Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

मेचीको कोभिड अस्पतालमा छैन शय्या अभाव

मेचीको कोभिड अस्पतालमा छैन शय्या अभाव

  • सन्देश सम्वाददाता
  • बिहिबार, बैशाख २३ २०७८


मेचीको कोभिड अस्पतालमा छैन शय्या अभाव

झापा । झापामा कोरोना सङ्क्रमित दिनहुँ बढिरहेका छन् । तर अधिकांश सङ्क्रमित होम आइसोलेशनमा बसेका कारण सरकारी कोभिड अस्पतालमा उपचारका लागि भर्ना हुने बिरामीको खासै चाप छैन ।भद्रपुरको मेची प्रादेशिक अस्पतालमा ७५ शय्याको छुट्टै कोभिड उपचार केन्द्र सञ्चालन भइरहेको छ । जहाँ मङ्गलबारसम्म २२ जना कोरोना सङ्क्रमित उपचारका लागि भर्ना भएका छन् ।

भर्ना भएकामध्ये ११ जनालाई अक्सिजन सपोर्ट दिनुपरेको छ ।अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलले सङ्क्रमितको सङ्ख्या बढिरहेको आधारमा भविष्यमा केही भन्न नसकिए तापनि हाल उपचारका लागि शय्याको कुनै अभाव नरहेको बताए । मेची अस्पतालमा कोभिडको निःशुल्क उपचार भइरहेको र पिसिआर परीक्षण सुविधासमेत उपलब्ध रहेको छ ।

एक हजार जनाको दैनिक कोरोना भाइरस जाँच गर्ने क्षमता भएको पिसिआर प्रयोगशालामा हाल दिनहुँ २०० भन्दा कम मानिसले सुविधा लिइरहेका छन् ।अस्पतालमा अत्याधुनिक सुविधायुक्त एउटा भेन्टिलेटर, तीनवटा आइसीयु र २५ वटा एचडियु कक्ष रहेको अध्यक्ष पोर्तेलले जानकारी दिए ।

हाल ७५ शय्या छुट्टै कोभिड उपचार केन्द्रमा कोरोना सङ्क्रमितको उपचार भइरहेको जनाउँदै उनले आवश्यकताअनुसार २५ श्ययाको एचडियुसमेत कोभिडका बिरामीको उपचारमा लगाइने बताए ।अस्पतालको पुरानो भवनमा एचडियु, आइसियु र पिसिआर प्रयोगशाला राखिएको छ । नजीकै निर्माणाधीन भवनमा कोभिड उपचार केन्द्र सञ्चालित छ ।

कोभिड उपचार केन्द्रमा अक्सिजन सपोर्ट र चिकित्सक तथा नर्सिङ सेवाको व्यवस्था रहेको छ । अस्पतालमा वैशाख महिनाभित्र सञ्चालनमा ल्याउने गरी प्रदेश नं १ सरकारको रु ७५ लाखको लगानीमा अक्सिजन प्लान्ट निर्माणाधीन छ ।अस्पतालका लेखा अधिकृत मनोज पोखरेलका अनुसार दैनिक ३५ वटा सिलिन्डर भर्न सक्ने क्षमताको आफ्नै अक्सिजन प्लान्ट बनाउन लागिएको हो । ठूला र साना गरी ४७ वटा अक्सिजन सिलिन्डर हाल अस्पतालमा रहेको र दैनिक २० देखि २५ वटासम्म खपत हुँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार