इलाम । डच फुटबलर मेम्फिस डिपाए क्याटलान क्लब बार्सिलोनामा अनुबन्धन भएका छन् । बार्सिलोनाले २७ वर्षीय फरवार्डलाई फ्रि ट्रान्सफरमा दुई वर्षको लागि अनुबन्ध गरेको हो । फ्रान्सेली क्लब लियोनबाट व्यवसायिक फुटबल करियर अघि बढाइरहेको डिपाए लामो समय देखि क्लाटलान क्लब आउने चर्चा चलेको थियो । गत बर्षको च्याम्पियन्स लिगमा नाटकिय रुपमा लियोन सेमीफाइनल पुगेपछि बार्साले डिपाएमाथि नजर लगाएको थियो ।
बार्सिलोनाले गत सिजनको दुई ट्रान्सफर बजारमा डिपाएलाई अनुबन्ध गर्ने प्रयास गरेको थियो । तर, त्यतिबेला दुवै क्लबबीच सहमति जुट्न सकेको थिएन । लियोनले डिपाएको लागि गत समरमा २० मिलियन युरो र जनवरीमा १० मिलियन युरो माग गरेपनि बार्सिलोनाको अनुबन्धन प्रयास असफल भएको थियो । अन्तत लियोनसंगको सम्झौता सकिएपछि डच प्रशिक्षक रोनाल्ड कोम्यानले प्रशिक्षणमा डिपाए क्याटलान क्लबको हिस्सा बने अवसर पाए ।
डिपाएको बार्सा करियर आगामी ३० जुन पछि शुरु हुनेछ । डिपाएलाई क्लबमा भित्र्याउन इटालिनय क्लब युभेन्टस र लिग वान क्लब पेरिस सेन्ट जर्मेनले समेत इच्छा देखाएका थिए । तर बच्चाबाटै बार्सिलोनामा खेल्ने सपना देखेको बताउने डिपाए क्याटलान क्लबसंग जोडिए । डिपाए अहिले युरोकपमा व्यस्त छन् । उनी सम्मिलित नेदरल्यान्ड एक खेल अगावै समुह सी को विजेताको रुपमा १३ बर्ष नकाउट चरणमा प्रवेश गरेको छ ।
डच क्लब पिएसभीबाट व्यवसायिक सिनियर करियर सुरु गरेका डिपाएको लागि बार्सिलोना चौथो क्लब हो । यसअघि सन् २०१७ बाट लियोनमा रहेको उनले १७८ खेलबाट ७६ गोल गरेका छन् । गत सिजन ४० खेल खेल्दा २२ गोल र १३ असिस्ट दिएका थिए । उनी २०१७ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट लियोन पुगेका थिए । युनाइटेडमा २ बर्षको अवधिमा ५३ खेलमा ७ गोल मात्र गरेका थिए ।
डिपाएले त्यसपछि लिग वान क्लब लियोनसंग साढे ४ बर्षे सम्झौता गरे । उनको ट्रान्सफर फुटबलमा पहिलो ‘ल्यापटप ट्रान्सफर’ भनेर चिनिन्छ । डेटा इन्टेलिजेन्स कम्पनी एससिआई स्र्पोट्सद्धारा कम्प्युटरको सहयोगमा आफ्नो गन्तव्य छनौट गरेका थिए । उनको प्रारम्भिक ट्रान्सफर फी १६–१७ मिलियन तोकिएकोमा पछि २२ मिलियन पुगेको थियो ।
नेदरल्यान्डको यु–१५, यु–१६, यु–१७, यु–१९ र यु–२१ हुँदै सन् २०१३ मा सिनियर टोलीमा परेको डिपाएले देशका लागि ६६ खेलमा २७ गोल गरेका छन् । उनी सन् २०१४ को विश्वकपमा तेश्रो बनेको डच टोलीका सदस्य समेत रहेका थिए । उमेर समुहमा सन् २०११ को यु–१७ युरोकप जित्दाको डच टोलीको मुख्य सदस्य रहिसकेका छन् । नेदरल्यान्डको लिग एराडेभिजको २०१४–१५ को संस्करणमा २२ गोल गर्दै सर्वाधिक गोलकर्ता समेच चुनिएका थिए ।
२०१४–१५ को योहान क्रुफ ट्रफी, फ्रेन्च फुटबल म्याग्जिनले प्रदान गर्ने उत्कृष्ट युवा खेलाडीको अवार्ड २०१५ मा जितिसकेका छन् । २०२०–२१ को सिजनमा व्यवसायिक फुटबलहरुको राष्ट्रिय संघ (युएनएफपी) लिग वान टिम अफ दि इयर टोलीमा समेत पर्न सफल रहे ।
नयाँ सिजनको लागि बार्सिलोनाको यो चौथो अनुबन्ध हो । बार्सिलोनाले यसअघि इंग्लिस क्लब म्यानचेस्टर सिटीका अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरो, स्पेनिस सेन्टर ब्याक एरिक गार्सिया र स्पेनिस क्लब रियल बेटिसका ब्राजिली राइट ब्याक इमर्सनलाई रोयललाई अनुबन्ध गर्न सफल भएको थियो । बार्सिलोनाले अगुएरो र गार्सिया फ्रि ट्रान्सफरमा तथा इमर्सनलाई ९ मिलियन पाउन्ड खर्चिएको थियो ।