Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

धनगढीको ‘मार्की’ खेलाडी विशाल राई ‘बी’

धनगढीको ‘मार्की’ खेलाडी विशाल राई ‘बी’

  • नमीन ढकाल
  • सोमबार, चैत्र २ २०७७


धनगढीको ‘मार्की’ खेलाडी विशाल राई ‘बी’

इलाम : धनगढी एफसीले राष्ट्रिय टोलीका मिडफिल्डर विशाल राईलाई मार्की खेलाडीको रुपमा सार्वजनिक गरेको छ।नेपाल सुपर लिग (एनएसएल) को लागि धनगढीले विशाललाई मार्की खेलाडीको रुपमा सार्वजनिक गरेको हो। झापाको अर्जुनधारा नगरपालिकाका बासिन्दा २७ वर्षीय विशाल सन् २०१४ यता नेपाली राष्ट्रिय टोलीको सदस्यको रुपमा छन्। नेपाली फुटबलमा उनलाई विशाल राई ‘बी’ को नामले चिनिन्छन्।

सिनियर राष्ट्रिय टोलीबाट १९ क्याप जितेका उनले ३१ अगष्ट २०१५ मा भारतविरुद्ध डेब्यु गरेका थिए। उनले सन् २०१६ मा भएको बंगबन्धु कपमा माल्दिभ्सविरुद्ध खेलमा डेब्यु गोल गरेका थिए। फाइनलमा बहराइन यु–२३ विरुद्धको उपाधि भेटमा १ गोल गरेका थिए। उनले अहिलेसम्म राष्ट्रिय टिमका लागि ५ गोल गरेका छन्।

सन २०१७ मा एसिया कप छनोटको तेस्रो चरणमा फिलिपिन्सविरुद्ध उसकै घरेलु मैदानमा गोल गरेका थिए। त्यो ३५ वर्षपछि कुनै पनि नेपाली खेलाडीले फिलिपिन्सविरुद्ध गरेको पहिलो गोल थियो। सन १९८२ मा गणेश थापाले गोल गरे यता नेपालले फिलिपिन्सविरुद्ध गोल गर्न सकेको थिएन। यद्यपि, नेपाल ४–१ ले पराजित हुँदा विशालको गोल सान्त्वना मात्र बन्न पुग्यो।

यस्तै १२ औ सागमा भुटानविरुद्ध र मैत्रीपूर्ण खेलमा लाओसविरुद्ध पनि उनले बललाई जाली चुमाएका थिए। एन्फा एकेडेमीका उत्पादन विशालले नेपालका लागि यू १४, यू १६ र यू १९ स्तरमा पनि खेलेका छन्। २०६६–६७ को सिजनमा मछिन्द्र क्लबबाट ए डिभिजन करियर सुरु गरेका थिए। केही समय सरस्वती क्लबमा बिताउँदै मनाङ मस्याङ्दीमा आबद्ध भए।

६ वर्ष मनाङमा रहँदा २०७० र २०७५ मा क्लबलाई ए डिभिजन लिगको उपाधि दिलाउन भूमिका खेलेका थिए। २०७६ सालमा मछिन्द्र क्लबबाट ए डिभिजन लिगको उपाधिका साथै उत्कृष्ट मिडफिल्डरसमेत घोषित भएका थिए। २०७१–७२ को राष्ट्रिय लिगमा मनाङबाट खेल्दै उत्कृष्ट मिडफिल्डरको उपाधिसमेत आफ्नो पक्षमा पारेका थिए।

एनएसएलमा धनगढी टिमका लागि अरु खेलाडी र प्रशिक्षक पनि अनुबन्धको प्रक्रिया अगाडि बढिसकेको क्लबले जनाएको छ। धनगढी क्रिकेट लिग (डिसिएल) र धनगढी प्रिमियर लिग (डिपिएल) को सफल आयोजनापछि सुवास शाहीले टोली खरिद गरेका हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार