Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

अविवाहित एकल महिला र अपाङ्गता भएकाहरुको बिमामा सूर्योदय नगरको सहयोग

अविवाहित एकल महिला र अपाङ्गता भएकाहरुको बिमामा सूर्योदय नगरको सहयोग

  • सन्देश सम्वाददाता
  • बिहिबार, चैत्र १९ २०७७


अविवाहित एकल महिला र अपाङ्गता भएकाहरुको बिमामा सूर्योदय नगरको सहयोग

फिक्कल । इलामको सूर्योदय नगरपालिकाले अविवाहित एकल महिला तथा अपाङ्गता भएकाहरुको स्वास्थ्य बिमामा सहयोग गरिदिएको छ । नगर क्षेत्रभित्र रहेका ५० बर्षमाथिका अविवाहित एकल महिला तथा अपाङ्गताहरुको परिवारको स्वास्थ्य बिमा बापतको २ हजार रुपैया व्यहोरिदिएको नगर प्रमुख रणबहादुर राईले बताए ।

आज एक कार्यक्रमका बिच नगर प्रमुख राईले स्वास्थ्य बिमा कार्ड सम्बन्धित परिवारलाई हस्तान्तरण गरेका छन् । महिला बालबालिका तथा समाज कल्याण शाखाको आयोजनामा ७४ जना अविवाहितको परिवारका १९१ जना र अपाङ्गता भएकाहरुको ३२२ जनाको परिवारका १३७४ जनाको बिमा कार्ड हस्तान्तरण गरिएको हो ।

 

महिला शाखा प्रमुख तारा शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख रणबहादु राईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख राईले अबको केही समयभित्रमा स्वास्थ्य सेवाका लागि नगर बाहिर जानुपर्ने बाध्यता अन्त्य हुने बताए ।

उनले नगर क्षेत्रभित्र २५ बेडको अस्पताल निर्माणको लागि टेन्डर प्रक्रियामा गएको कारण उपचारको लागि झापा जानुपर्ने बाध्यता केही हदसम्म हट्ने बताए । स्वास्थ्य बिमा हरेक घरदैलोमा पुग्नुपर्ने बताउँदै राईले सिमित बजेट भएको कारण लक्षित वर्गलाई पहिलो प्राथमिकतामा राखेर स्वास्थ्य बिमा गर्न लागि सहयोग गरिएको बताए ।

उनले पहिलो प्राथमिकतामा एकल विधवा महिला र क्रमश आर्थिक अवस्था कमजोर भएका दलित परिवार, निलो पहेलो र सेतो अपाङ्गता परिचपत्र भएका अपाङ्गहरुलाई साझेदारीमा बिमा गराइएको बताए । उनले स्वास्थ्यको क्षेत्रमा नगर संवेदनशिल भएको बताउँदै राईले हाल १४ मध्ये १२ वडामा स्वास्थ्य चौकी रहेको बताए ।

उनले बाँकी रहेको २ वटा वडामा समेत चाडै नै निर्माण गरेर संचालनमा ल्याउने बताए । कार्यक्रममा बोल्दै वडा नं १४ का वडाध्यक्ष नरबहादुर सुवेदीले स्वास्थ्यको पहुँचमा सबै पुगुन भनेर स्वास्थ्य बिमा गराउनका लागि जनप्रतिनिधिहरु घरदैलो गरिरहेको बताए ।

उनले वडाबाट विपन्नहरुको बिमा पहुँचका लागि सहयोग गर्न तयार रहेको बताए । कार्यक्रममा बोल्दै करुणा फाउन्डेसनका इलाम संयोजक अजित योञ्जनले अपाङ्गता भएकाहरुको बिमामा नगरले सहयोग गर्नु सराहनिय भएको बताए ।

स्वास्थ्य बिमाबाट लाभान्वित भएका योगमाया दाहाल र हरिमाया राईले नगरले ल्याएको योजनाबाट आफुहरु जस्ता लक्षित समुहका परिवाहरुलाई एकदम राहत मिलेको बताए । कार्यक्रममा स्वास्थ्य बिमा कार्डको प्रयोगको बारेमा प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलका फाजुङ भोटेले जानकारी गराएका थिए । कार्यक्रममा १४ वटै वडाका बासिन्दाहरु बिमा कार्ड लिन नगरपालिकामा उपस्थित भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार