Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

के हो ‘नेपाल भेरियन्ट’को यथार्थ ?

के हो ‘नेपाल भेरियन्ट’को यथार्थ ?

  • प्रेम लामा
  • शुक्रबार, जेष्ठ २१ २०७८


के हो ‘नेपाल भेरियन्ट’को यथार्थ ?

काठमाण्डाै ।  बेलायती अखबार ‘दी डेलीमेल’ले नेपालमा कोरोनाको नयाँ भेरियन्ट फेला परेका दावी गरेपछि नयाँ तरंग ल्याएको छ । ट्याबलोइड दैनिकले बिहीबारको अंकमा ‘नेपाली भेरियन्ट’को कोरोनाल बेलायती नागरिकको छुट्टीमा चुनौतीपूर्ण’ भएको कभर स्टोरी छापेको थियो । नेपालमा बी १.६१७ भेरियेन्ट फैलिएको भए पनि वैज्ञानिकहरुले नयाँ भेरियन्ट पत्ता लगाएको समाचारमा दावी गरिएको छ ।

नयाँ भेरियन्ट भेटिएको दावी नेपालका स्वास्थ्य अधिकारीहरुलाई समेत आश्चर्यको विषय बन्यो । ‘नेपालमा अल्फा र डेल्टा भेरियन्ट भेटिएका छन् । तर एक्कासी नयाँ भेरियन्ट भेटिएको कुराले हामी आश्चर्य चकित भएका छौं’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेल भन्छन् । ईपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख समेत रहेका डा। पौडेल इन्टरनेशनल हेल्थ रेगुलेसनका फोकल पर्सन पनि हुन् । नयाँ भेरियन्ट भेटिँदा उनलाई खबर हुनुपर्ने हो । तर एकै पटक सञ्चारमाध्यममा नेपाली भेरियल्ट भनेर आएपछि स्वास्थ्य मन्त्रालयले बेलायतको इन्टरनेशनल हेल्थ रेगुलेसनसँग यथार्थ जानकारी गराउन आग्रह गर्दै इमेल लेखेको छ ।

बेलायतबाट नयाँ अपडेट नआउँदासम्म नयाँ भेरियन्ट भेटिएको कुनै प्रमाण हालसम्म छैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। पौडेल भन्छन, ‘यहाँबाट गएकाहरुमा (बी १.६१७.२) डेल्टा भेरियन्ट भेटिएको खबर पाएका छौं । नयाँ भेरियन्टबारे कुनै अफिसियल जानकारी छैन ।’

उनका अनुसार नेपालमा कुन भेरियन्ट फैलिएको छ भनेर पत्ता लगाउन नियमित जिन सिक्वेन्सिङ भइरहेका छन् । र, नयाँ भेरियन्ट भेटिएको छैन । नयाँ भेरियन्ट भेटिएको दाबी आएपछि विश्व स्वास्थ्य संगठनले पनि नेपालमा सार्स–कोभ–२ को नयाँ भेरियन्ट फेला परेको जानकारी नभएको बताएको छ । साथै स्वास्थ्य मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरेर नेपालमा कुनै पनि नयाँ भेरियन्ट फेला नपरेको भन्दै भ्रामक समाचार सम्प्रेषण नगर्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुलाई आग्रह गरेको छ ।विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भेरियन्टअफ कन्सर्नभित्र परेका र विभिन्न देशमा फैलिएको नयाँ भेरियन्टलाई अल्फा, डेल्टा, गामा, कप्पा नाम दिएको छ । नेपालमा फैलिएको कोभिड–१९ भेरियन्ट डेल्टा (बी.१. ६१७.२) होे, जुन पहिलो पटक भारतमा देखिएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी निर्देशक डा। रुना झाले नयाँ भेरियन्ट भेटिएको दाबीमा कुनै सत्यता नभएको बताइन् । मन्त्रालयले आधिकारिक धारणा सार्वजनिक गरिसकेकाले थप बोल्नु नपर्ने उनले बताइन् । जनस्वास्थ्यविद्हरुका अनुसार कोरोना भाइरसको स्वरुपमा परिवर्तन हुन सक्छ । त्यसैले नेपालमा नयाँ भेरियन्ट भेटिएको दाबीमा आश्चार्य मान्नु पर्दैन । बरु यो आधिकारिक हो कि होइन भनेर पुष्टि गर्नेतिर लाग्नुपर्छ ।
जिन बैंकमा स्याम्पल राखेर जिन सिक्वेन्सिङ गर्दा अहिलेसम्म पुष्टि भइसकेका भेरियन्टसँग म्याच गर्छ कि गर्दैन हेनुपर्छ ।यदि म्याच भएन भने मात्र नयाँ भेरियन्ट रहेछ भन्न सकिन्छ – डा। प्रभात अधिकारी
भारोलोजिस्ट डा वासुदेव पाण्डे नेपालबाट गएका व्यक्तिहरुमा नयाँ भेरियन्ट भेटिएको हो भने उनीहरुको प्रतिनिधित्व गर्ने व्यक्तिको नमुना लिएर जिन सिक्वन्सिङ गरेर हेर्नुपर्ने बताउँछन् । ती व्यक्तिहरु नेपालको कुन ठाउँबाट गएका हुन् रु उनीहरुको परिवार र क्लोज कन्ट्याकमा परेका व्यक्तिहरु नेपालमा होलान् । उनीहरुमा पनि संक्रमण देखिएको हुनसक्छ,’ डा। पाण्डे भन्छन्,

‘ती व्यक्तिहरुको जिन सिक्वेन्सिङ गर्दा नयाँ भेरियन्टमा मिल्न गए त्यसको उत्पत्ति नेपाल हो भनेर भन्न सकिन्छ । विना आधार नयाँ भेरियन्ट भेटियो भनेर भन्न सकिँदैन ।’ नेपालबाट गएका व्यक्तिमा नयाँ भेरियन्ट भेटिएको भए बेलायतको इन्टरनेशनल हेल्थ रेगुलेशनलले नेपाल सरकारलाई जानकारी गर्ने समेत उनले बताए । संक्रामक रोग विशेषज्ञ डा। प्रभात अधिकारी पनि डब्ल्यूएचओले मात्रै नयाँ भेरियन्टबारे पुष्टि गर्न सक्ने बताउँछन् । नेपालबाट गएका व्यक्तिमा सातदेखि पाँचदिनभित्र परीक्षण गर्दा संक्रमण देखियो भने नेपालबाटै नै संक्रमण भएर गएको भन्न सकिने हुन्छ ।

तर यसको आधिकारिक पुष्टि भने डब्ल्यूएचओले मात्रै गर्न सक्ने उनको तर्क छ । ‘जिन बैंकमा स्याम्पल राखेर जिन सिक्वेन्सिङ गर्दा अहिलेसम्म पुष्टि भइसकेका भेरियन्टसँग म्याच गर्छ कि गर्दैन हेनुपर्छ । यदि म्याच भएन भने नयाँ भेरियन्ट रहेछ भन्न सकिन्छ’ उनले भने ।

संक्रामक रोग विशेषज्ञ डा जनक कोइराला पनि नयाँ भेरियन्टबारे आधिकारिक पुष्टि हुनुपर्ने बताउँछन् । नयाँ भेरियन्टको स्रोत नेपाल नै हो भन्ने पुष्टि भए वैज्ञानिक अध्ययनबाट जनस्वास्थ्यमा कति असर पार्छ भन्ने हेनुपर्ने उनले बताए । ‘परीक्षणका क्रममा सयौं भेरियन्टहरु देखा परिसकेका छन् । सबै भेरियन्टले जनस्वास्थ्यमा ठूलो हानी पुर्‍याउँछ भन्ने छैन,’ डा कोइरालाले भने, ‘त्यसैले डराइहाल्नु पर्ने स्थिति छैन ।’ अनलाइनखबरबाट साभार

प्रतिक्रिया
सम्बन्धित समाचार