इलाम । इलाम अस्पतालमा दुई वटा एचडियु/आइसीयु (हाइडिफेन्सी युनिट/इन्टेन्सिभ केयर युनिट) को दुई बेडसहितको कोरोनाको उपचार सेवा शुरु भएको छ । अस्पतालले आजदेखि एचडियु सञ्चालन गरेको हो । हाल आइसोलेशन रहेको जिल्ला समन्वय समितिको नयाँ भवनमा अस्पताल सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्काले जानकारी दिए ।
एचडियु र आइसियूसहित ४२ बेडको कोरोना अस्पताल शुरु गरिएको पनि उनले बताए । एचडियु सञ्चालन र अन्य सेवाका लागि जनशक्ति अभाव रहेको छ । तत्कालका लागि मौजुदा जनशक्तिले सञ्चालन गर्दै गर्ने र थप जनशक्तिका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग अनुरोध गरिएको इलाम अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले जानकारी दिए । यसरी नै कोभिड अस्पताललाई आवश्यक पर्ने अक्सिजन लगायतका इक्यूपमेन्ट टेकुस्थित स्वास्थ्य सेवा विभागसँग माग गरिएको पनि उनले बताए ।

अस्पतालले अक्सिजन सिलिण्डर (ठूलो) १०० थान, अक्सिजन कन्सन्ट्रेटर १० थान, प्यासेन्ट मोनिटर १० थान, पल्स अक्सिमिटर २० थान, एम्बु ब्याग (एडल्ट) १० थान, एन्टिजेन टेस्ट किट ५०० थान, भेन्टर मास्क १० थान, पीपीई सेट १००० थान र मास्क, पञ्जा, सेनिटाइजरको माग गरेको छ ।

इलाममा पछिल्लो समय संक्रमणसँगै मृत्यूदर समेत बढ्दै गएपछि अस्पतालले कोरोना संक्रमितको उपचारका लागि थप व्यवस्थापन गरेको हो । इलाममा हालसम्म ३ सय ६२ जना संक्रमित भएका छन् भने १३ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।
