नयाँबजार । माईजोगमाई गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ को लागि ४८ करोड ८ लाख रुपैया भन्दा बढिको बजेट ल्याएको छ । जिल्लाको उत्तरी क्षेत्रको स्थानीय तहले ४६ करोड ८ लाख ८५ हजार ७ सय ६० को बजेट ल्याएको हो ।
१० औ गाउँसभामा उपाध्यक्ष सावित्रा भट्टराईले पेश गरेको बजेट मध्ये चालु खर्च तर्फ ८ करोड ०२ लाख १९ हजार ७ सय ६० , सशर्त अनुदान तर्फ २१ करोड ३० लाख ,विषेश अनुदान १ करोड २९ लाख र समपुरक अनुदान रु १ करोड ८३ लाख र पुंजीगत खर्च तर्फ १३ करोड ६४ लाख ६६ हजार बिनियोजन गरिएको छ।
गाउँपालिकाका अध्यक्ष जितबहादुर राईको अध्यक्षतामा भएको गाउँसभाले बजेट नीति तथा कार्यक्रम पारित गरेको छ । बजेट मा पुँजीगत खर्च तर्फ कुल विनियोजित बजेटको आर्थिक विकास तर्फ १ करोड १५ लाख (८.४२७ प्रतिशत, ) सामाजिक विकास तर्फ १ करोड ९८ लाख (१४.५०९ प्रतिशत) पूर्वाधार विकास तर्फ ३ करोड ७४ लाख ५० हजार (२७.४४३ प्रतिशत) वन, वातावरण तथा विपद व्यवस्थापन तर्फ १ करोड २५ लाख (९.१६ प्रतिशत ) संस्थागत विकास, सेवा प्रवाह र सुशासन तर्फ ३५ लाख (२.५६५ प्रतिशत ) विनियाेजना गरिएकाे छ ।
अन्य पूँजीगत खर्त तर्फ १ करोड ४१ लाख १६ हजार (१०.३४ प्रतिशत ) र अन्य वर्गीकृत नभएको समपुरक कोषमा १ करोड २० लाख (८.७९३ प्रतिशत ) बजेट खर्च हुने गरि योजना तथा कार्यक्रम तयार गरिएको छ । पुँजीगत तर्फ विनियोजन भएको कुल रकमको २ करोड ५६ लाख (१८.७६० प्रतिशत ) रकम वडागत रुपमा विभिन्न शिर्षकमा कार्यक्रमका लागि रकम विनियोजन गरिएको छ ।
गाउँपालिकाले यस बर्ष विश्वव्यपी रुपमा फैलिएको महामारी कोभिड १९ नियन्त्रण तथा सोबाट उत्पन्न हुने सक्ने समस्या समाधानका लागि बजेटलाई प्राथमिकता दिएको छ । कृषि तथा पशु विकास,सडक, खानेपानी, सिंचाई र भवन निर्माण लाई उच्च प्राथमिकतामा राख्नुका साथै वडा कार्यालय र गाउँपालिकाको केन्द्र जोड्ने मुख्य सडकहरुमा प्राथमिकताका साथ बजेट विनियोजन गरिएको अध्यक्ष जीतबहादुर राईले जानकारी दिए ।