माई । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत इलाम माई नगरपालिकाको वडा नं ४ शुक्रबारेमा संचालित १० दिने बाख्रापालन तथा खोर ब्यबस्थापन तालिम सम्पन्न भएको छ । वडाध्यक्ष सुर्य प्रसाद दुलालको अध्यक्षतामा भएको समापन कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख दिपककुमार थेबे र बिशेष अतिथि उपप्रमुख बिष्णुमाया रिमाल रहेकी थिइन् ।
कार्यक्रममा बोल्दै नगर प्रमुख थेबेले कृषि क्षेत्रलाई नगरले उच्च प्राथमिकतामा राखेको बताए । उनले कृषि क्षेत्रबाट नै नगरको समृद्धि सम्भव रहने बताए । उपप्रमुख रिमालले तालिम पश्चात फर्म दर्ता गरी व्यवसायिक बन्न चाहनेहरुको लागि अनुदान र सहयोग प्रदान गर्न नगर तयार रहेको बताइन् ।

अतिथि रहेका प्रमुख प्रशासकिय अधिकृत बिष्णुकुमार थेगुवाले तालिमबाट सिकेको कुरा व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गरे । तालिमका सहभागी बिष्णु पौडेल र रिता खत्रीले तालिम अत्यन्तै उपयोगी र प्रभावकारी भएको बताए । तालिममा वडाका विभिन्न क्षेत्रका किसानहरुको सहभागिता रहेको प्रशासकिय अधिकृत नविन पौडेलले जानकारी दिए ।