Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

२८ मार्च २००९ : विराजको त्यो एक मात्र अन्तर्राष्ट्रिय गोल

२८ मार्च २००९ : विराजको त्यो एक मात्र अन्तर्राष्ट्रिय गोल

  • नमीन ढकाल
  • सोमबार, चैत्र १६ २०७७


२८ मार्च २००९ : विराजको त्यो एक मात्र अन्तर्राष्ट्रिय गोल

इलाम : नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान विराज महर्जनको हकमा संयोग नै भन्नुपर्ला। उनले जुन दिन सन्यास घोषणा गरे त्यही दिन भन्दा १ दिन पहिलो अन्तर्राष्ट्रिय गोलसमेत गरेका थिए। तर मिति भने १२ अघि ।  अन्तर्राष्ट्रिय गोलकाे १२ बर्षपछि आज विराजले राष्ट्रिय टोलीबाट करिअर अन्त्य गरे ।

ठिक १२ वर्ष पहिले २८ मार्च २००९ मा उनले किर्गिस्तानविरुद्ध एक मात्र अन्तर्राष्ट्रिय गोल गरेका थिए। जुन मिति विराजलाई समेत याद छैन। पहिलो अन्तर्राष्ट्रिय गोलको विषयमा सन्देशकर्मीको प्रश्नमा विराजले याद नभएको प्रतिक्रिया दिए। ‘खै याद भएन सन् २००९ चाहिँ याद छ। ठ्याक्कै मिति याद भएन्।’ अन्तिम खेलमा लागि मैदान जाने तयारीमा रहेका विराजलाई गोलबारे जानकारी दिएपछि खुसी हुँदै भने, ‘ओहो आज नै हो मैले पहिलो अन्तर्राष्ट्रिय गोल गरेको। मिति याद दिलायौ, धन्यवाद यार। मैले त मिति नै बिर्सिसकेको थिएँ।’

सन् २०१० को एएफसी च्यालेन्जकपको छनोट खेलका लागि नेपाल घरेलु मैदान दशरथ रंगशालमा किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दै थियो। खेल नेपालको लागि महत्वपूर्ण थियो। पहिलो खेलमा प्लेस्टाइनसँग गोलरहित बराबरी खेलेको नेपाललाई छनोट हुन जित अनिवार्य थियो। यता किर्गिस्तान पहिलो खेलमा प्रतिस्पर्धा गर्दै थियो। नेपाली टोली सागर थापाको कप्तानमा मैदान उत्रिएको थियो। जहाँ विराजले जर्सी नं ६ लगाउँदै सुरुवाती ११ मा खेल्ने अवसर पाएका थिए।

खेलको दोश्रो मिनेट चलिरहँदा नेपालले पाएको फ्रिकिकलाई करिब ४५ यार्डबाट प्रहार गर्दै जाली चुमाए। त्यसबेला त्यो उनको लागि पहिलो अन्तर्राष्ट्रिय गोल थियो। ८६ औ मिनेटमा मिर्लान मुर्जेभले पेनाल्टीमार्फत गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। दोश्रो खेलमा किर्गिस्तानले प्यालेस्टाइनसँग १–१ को बराबरी खेल्यो। नेपालको लागि दुर्भाग्य भनौं समान अंक र समान गोल भए पनि किर्गिस्तान अघिल्लो चरण प्रवेश गर्‍यो। नेपाल दोश्रो स्थानमा रहँदै महत्वपूर्ण अवसर गुमाउन पुग्यो।

विराजका लागि त्यो गोल अहिले एक मात्र गोल बन्न पुग्यो। त्यस यताका अन्तर्राष्ट्रिय खेलमा उनले गोल गरेका छैनन्। जुनियर र सिनियर गरी चन्द्रसूर्य झन्डा अंकित नेपाली राष्ट्रिय टोलीको जर्सीमा विराजले झन्डै २ दशक नै बिताए। १३ वर्ष सिनियर टोलीमा बिताएका उनले एन्फामा रहँदा उमेर समूहका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेले। उनी नेपालबाट सर्वाधिक क्याप जित्ने खेलाडीसमेत हुन्। आजभन्दा १३ वर्ष ४ दिनअघि अर्थात् २५ मार्च २००८ मा पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेलबाट विराज सिनियर टोलीमा देखिए।

खेलको ८९ औं मिनेटमा अन्जन केसीको स्थानमा मैदान प्रवेश गर्दै राष्ट्रिय टिमबाट डेब्यु गरेका विराज त्यसयता ११ वर्ष लगातार नेपाली टोलीमा रहँदै आएका थिए। र विराजले डेब्यु गरेको १० वर्षपछि सर्वाधिक क्यापको कीर्तिमान नै बनाए। २०१८ मा बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा भएको साफ च्याम्पियनसिपमा भुटानविरुद्ध खेलबाट प्रशिक्षक एवम् पूर्वकप्तान राजुकाजी शाक्यको सर्वाधिक क्याप जित्ने कीर्तिमान तोडिदिए।

खेलको ८४ औं मिनेटमा दिनेश राजवंशीको स्थानमा मैदान प्रवेश गर्दै ६९ क्याप आफ्नो नाममा लेखाए। त्यसयताको खेलबाट विराजले आफ्नो क्याप संख्या ७२ पुर्‍याए। भारतीय नाकाबन्दीले मुलुक आक्रान्त भएको बेला १२ औ सागमा भारतविरुद्ध खेलमा नेपाललाई कप्तानी गर्दै पीडामा मल्हमसमेत लगाए।

एकै वर्ष ३ वटा उपाधि नेपाली टोलीलाई दिलाए। कप्तानको आर्मव्यान्ड लगाएर विराजले नेपाली फुटबललाई दिएको महत्वपूर्ण योगदान सधैं सम्मानयोग्य नै छ। तर आजबाट सम्भवत विराजले न त नेपाली राष्ट्रिय टोलीलाई कप्तानी गर्नेछन्, न त राष्ट्रिय टोलीमा आफ्नो उपस्थिति नै देखाउनेछन्।

घरेलु दर्शकमाझ संन्यास घोषणा गर्ने विराजको चाहना पूर्ण हुने महत्वपूर्ण अवसर बंगलादेशविरुद्ध फाइनल खेल नै हो। उनी आफैंले राष्ट्रिय टोलीको जर्सीमा नदेखिने निर्णय गरे। सन्यासबारेमा पहिला नै भनेको थिए तर आजबाट औपचारिक रुपमा लिनेछु।’ थाहाखबरसँग कुरा गर्दै विराजले भने, ‘राष्ट्रिय टोलीका लागि ७२ क्यापको योगदान दिएको छु। आज खेले भने ७३ हुन्छ। सम्भव आज राष्ट्रिय जर्सीमा अन्तिम पटक मैदान उत्रन्छु।’
राष्ट्रिय टोलीमा पर्न सकेनन्
नेपाली राष्ट्रिय फुटबल टोलीले २०७६ भदौं १९ गते कुवेतविरुद्ध खेलबाट फिफा विश्वकप तथा एसियन कप छनोट प्रतियोगिताको सुरुवात गरेको थियो। त्यही खेलबाट नियमित कप्तान महर्जन राष्ट्रिय टिममा छैनन्। पूर्वमुख्य प्रशिक्षक योहान कालिनले २०७६ भदौ १२ गते कुवेत र चाइनिज ताइपेईविरुद्ध खेलका लागि छनोट गरेको टोलीमा महर्जनको नाम थिएन। इन्जुरीको समस्या भन्दै राष्ट्रिय टिममा नपरेका विराज त्यसपछि पनि स्विडस प्रशिक्षक कालिनको नजरमा परेनन्।

पटक पटक विराजको सन्यासको चर्चा चलेको थियो। उनी आफैं पनि अष्ट्रेलियाविरुद्ध खेलबाट संन्यास लिने मनस्थितिमा पुगेका थिए। तर त्यो इच्छा पूरा हुन सकेन्। थ्री नेसन्स कपको टोलीमा परेका विराजले अघिल्ला दुई खेलमा अवसर पाएनन्। किर्गिस्तान र बंगलादेशसँग गोलरहित बराबरी नतिजा निस्किएको खेलमा विराज बेन्चमै बसे। अन्तिम खेलमा विराजले ८९ औ मिनेटमा मैदान माैका पाए। र त्यहीबाट ७ मिनेट खेल्दै कप्तानको रुपमै उनले बिदाईको हात हल्लाए ।

राइट ब्याकको भूमिकामा खेल्ने महर्जनले २०१५ मा भारतको केरलामा सम्पन्न साफ च्याम्पियनसिपबाट राष्ट्रिय टोलीमा आर्म ब्यान्ड पाएका थिए। त्यसपछिका १८ खेलमा कप्तानको भुमिकामा देखिए। राष्ट्रिय टोलीको नेतृत्व सम्हालेपछि ३ वटा प्रतियोगितामा नेपाली टोलीलाई जिताउँदै २३ वर्षे उपाधि खडेरी अन्त्य गर्न कप्तानी भूमिका खेलेका थिए। राष्ट्रिय टोलीको मुख्य सदस्य रहँदै गर्दा विराजको बिर्सन नसकिने क्षणमध्ये १२ औं साग गेमको फाइनल थियो।

‘फाइनलअघि भारतले बीचमै राष्ट्रगान बन्द गरिदियो, हामीले आफैं गाएर पूरा गर्‍यौं। सायद त्यसैले हुनुपर्छ सबैले मेडलभन्दा नि आत्मसम्मानका लागि खेल्यौं।’ पूर्वकप्तान विराज ५ वर्षअघिको त्यो घटना सम्झन्छन्।
यहाँसम्म आइपुग्छु भन्ने सोचेको थिइनँ
यसरी विराजले नेपाली फुटबललाई नेतृत्व गर्दै सफल कप्तानको रुपमा आफनो नाम नेपाली फुटबलमा लेखाए। ‘मैले फुटबल खेल्न सुरु गर्दा यहाँसम्म आइपुग्छु भन्ने सोचेको थिइनँ, निरन्तर मिहिनेत गर्दै गएँ र सौभाग्य भन्नुपर्छ राष्ट्रिय टोलीको जर्सी लगाउने मौका पाएँ। यहाँसम्म आइपुग्दा मलाई परिवार, समकक्षी खेलाडी र प्रशिक्षक तथा समग्र फुटबलको साथ मिलेको छ,’

उनले भने, ‘देशको प्रतिनिधित्व गर्नु गौरवको कुरा हो, जुन मैले प्राप्त गरे।’ नेपालबाट सर्वाधिक क्याप जित्ने विराजको अन्तर्र्राष्ट्रिय गोलको संख्या १ मात्र रहेको छ। तर यस वर्ष आफ्नै भूमिमा भएको किर्गिस्तानको यु–२३ टोली विरुद्ध बेन्चमै बिताए।
परिवारको साथ
विराजको परिवार नै फुटबल माहोलबाट सज्ज्तित छ। उनका दाजु विक्रम महर्जन ‘एन्फा ब्याइज’ उपमा पाएको पहिलो ब्याचका कप्तान हुन्। काका रत्नकाजी महर्जन नेपाली यु–२३ टोलीका खेलाडी हुन्। त्यति मात्र हैन् उनको घर नजिकै एक समय नेपाली फुटबलमा आफ्नो अलग छवि बनाएका न्युरोड टिम एनआरटी र ब्वाइज युनियन छन्। त्यही माहोल विराजको फुटबल प्रवेशको आधार बन्यो।

सन् २००८ मा संकटा क्लबबाट ए डिभिजन यात्रा थालेका विराज ३ वटा फरक क्लबबाट उपाधि जित्ने खेलाडी हुन्। २०६९ सालमा थ्रीस्टारबाट लिग जित्दा उत्कृष्ट डिफेन्डर बनेका विराजले २०७५ मा मनाङ मर्स्याङ्दी र २०७६ मा मछिन्द्रलाई कप्तानी गर्दै लिग जिताए। अन्तर्राष्ट्रिय करियरलाई अन्त्य गरे पनि विराज घरेलु फुटबलमा भने देखिनेछन्। पछिल्लो समय उनी ‘सेन्टर ब्याक’ र ‘लेफ्ट ब्याक’ दुवै भूमिकामा आफूलाई अभ्यस्त गराइरहेका छन्।

आगामी दिनमा पनि विराज यसलाई निरन्तरता दिने सुरमा छन्। प्रशिक्षक बन्ने विषयमा भने अहिलेसम्म नसोचेको विराज बताउँछन्, ‘अझै केही वर्ष घरेलु फुटबलमा हुन्छ। त्यसपछि के हुन्छ, निर्णय गरिसकेको छैन। एन्फासँगको कुरा र अवसरले प्रशिक्षक बन्ने विषयलाई निर्क्यौल गर्नेछ। तर अहिले नै प्रशिक्षक बन्छु भन्ने मनस्थिति छैन।’

प्रतिक्रिया
सम्बन्धित समाचार