घरघरमा समेत पुग्न थालेका छन् । गतवर्षको लकडाउनमा आफ्नो पालिकामा बसोबास गर्ने दैनिक ज्यालादारीका श्रमिक तथा विपन्न परिवारलाई खाद्यान्नको अभाव टार्न अग्रसर सूर्योदय नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु दोश्रो लहरमा आफ्नो क्षेत्रका जनताको स्वास्थ्य अवस्था बुझ्न घरघरै पुगेको भेटिए ।
एम्बुलेन्स सेवाको व्यवस्थापन, सम्भाव्य संक्रमितको जानकारी सम्बन्धित स्थानमा पु¥याई उपचार प्रक्रियामा सहजीकरण, स्थानीय प्रहरीसमेतको सहयोगमा कोरोना प्रभावितसँग सम्पर्कमा आएका व्यक्तिको पहिचान र विवरण संकलन स्थानीय तहले गर्दै आएका छन् यस क्रममा वडा समितिलाई वडा तहमा समन्वयकर्ताका रूपमा परिचालन गर्ने असल अभ्याससमेत भएको छ ।
नगर क्षेत्रमा कोरोना संक्रमणलाई न्युनिकरणका लागि नागरिकहरुको साथ समेत रहयो । अत्यावश्यक बाहेक मानिसहरुले भिडभाड गरेनन् । बजार क्षेत्रमा निस्किएका हरेकले मास्क र सेनिटाइजरको प्रयोग गरेको पाइन्थ्यो ।
स्वास्थ्यकर्मीसंगै नगर प्रमुख फिल्डमा
भारतसँग सिमाना जोडिएको पर्यटकीय नगरीको पहिचान बनाएको सूर्योदय नगरपालिकाले गत बर्ष दाताहरु र प्रदेश सरकारबाट प्राप्त रकमबाट करिब ८० लाख रुपैयाको कोष बनाएको थियो । देश विदेशमा हुनेहरुले स्वस्फूर्त रुपमा कोभिडको जोखिम न्युनिकरणका लागि सहयोग गरेका थिए । दोश्रो लहरको कोभिड विरुद्धको लडाईमा नगरले न त खाध्यान्न वितरण ग¥यो न त सहयोगको लागि आहवान नै । करुणा फाउन्डेसन, इलामेको पिडामा मल्हम पट्टी अभियान, जिल्ला बाहिर रहेको इलामेहरुले स्वस्फूत रुपमा कोभिड सुरक्षा विरुद्धका सामाग्री, स्वास्थ्य उपकरण र एन्टिजेन टेस्ट किट उपलब्ध गराए ।
करुणाले मात्र नगरलाई अन्य स्वास्थ्य सामाग्री सहित ३ सय थान एन्टिजेन किट उपलब्ध गरायो । मल्हमपट्टी अभियानबाट करिब १ लाख ४० हजारको सामाग्री र हेल्थ इन्भारोमेन्ट एन्ड क्लाइमेन्ट एक्सन फाउन्डेसनले केही दिन अघि मात्र स्वास्थ्य सुरक्षाको सामाग्री दिएको छ । गत बैशाख २८ गते अक्सिजन समस्याको परिपुर्तिको लागि जोगमाई हाइड्रोले ४ थान ठुलो अक्सिजन उपलब्ध गराएको थियो ।
जनताहरुमा कोभिड विरुद्धको सचेतनाका लागि जनप्रतिनिधि आफै सक्रिय बनेर खटिए । गाउँगाउँमै गएर सम्भावित संक्रमितहरुको एन्टिजेन टेस्ट गर्न समेत जनप्रतिनिधि आफैले सक्रियता देखाए । नगरले चिया क्षेत्रमा काम गर्ने मजदुर, सवारी चालक, व्यवसायीहरुमा परिक्षण गरेको छ । पर्यटकीय नगरी सूर्योदयका नगर प्रमुख रणबहादुर राई गाउँगाउँमा हुने एन्टिजेन परिक्षणमा स्वास्थ्यकर्मी संगै खटिए । उनी चढ्ने मे १ झ १५१ नम्बरको गाडी कोभिड व्यवस्थापनका लागि स्वास्थ्यकर्मीहरुलाई दिएका छन् ।
नगर प्रमुख राई दैनिक जसो कार्यालय आउजाउँ गर्न निजि सवारीसाधन नै प्रयोग गर्छन् । भारतसंग सिमाना जोडिएको नगरपालिका भएको कारण उच्च प्राथमिकतामा राखिएको राईले बताए । ‘ कोभिड–१९ रोकथामको लागि खोजपडताललाई व्यापकता दिनुपर्छ भनेर लाग्यौ । भारतसँग खुल्ला सिमाना छ । दुवै देशबाट आउजाउँ गर्नेहरुको लागि गत बर्ष स्थापना गरिएको पशुपतिनगर नाकाको हेल्प डेक्सलाई क्रियाशिल बनायौ । मैले चढ्दै आएको गाडी कोभिड रेस्पोन्सका लागि सहज होस् भनेर स्वास्थ्यकर्मीहरुको प्रयोग गरिरहनुभएको छ । उनले भने ‘नगरबासीले जनप्रतिनिधिको आवश्यकता यस्तै साह्रो–गाह्रो भएका बेला महसुस गर्दा रहेछन् । त्यही अनुभवका आधारमा जनताको हौसला बढाउन एन्टिजेन परिक्षणका लागि आफै खटिरहेको छु ।’
नगरले गत बर्षको कोषबाट कोभिड नियन्त्रण र राहत वितरण पछि बाँकी रहेको केही रकमबाट दोश्रो लहरको कारोनामा आइसोलेसन व्यवस्थापनमा खर्च गरेको छ । नगरले गत बैशाखमा पशुपतिनगर नाकामा राखेको हेल्प डेक्स राखेर भारतबाट नेपाल हुँदै अन्य स्थानीय तहसम्म जानेहरुको एन्टिजेन परिक्षण गरेको थियो । बैशाख १२ गते यता हालसम्म नगर क्षेत्रमा संक्रमित भएका र संक्रमणको जोखिममा रहेका १ हजार ६ सय ७१ जनाको एन्टिजेन परिक्षण गरिएको नगरपालिकाको तथ्यांकले देखाउँछ ।
नगर क्षेत्रमा २९३ जनामा कोरोना संक्रमण देखिएकोमा हाल २५२ संक्रमणमुक्त भएर सामान्य जिवनमा फर्किएका छन् । आज मात्रै २० जना संक्रमणबाट मुक्त भए । संक्रमितहरुको लागि पशुपतिनगर प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन सहितको १० बेडको आइसोलेसन समेत तयारी अवस्थामा राखेको छ । केही संक्रमितहरुले आइसोलेसनबाट सेवा लिएर कोरोना संक्रमणलाई समेत परास्त गरेका छन् ।
कोभिड–१९ संक्रमण रोकथाम, न्यूनीकरण एवम् उपचारका लागि सूर्योदय नगरपालिकाले गरेका सकारात्मक पहलका बावजुद हालसम्म सूर्योदय नगरपालिकामा १३ जनाको मृत्यु भएको छ । जुन जिल्लाको सवैभन्दा बढि हो । मृतकहरु २७ देखि ९१ बर्षसम्ममा छन् । अहिले मानव जीवनमाथि नै संकट छाएको अत्यन्त कठिन र असाधारण परिस्थिति रहेकाले ’पहिला नागरिकको जीवन रक्षा गरौं’ भन्ने मूल मन्त्रकासाथ काम गरिरहेको वडा नं ३ का वडाध्यक्ष होम कार्की बताउँछन् ।
‘संकटपूर्ण घडीको सामना पनि असाधारण तरिकाले खटेर नै गर्न सकिन्छ । विपत्ति सधैंभर आउँदैन तर आइपरेको बेला सामान्य अवस्थाको भन्दा दोब्बर खट्नु आवश्यक ठानेका छौ ।’ कार्कीले भने ‘ अहिले जनप्रतिनिधिहरु र स्वास्थ्यकर्मीको अग्रसरताकै कारण वडा नं ३ कोरोना संक्रमणबाट मुक्त गराउन सफल भएका छौ ।कोरोनालाई परास्त गर्नेको संख्या दिनानुदिन बढ्दो छ । केही दिनमा नगर नै संक्रमणबाट मुक्त हुन्छ । ’
शव व्यवस्थापनमा जनप्रतिनिधि सक्रिय
संक्रमितहरुको शव व्यवस्थापनमा समेत अहिले जनप्रतिनिधि आफै खटिएका छन् । ‘मृत्यु आफैमा हृदयविदारक हुन्छ । सबै कुरामा नेपाली सेनाको भर परेर पनि नहुँदो रहेछ । नगर क्षेत्रका केही मृतकहरुको लाश व्यवस्थापनमा नगर प्रहरीसँग आफै खटियौ ।’ कोभिड फोकल पर्सन पेमा उगेन लामाले भने ‘ अहिले सरकारले सुरक्षा अपनाएर परिवारले लाश व्यवस्थापन गर्न सक्ने अनुमती दिएपनि कतिपय घरमा पुरुष जनशक्ति नहुँदा सारै धेरै समस्याहरु देखिएको छ ।’ वडाध्यक्षहरु पेमा उगेन , होम कार्की, देवेन्द्र आचार्य, टेकबहादुर राई लगायत नगर प्रहरीको टिमसंग संक्रमितहरुको लाश व्यवस्थापनको कार्यमा खटिएको थियो ।
कोभिड नियन्त्रणलाई प्राथमिकता
नगरले चालु आर्थिक बर्षमा कोभिड नियन्त्रणको लागि ५० लाख रुपैया बजेट विनियोजन गरेको थियो । बजेट अनुसार क्वारेन्टाइन व्यवस्थापन र संक्रमितहरुको उपचार पहिलो प्राथमिकतामा राखिएको नगर जनस्वास्थ्य निरिक्षक बिपुल अधिकारीले बताए । कोरोनाको जोखिम बढेसँगै नगरले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ । नगरले आगामी बर्षको लागि स्वास्थ्य क्षेत्रमा मात्रै ६ करोड ४५ लाख रुपैया विनियोजना गरेको छ । जसमा कोभिड नियन्त्रणलाई उच्च प्राथमिकतामा राखिएको नगर प्रमुख राईले बताए ।