इलाम । खानेपानीको अभावमा काकाकुल झैँ बनेको इलाम बजारमा अबको चार महिनामा खानेपानी आउने भएको छ । कोभिडका कारण गरिएको लकडाउनले काममा केही ढिला भए पनि अबको चार महिनामा योजना सम्पन्न हुने भएको हो ।५७ करोड ९५ लाख रुपैयाँको लागतमा सुरु भएको इलामको खानेपानी आयोजनाले सदरमुकाममा खानेपानी वितरण गर्ने भएपछि स्थानीय ढुक्क देखिएका छन् ।
२३ किलोमिटर लामो पाइपलाइन रहेको आयोजनामा तीन किलोमिटर पाइपलाइन जडान गर्न मात्र बाँकी रहेको आयोजनाले जनाएको छ ।माइमझुवाको मेवा, गिताङ र राते खोलाबाट पानी ल्याइने आयोजनाको इन्टेक निर्माण र इन्टेक संरक्षणको काम तीव्र गतिमा भइरहेको खानेपानी आयोजनाका इन्जिनियर मेघराज धिमाल बताउछन् ।
नगरपालिकामा यसअघि आपूर्ति हुँदै आएको गिताङ खोलाबाट १६, मेवा र रातेखोलाबाट दश–दश लिटर तथा भाँडीखोलाबाट प्रतिसेकेन्ड पाँच लिटर पानी ल्याइने छ । वितरण पाइपलाइन सहित एक सय ५० किलोमिटरमध्ये एक सय २० किलोमिटरको काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।आयोजना सम्पन्न भइसक्दा प्रतिसेकेन्ड ४१ लिटरका दरले पानी आउने जनाइएको छ ।
यस आयाेजनामा कम्प्युटरबाटै पानीका भल्भहरू कन्ट्रोल गर्न सकिने र नयाँ प्रविधि मार्फत पानी ल्याउन लागिएको इन्जिनियर धिमाल बताउछन् ।आयोजना सम्पन्न भएपछि चार हजार एक सय घरपरिवारलाई नेपाल सरकारको मापदण्ड अनुसारको पिउने पानी उपलब्ध गराइनेछ ।
एसियाली विकास बैंक ९एडिबी०को मुख्य लगानी रहेको आयोजनाको रमण कन्स्ट्रक्सन एन्ड जिआइटिसी जेभीले काम गरिरहेको छ । आयोजनाको कुल लागतको ७० प्रतिशत रकम एडिबीले ब्यहोेर्ने छ ।सुरुको लागत अनुमान करिब ८३ करोड रुपैयाँको ५ प्रतिशतले हुन आउने ४ करोडभन्दा बढी कम उपभोक्ताले जम्मा गरेका थिए ।
२५ प्रतिशत रकम इलाम नगरपालिकाले नगर विकास कोषबाट ऋण लिएको छ । नगरपालिकाले कोषबाट १४ करोड ४८ लाख रुपैयाँ ऋण लिएको हो ।प र्यटकीय नगरी इलाममा बाहिरबाट आउने पर्यटकहरूको बढ्दो चाप र बढ्दो जनसंख्याको कारण सुख्खा याममा खानेपानीको हाहाकार नै हुने गरेको थियो । आयोजना सम्पन्न हुने भएपछि इलामबजारले झेल्दै आएको पानीको हाहाकार सधैँका लागि अन्त्य हुने विश्वास गरिएको समाचार इमेज खबरका लागि प्रकाश नेपालले लेखेका छन् ।