माङसेबुङ । इलामको माङसेबुङस्थित ईभाङ-चतुरे सडकको कालोपत्रेको काम तीब्र बनाइएको छ । सडकमा शुक्रबारदेखि अलकत्रका प्राईमकोट बिछ्याउने काम सुरु भएको छ । माङसेबुङ-२ को तीखे गोलाईबाट माङसेबुङ-३ को चतुरे मोडस्थित दमक चिसापानी सडकसँग जोड्ने १३ दशमलव २७९ किलोमिटर सडकको कालोपत्र लगाउनु अघिको प्राईमकोट विछ्याउने काम सुरु भएको हो ।
माङसेबुङ-३ चतुरे मोडबाट प्राइमकोट विछ्याउने काम सुरु कन्ट्याक्ट मेनेजर योगेन्द्र कार्कीले बताए । प्राइमकोट विछ्याउने काम सुरु भएपछि चाँडै कालोपत्र हुने विश्वास स्थानीयमा बढेको छ । गतवर्ष यहि बेला लकडाउनका कारण स्थगित भएको सो सडक लकडाउनपछि पुन : तीब्र गतिमा अगाडि बढाइएको थियो ।
अहिले जम्मा कामको ८० प्रतिशत काम सम्पन्न भइसकेको र मनसुन सुरु हुनु अगावै कालोपत्रे लगाईसक्ने लक्ष्य रहेको सडकका ईन्जिनियर राजेन्द्रप्रसाद यादवले बताए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग ९डोलिडार० को ग्रामीण सडक सञ्जाल सुधार आयोजना मार्फत ३१ करोड रुपैयाँको लगानीमा काम भईरहेको छ ।
निर्माण कम्पनीले ५ वर्षको अवधिमा उक्त सडकको कालोपत्रे गर्ने कामको चरणगत रुपमा कार्य सम्पन्न गर्नुपर्ने शर्त रहेको छ । ५ वर्षमध्ये २ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने हुन्छ । निर्माणका बखत भएका कमी कमजोरी सच्याएर सुधार गर्नका लागि अर्को १ वर्ष दिइएको छ । बाँकी २ वर्ष कार्य सम्पादनका आधारमा मर्मतसम्भार गर्नुपर्ने समय कम्पनीलाई दिइएको छ ।
आयोजनाको लागि नेपाल सरकारको २० प्रतिशत र एशियाली विकास बैङ्कको ऋण ८० प्रतिशत खर्च हुने भएको छ । गत २५ मङ्सिर २०७५ मा आयोजना कार्यान्वयनका लागि कालिका जेभी कम्पनी र डोलीडारबीच सम्झौता भएको थियो । जम्मा तीन दशमलव ७५ मिटर चौडाइको कालोपत्रे र नाली बाहेक ५ दशमलव २५ मिटर सबवेससहित नाली निर्माण हुनेछ ।
जिल्लामै पहिलोपटक ग्रामीण भेगमा कालोपत्र सुरु भएपछि त्यहाँका बासिन्दा उत्साहित भएका छन् । सो सडक कालोपत्रे भएपछि माङसेबुङ क्षेत्रको विकासमा महत्वपूर्ण फड्को मार्ने अपेक्षा सर्वसाधारणको छ । नयाँ बुलन्दबाट साभार