देउमाई । इलामको देउमाई नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८÷७९ को लागि ८५ करोड ५६ लाख ६९ हजार बराबरको बजेट विनियोजन गरेको छ । शनिबार बसेको नगरसभाबाट आगामी आर्थिक बर्षका लागि निति तथा कार्यक्रम र बजेटको सारंश पारित गरेको हो । नगरमा आय तर्फ केन्द्र सरकारबाट शसर्त अनुदान ३५ करोड ५ लाख ४१ हजार रुपैया प्राप्त भएको छ । समानिकरण अनुदान तर्फ १ करोड ३२ लाख ९२ हजार, बिशेष अनुदान १ करोड ८२ लाख, समपुरक अनुदान २ करोड ३७ लाख, राजस्व बाँडफाँड ९ करोड १२ लाख ७० हजार, आन्तरिक श्रोत २३ करोड १४ लाख ४२ हजार र मौज्दात तर्फ ७५ लाख ९३ हजार रुपैया रहेको छ । नगरले चालु तर्फ ४५ करोड ५० लाख ७ हजार र पुँजीगत तर्फ ४० करोड ६ लाख ६२ हजार खर्च गर्ने गरी बजेटको तयारी गरेको हो ।
यस्तो छ क्षेत्रगत विनियोजन
देउमाईले क्षेत्रगत रुपमा पुर्वाधार विकासको लागि २३ करोड ५८ लाख ५ हजार, समाजिक विकासका क्षेत्रमा ३४ करोड ६९ लाख ६७ हजार, आर्थिक विकासमा ११ करोड ६ लाख ९६ हजार र कार्यालय संचालन प्रशासनिक तथा संस्थागत विकास सेवा प्रवाह र सुशासनको क्षेत्रमा १६ करोड २१ लाख ७१ हजार खर्च हुने प्रक्षेपण गरेको छ ।
यस्ता हुनेछन् मुख्य कार्यक्रम
९ वटा वडा रहेको देउमाई नगरपालिकामा प्रत्येक वडाका लागि ५० लाख रुपैया बजेट विनियोजना गरिएको छ । स्वास्थ्य क्षेत्रको कार्यक्रम संचालन गर्नका लागि २ करोड ३९ लाख ५० हजार, शिक्षा तथा खेलकुद विकासको लागि ३ करोड ९२ लाख ७० हजार, कृषि तथा पशुपंक्षी विकासको क्षेत्रमा ८४ लाख २५ हजार रुपैया पारित भएको जनाइएको छ ।
नगरले आगामी आर्थिक बर्षको बजेटबाट स्वास्थ्य सेवा सुधारको निम्ति एम्बुलेन्स खरिद तथा प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारेका लागि आवश्यक उपकरण खरिद समेत गर्ने भएको छ । नगरले कोरोना संक्रमणबाट थप उपचारका लागि अत्याधुनिक अस्पतालसम्म जानको लागि संक्रमितहरुलाई यातायात खर्च सहयोग प्रदान गर्ने भएको छ । साथै संक्रमणबाट कोहि पनि नगरबासीको मृत्यु भएका परिवारलाई उचित राहतको व्यवस्था गर्ने निर्णय गरेको छ । नेपाल सरकारले तोके बमोजिम बाल विकास केन्द्र सहजकर्ता तथा विद्यालय कर्मचारीलाई न्युनतम मासिक १५ हजार रुपैया तलब व्यवस्था गर्ने भएको छ । मुटुको भल्भ फेरेका विरामी र मृगौला प्रत्यारोपण गरेकाहरुलाई अघिल्ला बर्षहरुबाट दिँदै आएको मासिक ५ हजार रुपैया निर्वाह भत्तालाई आगामी बर्ष पनि निरन्तरता दिने भएको छ । देउमाई नगरपालिकाले मृत्यु दाहसंस्कार, बालपोषण भत्तालाई निरन्ता दिने भएको छ । यसअघि दिँद आएको एकल पुरुष तथा जेष्ठ नागरिकलाई पोशक भत्ता निरन्तरता दिएको छ । ४५ बर्ष नाघेका अविवाहित महिलालाई मासिक १ हजार भत्ता उपलब्ध गराइने भएको छ ।

पहेलो कार्ड प्राप्त गरेका फरक क्षमता भएकाहरुलाई मासिक ५ सय भत्ता दिइने भएको छ । नगरले नागरिक आवास कार्यक्रम अन्र्तगत ५८७ घरधुरीमा फुसको छानो हटाउने कार्य गर्ने भएको छ । साना सिचाई अन्तर्गत ५ वटा पक्की कुलो निर्माणको लागि ९ करोड ४० लाख रुपैया बजेट व्यवस्था गरेको छ । नगरले आगामी आर्थिक बर्षमा प्रशासनिक भवन निर्माणको कार्यलाई समेत अघि बढाउने भएको छ । कृषि तथा पशु बजार केन्द्र र बधशाला निर्माण कार्य सम्पन्न गर्नेछ । एक घर एक धारा तथा उज्यालो देउमाई कार्यक्रम सम्पन्न गर्ने भएको छ । पर्यटकहरुको आर्कषणको केन्द्र कुईभीर, पानीटार तथा सिद्धिथुम्कामा पर्यटन पुर्वाधार निर्माण कार्य सम्पन्न गर्ने भएको छ । आगामी आर्थिक बर्षको बजेटबाट वडा नं ७ मा रहेको खान्द्रुङ माविमा विज्ञान संकाय संचालन गर्ने भएको छ । नगरपालिकाको सेवा प्रवाहलाई डिजिटाइजेसन प्रविधि मार्फत संचालन गर्नका साथै आधारभुत र माध्यमिक विद्यालयहरुमा इन्टनरेट र इ–हाजिरी जडानको कार्य सम्पन्न गरिने भएको छ । अन्तरपालिका सहकार्यका लागि बजेट व्यवस्थापन गरिएको छ ।