Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माइबेनी जलविद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै

माइबेनी जलविद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै

  • सन्देश सम्वाददाता
  • शनिबार, जेष्ठ ८ २०७८


माइबेनी जलविद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै

इलाम । इलाममा निर्माण सम्पन्न भएको माइबेनी जलविद्युत् आयोजना आइतबारबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ। ९.५१ मेगावाट क्षमताको आयोजनामा जडान भएका उपकरणको परीक्षण ९ड्राइ टेष्ट० सकिएपछि संरचनामा पानी भरेर परीक्षण भइरहेको आयोजना प्रमुख राजेन्द्रराज भारतीले बताए।

इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाको सिमाना भएर बग्ने माई खोलामा निर्माण सम्पन्न भएको आयोजना नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीको निर्देशनअनुसार राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने छ। विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ महामारीका कारण प्राधिकरणका प्राविधिक आयोजनास्थलमा आउन नसक्ने भएपछि भर्चुअल (विद्युतीय) माध्यमबाट प्राप्त हुने निर्देशनका आधारमा परीक्षण उत्पादन सुरु गर्ने तयारी गरिएको भारतीले बताए।

आयोजनाबाट गत फागुनदेखि नै विद्युत उत्पादन गर्ने तालिका थियो। तर, निर्माण पूरा हुन समय लागेकाले लक्ष्यभन्दा ३ महिना ढिलो गरी विद्युत उत्पादन सुरु गर्न लागिएको हो। आयोजनाले परीक्षण चरण ९१५ दिन० मा उत्पादन भएको प्राधिकरणलाई निःशुल्क उपलब्ध गराउने छ। परीक्षणको चरण पूरा भएपछि मात्रै व्यापारिक उत्पादन सुरु हुने जनाइएको छ।

आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले वर्षामा चार रुपैयाँ ८० पैसा र हिउँदमा आठ रुपैयाँ ८० पैसामा खरीद गर्ने सम्झौता भइसकेको छ। आयोजनाबाट उत्पादन भएको विद्युत् ४ किलोमिटर लामो दुरीमा रहेको काबेली कोरिडोरको १३२/३३ केभी गोदक सबस्टेसनमा जोडिनेछ। आयोजना सम्पन्न गर्न २ अर्ब रुपैयाँ खर्च भएको छ।

आयोजनामा एसबिआई र सिद्वार्थ बैंकले कूल लागतको ७५ प्रतिशत ऋण लगानी गरेका छन्। बाँकी २५ प्रतिशत स्वपुँजी लगानी छ। आयोजना सञ्चालनमा आउँदो वर्ष ५३।२८ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ। यो आयोजना ऊर्जा डेभलपर्स प्रालिको सहायक सामलिङ्ग पावर कम्पनीले निर्माण गरेको हो। सरकारले ८ गते बसेको मन्त्रिपरिषद् बैठकमा जलविद्युत् आयोजनाका लागि आवश्यक पर्ने राष्ट्रिय वन क्षेत्र ४ दशमलव ७७ हेक्टर जमिन ३० वर्षलाई लिजमा उपलब्ध गराउने निर्णय गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार