इलाम । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको प्रवेशसंगै नेपाली राष्ट्रिय टोलीमा व्यापक परिर्वतन गरिएको छ । हाल विश्वकप छनौट र इराकविरुद्धको मैत्रीपुर्ण खेलका लागि अब्दुल्लाहले केही पुराना खेलाडीलाई ३२ सदस्यीय टोलीमा हटाएर नयाँ खेलाडीलाई इन्ट्री दिएका छन् । यसअघि राष्ट्रिय टोलीबाट खेलिसकेका इलामका छिरिङ गुरुङ प्रशिक्षक अब्दुल्लाहको नजरमा पर्न सकेनन् ।
प्रशिक्षक नियुक्त भएको पहिलो दिनबाट नै आफ्नो टिममा पुर्ण रुपमा फिट खेलाडीले मात्र स्थान पाउने र सबैले आफ्नो पोजिनसको लागि लड्नुपर्ने बताएको अब्दुल्लाहले अहिले आएर पहिलो चरणमा यसअघि बोलाइएका ३२ खेलाडीमा पनि परिवर्तन गरेका छन ।
नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाईज फुटबल नेपाल सुपर लिगमा खेलाडीहरुको प्रर्दशनका आधार प्रशिक्षकको नजरमा डिफेन्डर छिरिङ नपरेका हुन् । राष्ट्रिय टोलीको प्रारम्भिक छनौटमा इलामका विवेक बस्नेतले स्थान बनाए । नेपालको विभिन्न उमेर समुहबाट प्रतिनिधित्व गरिसकेका आर्मीका विङ्गरलाई अब्दुल्लाहले मनपराए । यदपी धनगढी एफसीमा आवद्ध भएका विवेक इन्जुरीका कारण मैदान उत्र्न पाएनन् ।
अघिल्लो महिना अब्दुल्लाहले बोलाएको ३२ सदस्यीय टोलीमा समेत विवेकको नाम थियो । नेपाली टोलीमा स्थान बनाइसकेका मिडफिल्डर दर्शन गुरुङ र नवयुग श्रेष्ठलाई भने अब्दुल्लाहले निरन्तरता दिए । दर्शनले एनएसएलको समुह चरणकाे अन्तिम खेलमा धनगढीका लागि निर्णायक गोल गर्दै प्लेअफमा पुग्न मद्धत गरेका थिए ।
नवयुग पोखरा थन्डर्सको मार्की खेलाडी एवम कप्तान रहेका थिए । तर उनको टिम पाँचौ स्थानमा रहँदै प्लेअफ पुग्न असफल रहयो । एनएसएल च्याम्पियन टोलीका कप्तान एवं गोलरक्षक विकेश कुथुसँगै तेज तामाङ, संजोक राई, छिरिङ गुरुङ र त्रिदेव गुरुङलाई मुख्य प्रशिक्षकले टोलीबाट हटाएका छन। प्रशिक्षकले एनएसएल च्याम्पियन टिम काठमाडौं रेजर्सका कुनैपनि खेलाडीलाइ क्याम्पमा राखेका छैनन् ।
पाँच खेलाडी पहिलो पटक बन्द प्रशिक्षणमा राखिएको छ । जसमा कमल थापा, सुरज जिउ ठकुरी, आयुष घलानबाहेक गौतम श्रेष्ठ, र मनिष डाँगीलाइ पहिलो पटक बन्द प्रशिक्षणमा स्थान दिइएको छ । चोटका कारण सुजल श्रेष्ठले नखेल्ने यसअघि नै पक्का थियो भने अजित भण्डारी पनि टिममा छैनन् ।
राष्ट्रिय टोलीको ३२ सदस्यीय बन्द प्रशिक्षण
गोलरक्षक : किरण चेम्जोङ, दीप कार्की, विशाल सुनार
डिफेन्डर : रोहित चन्द, निशान खड्का, अमित तामाङ, अनन्त तामाङ, रजिन धिमाल, दीनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास
मिडफिल्डर : सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, एरिक विष्ट, विशाल राई, मनिष डाँगी, कमल थापा, नितिन थापा, पुजन उपरकोटी, आयुष घलान, विवेक बस्नेत, रवी पासवान
फरवार्ड : भरत खवास, दर्शन गुरुङ, नवयुग श्रेष्ठ, अभिषेक रिजाल, अन्जन विष्ट, आशिष लामा