Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगरपालिकामा ३ लाख बिरुवा रोप्ने अभियानको थालनी

सूर्योदय नगरपालिकामा ३ लाख बिरुवा रोप्ने अभियानको थालनी

  • सन्देश सम्वाददाता
  • मंगलबार, असार १ २०७८


सूर्योदय नगरपालिकामा ३ लाख बिरुवा रोप्ने अभियानको थालनी

फिक्कल । पर्यटकीय नगरी सूर्योदयमा हरियाली नगरको परिकल्पना सहित आजबाट ३ लाख बिरुवा रोप्ने अभियानको शुरुवात भएको छ । नगरलाई हरियाली राख्न र वन क्षेत्रको वृद्धि गर्ने उद्देश्यले बृक्षारोपण अभियान थालिएको हो । मरूभूमीकरण र भुक्षय रोक्न तथा जैविक विविधताको संरक्षण गर्न साथै पानीको मुहान बचाउन र वातावरणलाई दिगो रूपमा संरक्षण गरी स्वस्थ्य जीवनका लागि नगरका पर्यटकीय स्थलहरु अन्तु , थुम्केडाँडा र पशुपतिनगरबाट बिरुवा रोपण अघि बढाएको जनाइएको छ ।

चाप, गुराँस , पिप्ली लगायतका जातका बिरुवा र बिभिन्न जातका फुलहरु रोप्न थालिएको छ । गत बर्ष गुराँस , चाप लगायका ५० हजार बिरुवा नगर क्षेत्रमा लगाएकोमा वृक्षारोपनको नतिजा उत्साहजनक भएपछि यस बर्ष नगरले ३ लाख बिरुवा लगाउने योजना बनाएको नगर प्रमुख रणबहादुर राईले जानकारी दिए । नगरले गतबर्ष सूर्योदय नगरपालिका १ को पर्यटकीय स्थल थुम्केमा बृक्षारोपण गरेको थियो भने नगर क्षेत्रका सामुदायिक तथा निजी बिद्यालयमा समेत बृक्षारोपण अभियान संचालन गरिएको थियो ।

नगरले १४ वटै वडामा आजबाट बृक्षारोपण अभियान संचालन गरेको नगर प्रमुख राईले जानकारी दिए । नगर प्रमुख राईले उक्त अभियानमा सहभागी हुँन विद्यालयका शिक्षक, सामुदायिक निजी वन उपभोक्ता समिति , टोल विकास संस्था, सामुदायिक वन उपभोक्ता महासघं , इलाका वन कार्यलयका कर्मचारी , सघं–संस्था तथा विद्यार्थी, क्लव, युवा र नगरवासीहरूमा अनुरोध गरेका छन् ।

नगरको १ नम्बर वडामा पर्ने गोर्खेको थुम्केडाँडामा नगर प्रमुख रणबहादुर राईले अभियानको थालनी गरे । त्यस्तै पर्यटकीय स्थल अन्तुमा नगर उप प्रमुख दुर्गादेबी भट्टराईले अभियानको थालनी गरिन् । यस्तै पशुपतिनगरमा प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेलले बिरुवा रोप्ने अभियानको शुरुवात गरे ।

अन्तुमा सूर्योदय नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष प्रेम बहादुर तामाङको अध्यक्षता तथा नगर उप प्रमुख दुर्गादेबी भट्टराईको प्रमुख आतिथ्तामा भएको उद्घाटन कार्यक्रममा स्थानीयबासी, शसस्त्र प्रहरी लगायतको सहभागीता रहेको थियो । बृक्षारोपण कार्यक्रमको उद्घाटन गर्दै नगर उपप्रमुख भट्टराईले बन जंगल जोगाउन सके वातावरण जोगिने बताइन् ।

उनले सबै नगरबासीलाई अभियानमा सहभागी हुन आग्रह गर्दै बिरुवा रोप्ने मात्र नभई रोपिएका बिरुवाको संरक्षण गर्न समेत स्थानीय नागरिक र वडा कार्यलय सक्रिय बन्नु पर्नेमा जोड दिइन् । भट्टराईले भनिन् ‘ हरीयाली नगरको परिकल्पना सहित थालिएको अभियानले सार्थक्ता पाउछ, बनजंगल रहयो भने हामी स्वच्छ भएर बाच्ने छौ।’

नगरपालिकाले तेह्रथुमबाट प्राप्त ३५ प्रजातिको लालीगुराँस रोप्ने जनाईएको छ । नगरलाई सन्दकपुर गाउँपालिकाले समेत बिरुवा उपलब्ध गराएको छ । नगरले बिरुवा उपलब्ध गराएकोमा सन्दकपुर गाउँपालिकालाई धन्यवाद समेत ज्ञापन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार