Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

शानदार जीतसँगै रोलिङ क्लब सेमिफाइनलमा

शानदार जीतसँगै रोलिङ क्लब सेमिफाइनलमा

  • सन्देश सम्वाददाता
  • मंगलबार, चैत्र १० २०७७


शानदार जीतसँगै रोलिङ क्लब सेमिफाइनलमा

धुलाबारी । आयोजक रोलिङ क्लब धुलाबारीमा जारी १ नम्बर प्रदेशस्तरीय चौथो रोलिङ च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको तेस्रो क्वार्टर फाइनलमा पाहुना टोली सशस्त्र प्रहरी बल (एपिएफ) पकलीलाई ५-२ गोल अन्तरले हराउँदै आयोजक रोलिङले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

धुलाबारी माविको खेल मैदानमा भएको खेलमा आयोजक रेलिङले एपिएफलाई खेल अविधभर दबाबमा राखेको थियो । एपिएफले ए डिभिजन स्तरका केही खेलाडी मैदान उतारे पनि रोलिङसामु निरीह बन्यो ।खेलको २५औँ मिनेटमा रोलिङका फर्वाड अजय राजवंशीले पहिलो गोल गर्दै आफ्नो क्लबका लागि खाता खोलेका थिए ।

पहिलो हाफमा २-० ले अगाडि रहेको आयोजक रोलिङ क्लबका लागि तीर्थ बस्नेतले ४७ औँ मिनेटमा गोल गरेका थिए ।दोस्रो हाफको छैटौँ मिनेटमा रोलिङका रक्षक पेपेले उत्कृष्ट हेडरमार्फत गोल गर्दै अग्रता ३-० मा पुर्याए । पुजन उपरकोटीको कर्नर प्रहारलाई पेपेले गोलको दिशा दिएका थिए ।

दोस्रो हाफको १५ औँ मिनेटमा आफ्नो व्यक्तिगत दोस्रो गोल गर्दै अजय राजवंशीले आयोजकलाई ४–० को स्थितिमा पुर्याए ।१९औँ मिनेटमा तीर्थले काउन्टर अट्याकिङ गर्दै ल्याएका गोल प्रहार साइड पोलमा ठोक्किएर फर्किए पनि फोफुनाले गोलमा परिणत गरेका थिए ।

दोस्रो हाफमा खेलमा फर्किने प्रयास गरे पनि एपिएफले दुई सान्त्वना गोल फर्काएको थियो । खेलको २७ औँ र ३५ औँ मिनेटमा एपिएफका समिर राईले दुई गोल गरे पनि त्यो जितका लागि पर्याप्त भएन । खेलाडीबीच तालमेल नमिल्दा र रक्षापंक्ति कमजोर हुँदा एपिएफले हार ब्यहोर्नु परेको थियो ।

खेलको म्यान अफ दि म्याच आयोजक रोलिङ क्लबका दुई गोलकर्ता अजय राजवंशी भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरे । चैत १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाखसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाउने छन् । प्रतियोगिताभर उत्कृष्ट खेलाडी, उत्कृष्ट टिम, उत्कृष्ट गोलकर्ता लगायतलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको सचिव महेश खड्काले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार